काठमाडौं । श्री त्रिभुवन माध्यमिक विद्यालय, दैलेख जिल्लाको सबैभन्दा पूरानो शैक्षिक संस्था हो । यो संस्था २००८ सालमा स्थापना भएको हो भने २०१९ सालमा आएर माविमा परिणत भएको हो ।
दैलेखको नयाँ बजारमा रहेको श्री त्रिभुवन माध्यमिक विद्यालयमा अहिले धमाधम कक्षा १ देखि १२ सम्म बिभिन्न संकायअन्तर्गतका विभिन्न विषयमा पठनपाठन भइरहेको छ । विशेष गरी यस विद्यालयमा कक्षा १ देखि १० कक्षासम्म अग्रेजी भाषामा पठनपाठन भैरहेको छ ।
निरक बहादुर तारामी यसै विद्यालय प्रधानाध्यापक हुन् । करीब ९ वर्षदेखि प्रधानाध्यापकको भूमिका निर्वाह गरिरहेका तारामी गुणस्तरीय शिक्षा उत्पादनमा लागिरहेका छन् । सैद्धान्तिक ज्ञानका साथ–साथै व्यावहारिक ज्ञान दिँदै पनि आएको तारामी बताउँछन् । विगत ९ वर्षदेखि विद्यालय प्रमुखको कार्यभार सम्हालिरहेका प्रधानाध्यापक तारामीसँग सामुदायिक विद्यालय सञ्चालन गर्न के–कस्ता चुनौतीहरु सामना गर्नुपर्छ ? सरकारले सामुदायिक विद्यालयका लागि गरेको सहयोग लगाएत बिभिन्न बिषयमा व्यवस्था डटकमका लागि भावना हमालले गरेको कुराकानीको सम्पादित अंश :
सामुदायिक विद्यालय सञ्चालन गर्न के–कस्ता चुनौतीहरूको सामना गर्नुपर्ने रहेछ ? यहाँको अनुभवले के बताउँछ ?
सामुदायिक विद्यालय सञ्चालन गर्नका लागि चुनौती धेरै छन् । भौतिकतर्फ आवश्यक पर्ने सामाग्रीको अभाव रहेको छ । विद्यालयमा खानेपानीको समस्या उस्तै छ । विद्यालय व्यवस्थापन गर्नको लागि कर्मचारीको अभाव रहेको छ ।
सरकारले भने जस्तो विद्यालयलाई निशुल्क बनाउने तर शुल्क लिन नमिल्ने खालको भनाईले पनि थप चुनौती थपेको छ । सरकारले निशुल्क शिक्षाको निति लिएको छ तर त्यहि अनुसार शिक्षकको दरवन्दी नहुदाँ बिभिन्न किसिमका चुनौतीको सामना गर्नुपरेको छ ।
बर्षमा सरकारले विद्यालयको बिभिन्न कामको लागि ३० हजार मात्र बजेट छुट्टाउने गर्छ तर यसले विद्यालय ब्यवस्थापन गर्न अपुग हुने गर्छ ।
यस्तै सामुदायिक विद्यालयप्रति अभिभावकहरूमा चेतनाको कमी देखिन्छ । सामुदायिक विद्यालय पढ्ने विद्यार्थी विद्यालय गएकै छन्, पढेकै छन् भन्ने मानसिकता अभिभावकहरूमा रहेको छ । आर्थिक समाजिक राजनिति चुनौती धेरै नै रहेको छ । बिषेश गरी सामाजिक कारणले गर्दा विद्यालय व्यवस्थापनमा असहज महसुस हुने गरेको छ ।
शिक्षकहरुमा जागिरेको मानिसिकता भएकाले समस्या छ । सरकारी जागीर हो पहिला आफ्नो काम अनि पछि पढाउने काम गरौंला भन्ने भावनाले गर्दा पनि निजि विद्यालय भन्दा सामुदायिक विद्यालयमा अरुले हेर्ने नजर फरक देखिन्छ । सामुदायिक विद्यालयमा नीतिगत चुनौतीका कुराहरू थुप्रै छन् ।
सरकारको नितिगत कुराहरु एकातिर छन् तर यसको कार्यान्वयन भने निकै कम देखिन्छ । त्यसैले सामुदायिक विद्यालय सबैको भएर पनि कसैको हुन सकेको छैन् ।
स्थानिय सरकारले विद्यालयका लागि कत्तिको सहयोग गरेको छ ?
