काठमाडौं । राष्ट्रिय भूमि आयोग, जिल्ला समिति, ललितपुरले गोदावरी नगरपालिकाको वडा नं ७ मा भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण गरेको छ ।
आइतबार गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र उपप्रमुख मुना अधिकारीसहितको उपस्थितिमा आयोग जिल्ला समिति ललितपुरले १४ भूमिहीन परिवारलाई निस्सा वितरण गरेको हो ।
भूमि आयोग जिल्ला समिति ललितपुरका संयोजक श्रीगोविन्द महर्जनका अनुसार उपत्यकामै पहिलो पटक गोदावरी नगरपालिकाको वडा नं ७ देविचौरमा तीनजना भूमिहीन दलित सहित १४ परिवार भूमिहीनलाई निस्सा वितरण गरिएको हो ।
राष्ट्रिय भूमि आयोग जिल्ला समिति ललितपुरले यसअघि जेठ ३१ गते बागमती गाउँपालिकाका ९४ भूमिहीनलाई निस्सा वितरण गरेको थियो ।
'हामीले आवश्यक प्रक्रिया सम्पन्न गरी ललितपुरमा बागमती गाउँपालिका र गोदावरी नगरपालिका वडा नं ७ का समेत गरी एक सय आठ भूमिहीनलाई निस्सा वितरण गरेका छौं । निस्सा उपलब्ध भएपछि पुर्जा वितरणका लागि आधा काम सम्पन्न भएको मानिन्छ', संयोजक महर्जनले भने ।
त्यस अवसरमा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले दुई महिनाभित्र नगरपालिकाका सबै वडामा निस्सा वितरणको काम सम्पन्न गर्ने बताए ।
'आज यस नगरपालिकाको वडा नं ७ मा निस्सा वितरणको काम सम्पन्न भएको छ, भूमि आयोगसँगको समन्वयमा हामी दुई महिनाभित्र नगरका सबै वडामा निस्सा वितरणको काम सम्पन्न गर्छौं । काम द्रुत गतिमा अगाडि बढ्छ, सम्भव भएसम्म दसैंअगावै पुर्जा वितरणको कामलाई अगाडि बढाउने छौं', नगरप्रमुख महर्जनले भने।