काठमाडौं । विसं २०७९ प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि हालसम्म संसदका तीन वटा अधिवेशन पूरा भइसकेका छन् । तर यी अधिवेशनलाई कानून निर्माणका हिसाबले प्रभावकारी बनाउन सकिएको छैन ।
जनप्रतिनिधिका हिसाबले हामी (सांसद) ले व्यक्तिगतरुपमा जुन किसिमको भूमिका निर्वाह गर्नुपर्ने हो त्यो गरिरहेकै छौँ । तर, संसद ठूला राजनीतिक दलको अनियर्णयको बन्दी जस्तो भएको छ ।
संसदमा प्रतिनिधित्व गर्ने तीन ठूला राजनीतिक दलका शीर्षस्त नेताको कब्जाजस्तो छ । राष्ट्रिय राजनीतिक पार्टीले संसदमा आफूलाई प्रभावकारी भूमिकामा प्रस्तुत गर्न सकिरहेका छैनन् । हामी साना पार्टीले धेरै विषय चाहेर पनि गर्न सकिरहेका छैनौँ । सरकारले जुन ढङ्गले विधेयकहरु ल्याउनुपर्ने हो, त्यो आएको छैन र सदनमा आएका विधेयक पनि प्रभावकारीरुपमा अगाडि बढ्न सकिनरहेको यथार्थ हो ।
खासगरेर ठूला दलले संसदलाई बन्धक बनाएपछि संसदलाई खेलबाडका रुपमा हेरियो । संसदलाई मर्यादित रुपमा हेरिएन । तीन दलका तीन व्यक्ति बस्ने र आफ्ना निर्णय लाद्ने, साना दललाई बेवास्ता गर्ने प्रवृत्ति छ । त्यसले संसदीय अभ्यास पनि प्रभावकारी हुन सकेन ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रको चरित्र अनुरुप संसदीय अभ्यास हुन नसक्नु बिडम्बना हो । यहासम्मकी म आफै जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रमुख सचेतक छु । मलाई पनि कैयौँ पटक बैठकमा बोलाइएन ।
कुनै महत्वपूर्ण निर्णयबारे सोधिएन । पार्टीभित्र आन्तरिक लोकतन्त्र नभएका कारण संसदमा मैले डेढ वर्षदेखि बेहोर्दै आइरहेको छु सदन प्रभावकारी बनेको छैन ।
यसरी हेर्दा म आफै पछिल्लो संसदीय अभ्यास र सदनको भूमिकाप्रति सन्तुष्ट हुन सकेको छैन । संसदलाई राजनीतिक स्वार्थ र गुटबन्धीबाट टाढै राखेर जनताका सरोकारका विषयलाई सशक्त र प्रभावकारी ढंगले उठाउनुपर्नेमा त्यो हुन सकेको छैन ।
तीन ठूला दलले संसदलाई अनिर्णयको बन्दी जस्तो बनाएका छन् । आफूले चाहँदा सदन खुलाउने नचाहँदा बन्द गरिदिने अभ्यास छ । सदन पालैपालो अवरोध गर्ने । कहिले कुन दलले कहिले कुन दलले उनीहरुको राजनीतिक स्वार्थ अनुकल सदनलाई उपयोग गर्ने प्रवृत्तिले समग्रमा संसदको गतिविधि र संसदीय अभ्यासलाई नकारात्मक दिशातर्फ लगिरहेको छ ।
यसले जनताको चाहनामाथि कुठाराघात भएको छ । जनआकाङ्क्षालाई सम्बोधन गर्दै मुलुकको आर्थिक समृद्धिको यात्रामा जान अलमल र बेइमेल भएको छ । यसतर्फ सबै राजनीतिक दलहरु गम्भीर हुनुपर्ने अवस्था छ ।
प्रमुख राजनीतिक दलले संसदलाई ‘जब चाहिन्छ, खोल्ने तब चाहिँदैन बन्द गर्ने जे चाहन्छन् त्यो गर्ने’ प्रवृत्ति छ । हामीलाई कुनै भूमिका निर्बाह गर्न दिइएन । सदन अवरोध संस्कृतिजस्तै भयो । साना दल कुनामा परे । उनीहरुको कुरै सुनिएन । त्यसैले पहिले तीन राजनीतिक दलका नेताहरु उदार हुनुपर्यो । उनीहरु जनताप्रति उत्तरदायी बन्नुपर्यो ।