देशमा तीन तहका सरकार छन् उनीहरूको आ–आफ्नै किसिमको प्रणाली छ । कतिपय अवस्थामा कानूनले पनि बाँधिएको हुन्छ । शैक्षिक व्यवस्थापनका कुराहरू भौतिक रूपमा या जनशक्तिको दृष्टिकोणको हिसाबले सामुदायिक विद्यालयमा जटिलता नै छ ।
स्थानिय सरकारले सामुदायिक विद्यालय व्यवस्थापनको लागि खासै सहयोग गरेको छैन् ।
शिक्षा क्षेत्रमा सरकारको भुमिका प्रभावकारी ढंङले अघि बढेको देखिन्न् । लगानी गरीहाले पनि आफ्नालाई काखा पराइलाई पाखा लगाउने गरेको छ । शिक्षक नियूक्ती गर्नेबेला राजनितिकरण हुने गरेको छ ।
तपाईं आएपछि विद्यालयमा के कस्ता परिवर्तन आएका छन् ?
पढाईको सन्दर्भमा या समय व्यवस्थापनको हिसाबमा होस् विद्यालय तनावको क्षेत्र बन्नु हुँदैन । म श्री त्रिभुवन माविमा आबद्ध भएको ९ वर्ष भयो । विद्यालय विद्यार्थीका लागी आकर्षण स्थल बन्नुपर्छ भन्ने मलाई लाग्छ ।
विद्यालयमा सरसफाइ, खानेपानी, शौचालय र वातावरण राम्रो बनाउनको निम्ति लागि परेको छु । नमूना विद्यालय बनाउनको लागि यस विद्यालयमा अग्रेजी माध्यमबाट पठनपाठन गराउने काम सुरु गरीएको छ । म यस संस्थामा आबद्ध भैसकेपछि यस विद्यालयलाई जिल्लाकै नमूना विद्यालय घोषणा गर्न सफल भए ।
विज्ञान बिषयलाई व्यवस्थित रुपमा संञ्चालन गरीरहेका छौं । प्राबिधिक शिक्षालाई पनि राम्रो बनाउनको लागि उत्तिकै महत्त्व दिइएको छ ।
यसैगरी अब छिट्टै निजि स्रोतबाट भए पनि दरबन्दि अनुसारका शिक्षकहरु राख्ने काम अगाडि बढेको छ । यस्तै शिक्षकहरूलाई पनि अनिवार्य विद्यालय आउने वातावरण बनाएका छौं । विद्यालयलाई राम्रो बनाउनको लागि विभिन्न शैक्षिक, भौतिक तथा मनोवैज्ञानिक कुराहरूमा काम गरिरहेका छौं ।
नेपालको शिक्षा प्रणाली तपाईंलाई कस्तो लाग्छ, सुधार गर्नु पर्ने केही देख्नुहुन्छ ?
