काठमाडौं । अर्बपति एलोन मस्कले भारत भ्रमण स्थगित गरेका छन् ।
भ्रमणका क्रममा टेस्लाका मालिक मस्कले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने र ठूला लगानी योजनाहरूमा छलफल गर्ने कार्यक्रम थियो ।
मस्कको विद्युतीय कार कम्पनी टेस्लाले एक्सिलेरेसन पेडलमा खराबीका कारण करीब ४ हजार साइबरट्रक सवारीलाई फिर्ता बोलाउने घोषणा गरेको १ दिनपछि उनको भारत भ्रमण स्थगित भएको समाचार आएको हो ।
‘दुर्भाग्यवश धेरै भारी टेस्ला दायित्वका कारण भारत भ्रमणमा ढिलाइ भएको छ तर म यस वर्षको अन्त्यमा भ्रमणका लागि अत्यन्त उत्सुक छु,’ आफ्नो सामाजिक मिडिया प्लेटफर्म एक्समा एक पोस्टमा उनले भने ।
सञ्चारमाध्यमहरूले आईतबारदेखि हुने २ दिवसीय भ्रमणका क्रममा मस्कले मोदी र एयरोस्पेस कम्पनीहरूसँग भेट गर्ने बताएका थिए ।
गत महिना सरकारले विश्वव्यापी सवारी निर्माताहरूका लागि विद्युतीय सवारीमा आयातमा कर कटौती गरेपछि टेस्लाले भारतमा कारखाना स्थापना गर्ने स्थानहरूको खोजी गरिरहेको थियो । कम्पनीले ५० करोड डलर लगानी गर्ने र ३ वर्षभित्र स्थानीय उत्पादन सुरु गर्ने प्रतिबद्धता जनाएको थियो ।
सरकारको नीतिले प्रत्येक वर्ष ३५ हजार डलर वा त्योभन्दा धेरै मूल्य भएका ८ हजार विद्युतीय सवारीको आयातमा शुल्क घटाएको छ ।
टेस्लाले उत्पादन लाइन स्थापना गर्नेबारे अन्तिम निर्णय नलिएसम्म उसले पहिलो पटक आफ्नो बर्लिन कारखानाबाट कारहरूको आयात गर्न सक्ने भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् । टेस्लाका कारहरूको मूल्य धेरै भएकाले भारतीय बजारमा कम्पनीलाई तत्काल बढत मिल्ने सम्भावना कम रहेको विशेषज्ञहरूले बताएका छन् ।
टेस्लाको अहिलेसम्मको सबैभन्दा सस्तो मोडेल भनेको मोडेल ३ सेडान हो । यसको मूल्य अमेरिकामा करिब ३९ हजार डलर छ । भारतमा मस्कको वर्तमान व्यावसायिक रुचि यसअघि ट्वीटर नामले चिनिने एक्ससम्म सीमित छ ।