दमौली । तनहुँमा आयुर्वेद सेवातर्फ सर्वसाधारणको आकर्षण बढ्दै गएको छ ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले चालू आर्थिक वर्ष २०८०/८१ को साउनदेखि फागुनसम्म १७ हजार ५७२ जनालाई सेवा दिएको छ ।
कार्यालयले गत आर्थिक वर्ष २०७९/८० मा १९ हजार २१७ जनालाई सेवा प्रदान गरेको थियो । चालू आर्थिक वर्षको असारसम्म गत आर्थिक वर्षकोभन्दा धेरैलाई सेवा दिने लक्ष्य रहेको कार्यालयका वरिष्ठ कविराज निरीक्षक शम्भु चापागाईंले जानकारी दिए । आर्थिक वर्ष २०७८/७९ मा केन्द्रबाट १३ हजार ४९९ जनाले सेवा लिएका थिए ।
प्रत्येक वर्ष आयुर्वेद सेवातर्फ सर्वसाधारणको आकर्षण बढेको तथ्यांकले पुष्टि गरेको चापागाईंको भनाइ छ ।
उनका अनुसार चालू आर्थिक वर्षमा १० हजार ३८३ पुरुष र ७ हजार १८९ महिलाले सेवा लिएका छन् । यस अवधिमा बहिरङ्ग सेवा लिने पुरुषको संख्या ३ हजार ३१७ र महिलाको संख्या २ हजार ८७३ छ । ज्येष्ठ नागरिक सेवातर्फ ५२५ पुरुष र ३५८ महिलाले सेवा लिएका छन् ।
योग सेवातर्फ ४ हजार ६४९ पुरुष र २ हजार २५८ महिला, पूर्वकर्म पञ्चकर्मतर्फ १ हजार ६५१ पुरुष र १ हजार ४०६ महिला, स्तनपायी आमा तथा शिशुतर्फ १३८ महिला, क्षारसुत्रतर्फ १ पुरुष र ४ महिला, प्रयोगशालातर्फ २४० पुरुष र १५२ महिलाले सेवा लिएको कार्यालयको तथ्यांक छ ।
चापागाईंका अनुसार साउन महिनामा २ हजार ६८१, भदौ महिनामा २ हजार ३८०, असोज महिनामा १ हजार ९४०, कात्तिक महिनामा १ हजार ५५४, मंसिर महिनामा २ हजार ६७६, पुस महिनामा २ हजार १२९, माघ महिनामा २ हजार १९८ र फागुन महिनामा २ हजार १४ जनाले सेवा लिएका छन् ।
जिल्लाका ४ ठाउँमा नागरिक आरोग्य केन्द्र छन् । बन्दीपुर गाउँपालिका–१ मा डुम्रे नागरिक आरोग्य सेवा केन्द्र, घिरिङ गाउँपालिका–५ मा घिरिङ नागरिक आरोग्य सेवा केन्द्र, देवघाट गाउँपालिका–५ मा देवघाट नागरिक आरोग्य सेवा केन्द्र र आँबुखैरेनी गाउँपालिका–१ मा आँबुखैरेनी नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा छ ।
जिल्लाका ३ पालिकामा अझै पनि आयुर्वेद स्वास्थ्य संस्था पुगेको छैन । १० पालिकामध्ये देवघाट, आँबुखैरेनी र घिरिङ गाउँपालिकामा आयुर्वेद स्वास्थ्य संस्था नपुगेको चापागाईंले जानकारी दिए ।
केन्द्रले पतञ्जली योग समितिसँग समन्वय गरी कार्यालयको योगहलमा स्वस्थ जीवन कार्यक्रम सञ्चालन गर्दै आएको छ । जिल्लाका स्थानीय तहलगायत अन्य सरोकारवालाहरुसँग निरन्तर समन्वय र सहकार्य गर्दै आयुर्वेदिक उपचार प्रणालीको प्रवद्र्धन गरिरहेको चापागाईंको भनाइ छ ।