काठमाडौं । नेकपा एमालेमा रहेको सक्रिय राजनीतिक जीवन ७० वर्षे उमेरहद हटाएर अध्यक्ष केपी शर्मा ओलीलाई पुनः अध्यक्ष बनाउनेगरी तयारी सुरु भएको छ ।
एमालेले १० वर्षअघि राखेको ७० वर्षे उमेर हद हटाउने तयारी गरेको हो । २०७१ सालमा काठमाडौंमा सम्पन्न भएको नवौँ महाधिवेशनले नेताहरूको उमेर हद ७० वर्ष कायम गरेको थियो । सोही व्यवस्थाअनुसार २०७८ मंसिरमा भएको १० औँ महाधिवेशनमा पनि नेताहरू चुनाव लडेका थिए ।
तर अहिले एमालेले सचिवालय बैठकमार्फत् उक्त उमेरहद हटाउने प्रस्ताव पारित गरेको छ । गत जेठ १९ गते बसेको सचिवालय बैठकले उमेर हद हटाउने प्रस्ताव पारित गरेको हो ।
सचिवालय बैठकले पारित गरेको प्रस्ताव विधान महाधिवेशनमार्फत् पारित गरेर लैजाने एमालेको तयारी छ । तर ती विषय अहिले आन्तरिक छलफलको विषय मात्र भएको एमालेका एक पदाधिकारीले बताए ।
'सामान्य छलफल भएको छ । निर्णय नै भइसकेको छैन । निर्णय भएको भए बाहिर आइहाल्थ्यो नि', उनले भने ।
विधान संशोधनमार्फत् ७० वर्षे उमेरहद हटेमा पुनः हालका अध्यक्ष ओली तेस्रो कार्यकालका लागि अध्यक्ष बन्न पाउनेछन् ।
२०७८ मंसिर ११ देखि १८ सम्म चितवनमा भएको १० औैँ राष्ट्रिय महाधिवेशनमा ओली ७० वर्ष लागेकाले चुनाव लड्न पाएका थिए ।
अहिले ओली ७२ वर्षका भएका छन् । ७० वर्षे उमेरहद कायमै रहेमा आगामी ११ औं महाधिवेशनमा उनी चुनाव लड्न पाउने छैनन् ।
त्यसैले आगामी नेतृत्वका लागि बाधक रहेको उमेरहद हटाएर भए पनि ओली पुनः अध्यक्ष बन्ने दाउमा छन् ।