काठमाडौं । लगानी बोर्डको ५८औं बैठकले तेस्रो लगानी सम्मेलनमा आशयपत्र आह्वान गरिने, सोकेस गरिने र सम्भावित बजार खोजिने (मार्केट साउन्डिङ) परियोजनाको सूची स्वीकृत गरेको छ ।
सम्मेलनमा सरकारी र निजी समेत गरी कूल १४८ वटा परियोजना सोकेसमा राखिनेछन् ।
मंगलबारको बैठकले २ वटा परियोजनामा लगानी थप गर्ने निर्णय गरेको बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिए । ह्वासिन नारायणी सिमेन्ट परियोजनाको लागि ६ अर्ब ६३ करोड ४० लाख बराबर थप लगानी स्वीकृत भएको छ । डाबर नेपाल प्रालिको लगानी सम्झौताको मस्यौदा तयार गर्न लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा वार्ता समिति गठन गर्ने निर्णय गरेको छ ।
डाबर नेपालले क्षमता विस्तार तथा उत्पादन विविधिकरणका लागि ९ अर्ब ६८ करोड पुनर्लगानीका लागि प्रस्ताव गरेको छ । परियोजनाको विस्तृत परियोजना प्रतिवेदन प्राप्त भई बोर्डको मूल्यांकन पश्चात् वार्ता प्रक्रिया अगाडि बढाइएको हो ।
बैठकपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी सम्मेलनलाई औपचारिकतामा मात्र सीमित नबनाई बढीभन्दा बढी नतिजामुखी बनाउन निर्देशन दिए । स्वदेशी, विदेशी तथा निजी क्षेत्रबाट हुने स्वपूँजी तथा ऋण परिचालनलाई सहजीकण गर्न मन्त्रालयले विशेष इकाई बनाएर अघि बढ्न प्रधानमन्त्री प्रचण्डले निर्देशन दिए ।
सार्वजनिक र निजी क्षेत्रको साझेदारीबाट मात्र मुलुकको समृद्धि हासिल हुने बताउँदै प्रधानमन्त्री दाहालले निजी क्षेत्रलाई सुविधा दिन पुरातन सोच र पुरातन नीतिगत तथा कानूनी व्यवस्थाबाट सम्भव नरहेकाले सरकारले लगानीका अवरोध हटाउन कानून संशोधनको कार्य अघि बढाएको बताए ।
बैठकमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले अघिल्लो बोर्ड बैठकको निर्णय कार्यान्वयनको अवस्था र तेस्रो लगानी सम्मेलनको तयारीको सम्पूर्ण पक्षको विषयमा जानकारी गराएका थिए । लगानी सम्मेलन वैशाख १६ र १७ गते हुँदैछ ।