काठमाडौं । सिन्धुपाल्चोक जिल्ला नेपालको बागमती प्रदेश अन्तर्गत पर्दछ । सिन्धुपाल्चोकमा ९ गाउँपालिका र तीन नगरपालिका रहेका छन् । यो जिल्ला विकासको हिसाबले पछाडि परेको पहाडी जिल्ला हो । नेपालको कूल भू-भागको १.७३ प्रतिशत भूभाग ओगटेको यो जिल्ला बागमती प्रदेशमा रहेका १३ वटा जिल्लाहरू मध्ये क्षेत्रफलको हिसाबले सबैभन्दा ठूलो जिल्ला हो ।
यस जिल्लाको सिमाना उत्तरमा चीनसँग, पश्चिममा रसुवा र नुवाकोटसँग, दक्षिणमा काठमाडौँ र काभ्रेपलाञ्चोकसँग अनि पूर्वमा दोलखा र रामेछापसँग जोडिएको छ । नेपालको राजधानी काठमाडौंबाट उत्तर-पूर्वमा पर्ने बागमती प्रदेश अन्तर्गत रहेको सिन्धुपाल्चोक जिल्लाका १२ वटा स्थानीय तहहरुमध्ये मेलम्ची नगरपालिका एक हो । भौगोलिक विविधताको कारण नगरपालिकाको विभिन्न क्षेत्रमा पाइने हावापानी फरक फरक प्रकारको रहेको छ । उचाईको वृद्धि सँगसँगै चिसोको मात्रामा वृद्धि हुँदै जाने हुँदा यहाँ तातो हावा बहने मेलम्ची नदी किनारको क्षेत्र देखि बाह्रै महिना चिसो हुने भोटेचौर, हैबुङ्ग, गुफा चांखु जस्ता स्थानहरु रहेका छन् ।
महाभारत क्षेत्र अन्तर्गत पर्ने मेलम्ची नगरपालिका जैविक विविधताले महत्वपूर्ण मानिन्छ । मेलम्ची नगरपालिका क्षेत्रभित्र महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थलहरु रहेका छन् । यस क्षेत्रमा त्रिवेणीघाट, फट्केश्वर महादेव, ईन्द्रेश्वर महादेव, गोल्मेश्वरी, सातकन्या देवी, कोटदेवी, सितलादेवी, धौलेश्वरी, कुण्डेश्वर, सिद्धेश्वर, कृष्ण मन्दिर लगायका अन्य मठ मन्दिर र गुम्बाहरु रहेका छन् । यस नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा महत्वपूर्ण कार्यहरु गर्दै आएको छ । नगरपालिकाले गरिरहेको गतिविधिका बारेमा आज हामीले यस नगरपालिकाको उप-प्रमुख उमा प्रधानसँग संक्षिप्त कुराकानी गरेका छौँ ।
स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएकी उपप्रमुख प्रधानले २०४८ सालदेखि अनेरास्ववियू विद्यालयको प्रारम्भिक कमिटीमा रहेर काम सुरु गरेकी थिइन् । उनी अनेरास्ववियू रामेछाप जिल्ला कमिटी कोषाध्यक्ष हुँदै सहकारी क्षेत्रमा समेत आवद्ध भइन् । सहकारी क्षेत्रमा आवद्ध भएपनि उनले राजनीतिलाई भने निरन्तरता दिइन् ।
राजनीतिक यात्रामा लागिरहँदा धेरै उतार-चढाव आएपनि ती चुनौतीलाई पार गर्दै उनले अहिले मेलम्ची नगरपालिकाको उप-प्रमुखको जिम्मेवारी सम्हालिरहेकी छिन् । काम गर्ने शिल-शिलामा जति पनि चुनौती आएपनि त्यसलाई सहज रुपमा स्विकार गर्दै आफ्नो कामलाई निरन्तरता दिदैँ आएकी छिन् । उनले सम्हालेको मेलम्ची नगरपालिकाले स्वास्थ्य, शिक्षा, कृषि लगायतका क्षेत्रलाई प्राथमिकता दिएर काम गरिरहेको छ । उनी भन्छिन्, विशेष गरेर नगरपालिकाले नगरबासीलाई करको दायरामा ल्याउन सफल भएको छ । साथै समावेशी सहभागिताका आधारमा महिला, अपाङ्ग बालबालिकाहरुको सहभागितामा पनि विशेष जोड दिएको छ । यस नगरपालिकाको विकासको आयोजनामा महिलाको नेतृत्वमा उपभोक्ता समिति गठनको सुरुवात गरिएको छ । विद्यालय व्यवस्थापन समितिमा महिला अध्यक्ष समेत राख्नका लागि नगरपालिकाले विशेष पहलकदामी लिन सफल भयो । नगरपालिकाले उच्च शिक्षामा महिलाहरुको पहुँचलाई ध्यानमा राखी बजेटको व्यवस्थापन समेत गरेको छ । जिल्लामा अपाङ्ग र बालमैत्री भवन समेत निर्माण गरिएको छ भने बालमैत्री वडा घोषणा गरिएको छ । विशेष गरी शिक्षामा गुणस्तरीय सुधारको लागि विशेष योजना बनाएर नै अगाडी बढाइएको छ । नगरपालिकाले न्यायिक कार्यलाई पनि प्राथमिकता दिएर छिटो-छरितो एंवम भरपर्दो सेवा प्रदान गर्नका लागि क्षमता अभिवृद्धि कार्यक्रमपनि सञ्चालन गर्दै आएको छ ।
उनी भन्छिन्, नगरपालिकाको उप-प्रमुखको काम, कर्तव्य र अधिकार र स्थानीय सरकार संचालन ऐनले तोकेको हुन्छ । सोही दायरामा रहेर काम गर्नुपर्ने बाध्यता रहेको बताउँदै उप-प्रमुख प्रधानले जनताले स्थानीय तहसँग धेरै अपेक्षा गरेको बताइन् । जनताको अपेक्षा पूरा गर्न नसक्दा उनलाई दुःख लाग्ने गरेको छ ।
उनी भन्छिन्, काम, कर्तव्य र अधिकारको दायराभित्र बसेर हस्तक्षेपकारी भूमिकामा रहनु पर्ने बाध्यता छ । काम गर्ने शिल–शिलामा लैङ्गिक विभेद, राजनैतिक हस्तक्षेप जस्ता चुनौतीहरुको पनि सामना गर्नुपर्ने बाध्यता सिर्जना हुने गरेको छ । यस नगरपालिकाले वडा मेलमिलाप समिति गठन र पुर्नगठन समेत गरेको छ । साथै सामुदायिक मेलमिलाप नगर सञ्जाल गठन गरेको छ भने मेलमिलापकर्तालाई विवाद निरुपण गरे बापत चिया खाजा खर्चको व्यवस्था पनि गरेको छ ।
सामुदायिक विद्यालय सुधारका लागि यस नगरपालिकाले दरबन्दी नभएको सामुदायिक विद्यालयमा न्युनतम दरबन्दी कायम गरी शिक्षक व्यवस्थापन गरेको छ । साथै बलमैत्री कक्षाको व्यवस्थापन गर्न सफल भएको छ । दरबन्दी मिलानको क्रममा विषयगत शिक्षकको व्यवस्थापन समेत गरेको छ । कक्षा ५ को परीक्षा वडा स्तरिय र कक्षा ८ को परीक्षा नगर स्तरमा संचालन हुँदै आएको छ । नगरपालिकाको पहलमै विज्ञान प्रयोगशाला र पुस्ताकलयको व्यवस्थापन भएको छ । कक्षा १० सम्म दिवा खाजा व्यवस्थापन र छात्रवृत्तिको लागि नगरपालिकाले व्यवस्थापन गर्दै आएको छ ।
नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई पनि प्राथमिकता दिएर काम गर्दै आएको छ । महिला प्रजनन स्वास्थ्य, अभिमुखीकरण कार्यक्रम, गाउँघर क्लिनिकको व्यवस्थापन, प्रत्येक वडामा बर्थिङ्ग सेन्टर, सुत्केरी महिलाहरुको लागि एम्बुलेन्स फ्रिको व्यवस्थापन गरेको छ । कृषि व्यवसायलाई प्राथमिकता दिदैँ नगरपालिकाले आधुनिक कृषि प्रणालीको औजार वितरण गर्नुको साथै ७५ प्रतिशत अनुदानमा प्याजको बिउँ वितरण गर्दै आएको छ । यसैगरी ५० प्रतिशत अनुदानमा जैविक तथा रासायनिक विषादी, मौरीघार, च्याउको विउँ वितरण, ५० सेट थोपा सिंचाई सेट वितरण, कृषियोग्य भूमि पहिचानको लागि माटो परीक्षण, पशु विमामा ५० प्रतिशत अनुदान र साना कृषि लक्षित गोठेमल सुधारसहितको गोठ सुधार कार्यक्रम पनि नगरपालिकाले सञ्चालन गर्दै आएको छ ।
