काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई आममाफी दिएको प्रकरणमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।
न्यायाधीश प्रकाशमान सिंह राउतको मंगलबारको इजलासले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।
सर्वोच्चले उक्त मुद्दामा अग्राधिकार दिने आदेशसमेत जारी गरेको छ ।
रेशमलाई सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा आममाफी दिएका थिए ।
सोही आममाफीविरुद्ध राष्ट्रपति कार्यालय र रेशम चौधरीलाई विपक्षी बनाएर टीकापुर हत्याकाण्डमा मारिएका सशस्त्र प्रहरी इन्स्पेक्टर केशव बोहोराकी पत्नी शारदा कडायतले रिट दर्ता गरेकी थिइन् ।
रिटमाथि आज पहिलो सुनुवाइ भएको हो। यसअघि न्यायाधीशहरु आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको इजलासमा पेस परे पनि हेर्न नभ्याइने हुँदै सुनुवाइ सरेको थियो।
अब राष्ट्रपति कार्यालयले आममाफीका सन्दर्भमा लिखित जवाफ पेस गर्नुपर्नेछ ।
रेशम टीकापुरमा भएको हत्याकाण्डमा तीनै तहका (जिल्ला, उच्च र सर्वोच्च) अदालतबाट दोषी ठहर भएका थिए।