नेपालको शिक्षा प्रणाली अहिले निजि र सरकारी भनेर बाढेका कारण अलि समस्या देखिएको छ । निजि र सरकारी विद्यालयको काम गर्ने शैली नै फरक भएका कारण समस्या भएको हो ।
निजि विद्यालयको काम छिटो छरीतो हुने गर्छ भने सरकारी विद्यालयको काममा ढिलासुस्ति हुने गर्छ । यसमा पनि सरकारी काम कहिले जाला घाम भन्ने भनाई झै काम हुने गर्छ ।
सरकारी विद्यालयमा प्रधानाध्यापकले नै सबै जिम्मेवारी लिनुभाछ उहाँले नै सबै काम गर्नुपर्छ भन्ने भावना शिक्षकहरुमा छ । त्यसकारण सरकारले दुबै विद्यालयमा एउटै शिक्षा प्रणाली लागु गराइदिएको भए राम्रो हुन्थ्यो ।
दुबै विद्यालयमा छुट्टा छुट्टै पाठ्यपुस्तक पढाइ हुने भएकाले पनि नेपालको शिक्षा प्रणालीमा केहि सुधार गर्नुपर्ने आवश्यक छ ।
नेपालको शिक्षा प्रणालीमा अन्तर्राष्ट्रिय हिसाबले प्रतिस्पर्धात्मक छैन । प्रतिस्पर्धात्मक हुन धेरै कुराहरू परिवर्तन गर्नुपर्ने देखिन्छ । विद्यार्थीहरूको रचनात्मकता बढाउने, कमन सेन्सको विकास गर्ने, अनुसन्धानात्मक कार्यमा सक्रियता बढाउने र समीक्षात्मक सोचको विकास हुने वातावरण बनाउनु पर्छ ।
हिजो गुरुकुल शिक्षा प्रणाली थियो । गुरुमात्र ज्ञानको स्रोत भएकाले विद्यार्थी गुरु भएको स्थानमा पुग्नुपर्थ्यो । संञ्चार माध्यमहरुको विकास भएसँगै शिक्षा प्रणालीमा केहि परिवर्तन आएको छ ।
नेपालका धेरै विद्यालयमा अंग्रेजी राम्रोसँग बोल्न नजान्ने विद्यार्थीहरूको संख्या बढ्दो छ, यसलाई कसरी सुधार्न सकिन्छ ?
नेपालीमा बोल्न सजिलो मान्ने धेरै बच्चाहरू छन् । हामीले प्राथामिक तहदेखि माध्यमिक तहको विद्यालयबाटै अंग्रेजी भाषाको प्रयास गर्नुपर्छ । हाम्रो आफ्नो मातृभाषा, आफ्नो मौलिकता सबै समेटिने गरी काम गर्नुपर्छ र अहिलेको समयमा अंग्रेजी भाषा पनि जान्नै पर्छ ।
अन्तर्राष्ट्रिय हिसाबले निकै प्रतिस्पर्धात्मक हुन जरुरी भएकाले पनि अंग्रेजी आवश्यक छ । यद्यपि नेपाली भाषा जति आवश्यक छ त्योभन्दा धेरै अंग्रेजी पनि जान्न आवश्यक छ । यसको लागि विद्यालयले ध्यान दिनुपर्छ ।
साथै यसमा राज्यले ध्यान दिनुपर्छ । अंग्रेजी भाषा जान्दै नजान्ने, लेख्नै नसक्ने स्थिति बनाउन छोड्नु पर्छ । त्यसलाई सुधार्नको निम्ति सरोकारवाला निकाय तथा स्थानीय तहले र विद्यार्थी आफुले पनि ध्यान दिनुपर्छ ।
बर्सेनि लाखौंको संख्यामा एसईई पास हुन्छन् । ती विद्यार्थीहरूले आफूले पढ्न चाएको विषयलाई कसरी छान्ने ? यसमा यहाँको भनाइ के छ ?
