बागलुङ । नयाँ शैक्षिक सत्रको सुरुआतसँगै सदरमुकामका संस्थागत विद्यालयले उच्च प्राथमिकताका साथ विद्यार्थी भर्ना अभियान चलाइरहेका छन् ।
अभिभावकको घर पुग्नेदेखि सामुदायिक विद्यालयका विद्यार्थी प्रेरित गर्ने अभियान चलिरहेको छ ।
सदरमुकामकै केही सामुदायिक विद्यालयमा पनि यो अभियान चलिरहेको छ तर सबै सामुदायिकमा त्यो जाँगर देखिँदैन । घट्दो विद्यार्थी संख्या, संस्थागत विद्यालयमै अभिभावकको जोडबल र फितलो व्यवस्थापनले दुब्लाउँदै गएका सामुदायिक विद्यालयको व्यवस्थापनमा चुनौती छ ।
नयाँ शैक्षिक सत्रको सुरुआतसँगै बागलुङ नगरपालिकाले विद्यालय स्थगन र समायोजन गर्यो । यसले सामुदायिक विद्यालयमा सबै पक्षको चासो र मेहनत कम छ भन्ने संकेत गर्छ ।
नगरपालिकाले नगरभित्रका विद्यार्थी संख्या न्यून भएका ४ विद्यालय स्थगन र ३१ विद्यालय समायोजन गरेको छ । शुक्रबार बसेको नगर कार्यपालिका बैठकले केही विद्यालय स्थगन गर्ने र केही विद्यालय घटुवा गर्ने निर्णय गरेको हो । बैठकले आधारभूत तहका ४ विद्यालय नजिकका विद्यालयमा पूर्णरूपमा गाभ्ने निर्णय गरेको छ । वडा नम्बर ९ का रानीभुमे र सरस्वती सामुदायिक प्रावि, वडा नं १२ को कालीगण्डकी र वडा नं १३ को लक्ष्मीनारायण संस्कृत पाठशाला स्थगन गर्ने निर्णय भएको नगर प्रमुख वसन्तकुमार श्रेष्ठले बताए ।
८ वटा विद्यालयमा बालविकास केन्द्र मात्रै सञ्चालन गर्ने, ११ विद्यालयमा बालविकास केन्द्र र कक्षा १ मात्रै सञ्चालन गर्ने, एउटा विद्यालयमा कक्षा १ मात्रै, ५ विद्यालयमा कक्षा १ देखि ३ सम्म सञ्चालन गर्ने, २ विद्यालयमा कक्षा ४ र ४ विद्यालयमा कक्षा ६ सम्म कक्षा सञ्चालन गर्ने गरी ३१ विद्यालयमा तह मिलान गरिएको हो ।
बागलुङ बजारको मुटुमा रहेको बालमन्दिर आधारभूत विद्यालयदेखि भौगोलिक हिसाबले दूरदराजमा पर्ने ओख्ले प्राविसम्मका विद्यालय घटुवामा परेका छन् । नगरको विद्यालय समायोजन तथा शिक्षक दरबन्दी मिलान कार्यविधिअनुसार विद्यार्थी संख्या कम भएका, शिक्षक दरबन्दी नभएका विद्यालय नजिकका विद्यालयमा समायोजन गरिएको उनले बताए ।
नगर प्रमुख श्रेष्ठले विद्यालय सुधारको प्रयासलाई अगाडि बढाइएको बताए । सामुदायिक विद्यालयमा नयाँ प्रविधिको प्रयोगसँगै अंग्रेजी माध्यमबाट पठनपाठनको व्यवस्था गर्न लागिएको उनले जानकारी दिए ।
शैक्षिक सुधारका लागि नगरपालिकाले विद्यालयको अवस्था बुझेर प्रतिवेदन तयार गर्न समिति बनाएको थियो । नगर शिक्षा समिति, अनुगमन तथा सिफारिस समिति र नगरसभा तथा कार्यपालिकामा भएका छलफलका आधारमा विद्यालय स्थगन तथा घटुवाको निर्णयमा पुगेको नगर प्रमुख श्रेष्ठ बताउँछन् । नगरको यो निर्णयबाट प्रभावित हुने शिक्षक विद्यार्थीको व्यवस्थापनका लागि उपयुक्त कदम चालिने उनले बताए ।