काठमाडौं । श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जान लागेका श्रमिकलाई फर्काइएको विरोधमा अध्यागमन कार्यालय अगाडि प्रदर्शन भएको छ ।
वैदेशिक रोजगार ऐन २०६४ अनुसार सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी संस्थागत रूपमा श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जान लागेका कामदारहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयले केही दिनदेखि बिनाकारण कामदारहरू फर्काइरहेको भन्दै आइतबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघले विरोध प्रदर्शन गरेको हो ।
उनीहरूले अध्यागमनको बिना कारण विदेश जानबाट रोक्ने कदमले व्यवसाय गर्न समस्या हुने भन्दै उनीहरूले विरोध गरेका हुन्।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले बिना कारण अध्यागमन विभागले कामदार विदेश जनबाट रोकेका कारण विरोध गर्नुपरेको बताए।
उनले अध्यागमन विभागले नागरिकलाई दिएको दुःख र उनीहरूलाई जान नदिँदा भएको क्षतिपूर्ति नदिएसम्म आन्दोलन गर्ने चेतावनी दिए।
अध्यागमनले कामदारलाई विदेश जान नदिने हो भने व्यवसाय नै बन्द गर्नुपर्ने उनकाे भनाइ छ।
आन्दोलनकारीहरूले अध्यागमनमा हुने ‘अनियमितता छानबिन गर्’, ‘अध्यागमनबाट श्रमिक फर्काउने कार्य बन्द गर्’, ‘वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दुःख दिने काम बन्द गर्’, ‘भिजिट भिसामा हुने सेटिङ बन्द गर्’, ‘अध्यागमनको ज्यादती बन्द गर्’, ‘अध्यागमनका महानिर्देशक राजीनामा दे’, ‘व्यवसायीलाई दुःख दिने कार्य बन्द गर्’ लगायतका प्लेकार्ड बोकेर नारा लगाउँदै विरोध प्रदर्शन गरेका थिए।