एसइईपछि पढ्ने विषय छान्नका लागि सबैभन्दा पहिला विद्यार्थीहरूले आफैंले सोच्ने हो । आफ्नो रुचिको विषय बुझ्ने र परिवारलाई बुझाउने हो । विद्यार्थीले आफैंले आफैंलाई नसोध्ने प्रचलन पनि छ । उनीहरूले अरूलाई सोध्ने गर्छन् ।
त्यस्तो बेलामा विद्यार्थीलाई चाहिने दृष्टिकोणको हावी हुन सक्छ । अझ अभिभावकले त मेरो सन्तानले यस्तो पढिदिए हुन्थ्यो भन्ने दबाब सिर्जना गर्नु हुन्छ । शिक्षकहरूले पनि स्कोपको आधारमा यो पढेर काम छैन, यो पढ्दा राम्रो हुन्छ भनिदिनुहुन्छ ।
यस्तो बेला विद्यार्थी निकै दुविधामा पर्न पुग्छन् । त्यसो हुँदा पहिला विद्यार्थीले आफैंलाई सोध्नुपर्छ । म कुन विषयमा कत्तिको जान्दछु, मेरो रुचि केमा छ भनेर विचार गर्नुपर्छ । हामी विद्यार्थीलाई यो कुरामा प्रष्ट हुन मदत गर्छौं ।
शिक्षा क्षेत्रसँग सम्बन्धित यहाँको भनाइ ?
सामुदायिक शिक्षालाई विकास गर्नका निम्ति एकल प्रयासले मात्र सम्भव हुँदैन । एक अर्कालाई दोषारोपण गरेर मात्र यसको समाधान हुँदैन । आआफ्नो ठाउँमा सबै सचेत र जिम्मेवार हुने हो भने समाधान अवश्य निस्कन्छ । सामुदायिक विद्यालयको सबलीकरण हुन्छ ।
मानिसहरू गुणस्तर भने उच्चस्तरको खोज्ने तर जनशक्तिको, भौतिक साधन स्रोतको अवस्था कस्तो छ, अभिभावक तथा जनसमुदायको दायित्व र कर्तव्य कसरी निभाउने भन्ने सोच्दैनन् ।
यस्तै कुनै विषयमा ज्ञान लिनु वा दिनुलाई पनि शिक्षा भनिन्छ । शिक्षा ग्रहण गर्नको लागि कुनै उमेर, जात, लिङ्ग, धर्म संस्कारले छेक्न सक्दैन ।
मानिसले कोक्रोदेखि चिहानसम्म शिक्षा हासिल गरिरहेको हुन्छ । पूर्णरुपले कसैले कहिले पनि शिक्षा ग्रहण गरेको हुदैन । शिक्षाकै कारण नै यो संसार छ ।
सायद शिक्षा नभएको भए यो संसार अन्धकार भित्र गुन्जिरहन्थ्यो होला । शिक्षाले नै मानिसलाई सत्मार्गमा लाग्न प्रेरित गर्छ । शिक्षा सिकाइ जीवनभर चलिरहन्छ ।
प्रधानाध्यापक सम्मको यात्रा के कसरी तय गर्नुभयो ?
२०५१ भाद्रदेखि माध्यमिक शिक्षाको रूपमा अस्थायी नियुक्ति पाई २०६० सालमा स्थायी शिक्षक भए । विद्यालयमा शिक्षकहको रुपमा कार्यरत गर्दा शिक्षणका साथै विद्यालय व्यवस्थापन कार्यमा तत्कालीन प्रधानध्यापकलाई निस्वार्थ रूपमा सहयोग गरेको थिए ।
विद्यालयमा शैक्षिक गुणस्तर वृद्धि गर्न निरन्तर प्रयास गरेकाले २०७१ सालमा विद्यालय व्यवस्थापन समिति र सरोकार पक्षले मलाई प्र, अ मा नियुक्त गर्नुभयो । प्र, अ भए देखि विद्यालयको विकासमा निरन्तर खटी रहे ।
श्री त्रिभुवन माध्यमिक विद्यालयलाई २०७६ सालमा नमूना विकासका लागि छनौट गराउन सफल पनि भए । नमूना विद्यालय विकास कार्य विधि अनुसार मा २०७९ सालमा पुन प्रधानाध्यापकमा नियुक्त भई कार्यरत छु ।