साना राजनीतिक दलप्रति समान व्यवहार गरिनुपर्छ । किनभने देश र जनताको कसम खाएर आएका जनप्रतिनिधिभएकाले जनताको काम त गर्नैप¥यो । समयमा जनताको काम गर्न सकेनौ भने भोलि निर्वाचनका बेला जनतामाझ जाँदा कसरी मुख देखाउने, के सन्देश लिएर जाने त्यसबारे बेलैमा सजक हुन जरुरी छ ।
संसद जनताको न्यायको मन्दिर हो । जनताको न्यायको मन्दिर भएकाले यसलाई न्याय दिलाउनुपर्छ । बन्दक बनाइनु हुँदैन । संसदले जनतालाई न्याय दिनुपर्छ । संविधान अनुरुप कार्यकारी अधिकार सरकारको भएकाले जनप्रतिनिधिको थलो संसदलाई प्रभावकारी बनाउनुपर्छ ।
संसदलाई विजनेश दिएर जनतामा आशा जगाउन सक्नुपर्छ । सरकार र संसदले जनताको पक्षमा प्रभावकारी काम गरिरहेको छ भन्ने सन्देश जनतामा प्रवाह हुन जरुरी छ । अत्यावश्क विधेयक चाँडो पारित गराउने, नीतिगत र संरचनागत सुधारमा गम्भीर भएर लाग्नुपर्छ ।
सदनमा आगामी दिनमा हाम्रो भूमिकालाई थप प्रभावकारी बनाउछौँ । हामीले अहिले पनि जनताको विषय सदनमा उठाइरहेका छौँ । तर, जति प्रभावकारी रुपमा प्रस्तुत हुनुपर्ने थियो त्यो हुन सकेको छैन । तुलनात्मक रुपमा पछिल्लो पटक सदन केही गतिशील भएको देखिन्छ । तर, केही दलको अवरोधले फेरि पनि सदन गतिशील हुँदैनकी भन्ने आशङ्का छ ।
प्रमुख प्रतिपक्षी दलले निरन्तर संसद अवरोध गरिरहेको छ । सदनमा उठेका विषयलाई चाँडो सम्बोधन हुनुपर्छ । जनसरोकारका विषय सदनमा खुलेर राखौँ । विधेयकहरु छिटो अगाडि बढाउनुपर्छ । देशलाई विकासको गतिमा अगाडि बढाउन सबै जिम्मेवार बनौँ ।
जनता अहिले निरास छन् । जनतामा देखिएको निरासा निरुपण गर्न आशातित काम गर्न जरुरी छ । त्यसका लागि सरकारले नयाँ कार्ययोजना ल्याउनुपर्छ । जनताको जनजीविकाका सवाललाई यथोचित सम्बोधन गर्नुपर्छ ।
देशमा बेरोजगारी मुख्य समस्या हो । संसद् र सरकार एकअर्काका परिपुरक हुन् । संसद् अवरोध गरेर जनताको समस्या सम्बोधन हुँदैन । त्यसैले संसद्लाई चुस्त बनाइनुपर्छ । ऐन कानुन बनाएर कार्ययोजनाका साथ जनताको विषयलाई सम्बोधन गरिनुपर्छ ।
सांसद यादवको परिचय
जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेत प्रदीप यादव युवा राजनीतिज्ञ हुन्। उनलाई तराई–मधेस केन्द्रित राजनीतिमा निकै प्रभावशाली नेताका रुपमा चिनिन्छन् । उनी विस २०७९ मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पर्सा १ बाट निर्वाचित सांसद हुन् । यादव वन तथा वातावरण मन्त्री समेत भइसकेका छन् ।
विसं २०३२ वैशाख २४ गते आमा कान्ति देवी र बुबा राजेश्वरप्रसाद यादवको कोखबाट वीरगंज–२२ मनियारीमा जन्मिएका उहाँले विस २०६४देखि राजनीतिक यात्रा सुरु गरेका थिए ।
सांसद यादव सन् १९९७ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजनीतिमा प्रवेश गरेका थिए । जनता र समुदायका लागि काम गर्न सन् २००८ मा तत्कालीन मधेसी जनअधिकार फोरम नेपालमा प्रवेश गरेका उनी सन् २०१७ र सन् २०१८ मा दुई पटक पर्साबाट सङ्घीय संसदमा निर्वाचित भएका थिए । राजनीतिक, सामाजिक क्षेत्रमा सक्रिय यादव युवा जुझारु नेताका रुपमा परिचित छन् ।