काडमाडौं । वैदेशिक रोजगारमा जाने नेपाली श्रमिकहरूलाई थप कडाइ गर्ने अध्यागमन विभागले जनाएकाे छ ।
विभागले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै थप कडाइ गर्ने जनाएकाे हाे ।
केही दिनयता कुवेत जान लागेका श्रमिकहरूले पेश गरेका भिसा सम्बन्धित देशको आधिकारिक वेबसाइटमा नखुलेको, भिसाको अवस्था वेटिङ एप्रुबल देखिइ भिसाको आधिकारिकताका सम्बन्धमा द्विविधा उत्पन्न भएको, भिसामा उल्लेख भएको रोजगारदाताको नाम र श्रम स्वीकृति/सम्झौता पत्रमा उल्लेख रोजगारदाताको नाम फरक पर्न गएको लगायतका विषयहरू देखिएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा कसैलाई दुःख दिने नियतले नभइ आगमन एवं प्रस्थानलाई व्यवस्थित गर्न थप व्यवस्था गरिएको बताइएकाे छ ।
अब अङ्ग्रेजीबाहेक अन्य भाषामा भएका भिसा अनिवार्य रूपमा अङ्ग्रेजी भाषामा अनुवाद गरी नोटरीसमेत गरी पेश गर्नुपर्ने विभागले जनाएकाे छ ।
यसैगरी, भिसामा उल्लेख भएको रोजगारदाताको नाम र श्रम स्वीकृति/सम्झौतापत्रमा उल्लेख भएको रोजगारदाताको नाम र पेशा एउटै हुनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जान लागेका श्रमिकलाई फर्काइएको विरोधमा आजै अध्यागमन कार्यालय अगाडि प्रदर्शन भएको थियाे ।
वैदेशिक रोजगार ऐन २०६४ अनुसार सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी संस्थागत रूपमा श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जान लागेका कामदारहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयले केही दिनदेखि बिनाकारण कामदारहरू फर्काइरहेको भन्दै आइतबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघले विरोध प्रदर्शन गरेको हो ।