नेपालको संविधानले धारा २१७ मा न्यायिक समितिको संवैधानिक व्यवस्था गरेको छ । देश सङ्घीय शासन व्यवस्थामा प्रवेश गरेसँगै सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहका सरकार गठन भएका छन् । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका सरकारका प्रमुख आवश्यकी अङ्ग हुन् । स्थानीय सरकारको न्यायपालिकाको रूपमा न्यायिक समिति रहेको छ । न्यायिक समितिले स्थानीय तहमा आफ्नो अधिकार क्षेत्रभित्रका विवाद निरूपण तथा मिलापत्र गर्ने प्रयोजनका लागि नगर उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय न्यायिक समिति गठन हुने संवैधानिक व्यवस्था रहेको छ ।
स्थानीय सरकार सञ्चालन ऐन-२०७४ को परिच्छेद ८ दफा ४६ देखि ५३ सम्म न्यायिक समितिको गठन, क्षेत्राधिकार र कार्य सञ्चालन सम्बन्धी व्यवस्था छ । सोही व्यवस्था अनुसार मेलम्ची नगरपालिकामा न्यायिक समिति गठन भएको छ । नेपालको संविधानले स्थानीय तहका विवाद न्यायिक समितिमा समाधान गरेर आपसी सद्भाव कायम गर्दै कानुनी राज्यको प्रत्याभूति गराउने उद्देश्यले न्यायिक समितिको संवैधानिक व्यवस्था गरिएको हो ।
संविधानको धारा अनुसार नेपालको संविधानको अनुसूची ८ मा स्थानीय तहको अधिकारको सूचीमा दिएको २२ वटा अधिकारसँग सम्बन्धित विवादहरुको निरुपण गर्ने अधिकार न्यायिक समितिमा रहेको देखिन्छ । तर पनि न्यायिक समितिलाई विभिन्न कानूनले दिएको अधिकार क्षेत्रको विश्लेषण गर्दा ती अधिकार दिएको पाइदैन । यसरी बाँझिएता पनि स्थानीय तहमै न्याय प्रदान गर्ने प्रणालीलाई संविधान मार्फत नै सुनिश्चितता गरी समुदायस्तरमै न्यायको सेवा पुर्याउने उद्धेश्यले संविधानले परिकल्पना गरे अनुरुप हामीहरुको भूमिका रहेको छ । यसलाई छिटो छरितो र सरल ढंगबाट सम्पादन गर्ने हाम्रो भूमिका रहेको छ । सोही अनुरुप हामीले यसलाई प्राथमिकता दिएर काम गरिरहेका छौं ।
नगरपालिकाको विकास निर्माणका लागि काम गर्ने शिल–शिलामा मेलम्ची नगरपालिकाको कर्मचारी र जनप्रतिनिधिसँगको समन्वय पनि राम्रो देखिएको छ । कुनै मदभेद सिर्जना नभई हालसम्म कार्य हुँदै आएको उप–प्रमुख प्रधानले बताईन् । उनी भन्छिन्, कर्मचारी र जनप्रतिनिधिसँगको समन्वय राम्रो छ । त्यही भएर पनि काम गर्न सहज छ । उनले भनिन्, पारदर्शी र जवाफदेही रहनु हाम्रो जिम्मेवारी हो । छिटो छरितो काम सम्पन्न गर्ने, सेवाग्राहीको हितमा रहेर कार्य गर्ने हाम्रो कर्तव्य हो ।