काठमाडौं । कतारका अमिर (राजा) शेख तमिम विन हमाद अल थानीको नेपालको दुईदिने राजकीय भ्रमण सम्पन्न भएको छ । अरब मुलुकबाट राष्ट्र प्रमुखका हैसियतमा नेपालमा कसैको पनि उपस्थिति थिएन ।
पहिलोपटक कतार जस्तो आर्थिकरुपमा सम्पन्न मुलुकको अमिरबाट भएको नेपाल भ्रमणलाई ऐतिहासिक रुपमा लिइएको छ । भ्रमणका क्रममा दुई देशबीच महत्वपूर्ण सहमति एवं समझदारी पनि भएका छन् ।
कतारको अमिरको नेपाल भ्रमणको पर्दा पछाडि रहेर कतारका लागि नेपाली राजदूत डा नरेशविक्रम ढकालले महत्वपूर्ण भूमिका निर्वाह गरे । उनी दुई वर्षदेखि कतारका लागि नेपाली राजदूतका रुपमा क्रियाशील छन्।
कतारका अमिरको नेपाल भ्रमण, भ्रमणका उपलब्धिलगायत विषयमा कतारका लागि नेपाली राजदूत ढकालसँग गरीएको कुराकानीको सम्पादित अंशः
हालै कतारका राजाको नेपाल भ्रमण सम्पन्न भएको छ । कतारको अमिरको भ्रमण मध्यपूर्व एसियाबाटै हालसम्मको उच्चस्तरको हो । कतारका लागि नेपाली राजदूतका रुपमा यहाँले पर्दापछाडि के–के तयारी गर्नुभयो ?
प्रत्येक राजदूतले आफ्नो नियुक्तिको सिफारिसपछि संसदीय समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्नुपर्ने हुन्छ । मैले समितिमा प्रस्तुत गरेको कार्ययोजनामा १३ योजनामध्ये दोस्रो नम्बरमा कतारको अमिरको नेपाल भ्रमणको गराउँछु भन्ने थियो । तत्पश्चात कतारमा नेपाली राजदूतका हैसियतले मैले पदभार ग्रहण गरेँ ।
त्यसपछि कतारका अमिरसँग ओहोदाको प्रमाणपत्र पेस गर्ने क्रममा उहाँसँग नेपाल भ्रमणको सन्दर्भ उठान गरेँ । त्यतिबेला उहाँले आफू फिफा विश्वकप २०२२ का कारण अत्यन्त व्यस्त रहेको र २०२३ मा उपयुक्त समय पारेर नेपाल भ्रमण गर्ने जवाफ दिनुभएको थियो । त्यसपछि म निकै नै उत्साही भएँ । दुई वर्षका अवधिमा मैले पाँच पटक कतारको अमिरसँग भेटवार्ता गर्ने अवसर पाएँ ।
कतारमा अमिरले २०२३ भित्र नेपालको भ्रमण गर्ने विषय प्रथम चरणको भेटमा नै आश्वासन दिनुभएको थियो । त्यसैअनुसार २०२३ को नोभेम्बर ६–७ मा अमिरले नेपाल भ्रमण गर्ने मिति तय भयो । विशेष कारणले निर्धारित मितिमा भ्रमण हुन नसके पनि त्यसको करिब छ महिनाभित्र यो भ्रमण सम्भव भयो ।
कतारका अमिरको नेपालको दुईदिने भ्रमण कति उपलब्धिपूर्ण रह्यो ?
अरब मुलुकबाट प्रायःजसो राष्ट्रप्रमुखका हैसियतमा नेपालमा कसैको पनि उपस्थिति थिएन । पहिलोपटक कतार जस्तो आर्थिक रुपमा सम्पन्न मुलुकको अमिरबाट नेपालको भ्रमण हुनु आफैँमा ऐतिहासिक विषय हो । यस भ्रमणबाट हामीले धेरै अपेक्षा पनि गरेका छौँ । यद्यपि, तत्काल हेर्दा केही समझदारीमा हस्ताक्षर भएको देख्दा कसैले कम आँकलन गर्न पनि सक्नुहोला । तर यसको ऐतिहासिक महत्व छ ।
यस भ्रमणले अन्य अरब मुलुकका राष्ट्र प्रमुखलाई नेपालमा भ्रमण गर्ने प्रेरणा प्रदान गरेको छ । हामीले नेपालसँग फरक ढङ्गले द्विपक्षीय सम्बन्ध विकसित गर्नुपर्छ भन्ने सन्देश दिएको छ । कतारमा रहेका नेपालीलाई अन्य मुलुकका नागरिकले हेर्ने दृष्टिकोणमा व्यापक प्रभाव परेको छ ।
अमिरले रुचाएको र भ्रमण गरेको मुलुक र त्यो देशका नागरिक भनेर नेपाली नागरिकलाई हेर्ने दृष्टिकोणका ठूलो परिवर्तन आउँछ । त्यसकारण अमिरको नेपाल भ्रमण महत्व आफैँमा शब्द, अङ्क, तथ्याङ्कमा विश्लेषण गरेर देखिने नभई आत्मसात गर्ने र यसको परिणाम तत्काल देखिने भएकाले मैले यसलाई अत्यन्त ठूलो महत्वका साथ हेरेको छु ।
कतारका अमिर र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच द्विपक्षीय भेटवार्तापछि नेपाल र कतारबीच विभिन्न आठ वटा सहमति र समझदारीमा हस्ताक्षर भएका छन् । यी समझदारी कति पूर्ण छन् ?
हाम्रा आवश्यकता अलग खालका थिए । आपसी समझदारीपत्रमा हस्ताक्षर हुँदा हाम्रो आवश्यकताभन्दा फरक भयो कि भन्ने महसुस सबै हुन सक्छ । यो स्वभाविक हो । सहमतिको बुँदा हेर्दा के देखाउँछ भनेर हे¥यो भने साँधुरो छ । भित्री कुरा के हो भनेर हेर्दा आठ वटा समझारीले व्यापक क्षेत्र ओगटेको छ ।
द्विपक्षीय भेटवार्ताका क्रममा कतारका अमिर र प्रधानमन्त्रीबीच सहकार्यमा सहजीकरण गर्न संयुक्त कार्यदल बनाएर जाने सहमति भएको छ । उक्त कार्यदलले कहिलेसम्म मूर्त रुप लिन्छ र कुन कुन क्षेत्रमा काम गर्छ ?
भेटमा प्रधानमन्त्री दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्र्तराष्ट्रिय विमानस्थलमा कतार एयरलाइन्सको उडान होस् भन्ने कुरा राख्नुभएको थियो । नेपालले पर्यटन, कृषि र ऊर्जालाई प्राथमिकता दिएको अवस्था छ ।
कतार राजा अमिरले पनि यही विषयमा सम्भवानाको खोजी र अनुसन्धान गरेर त्यसका आधारमा लगानी गर्नका लागि संयुक्त कार्यदल बनाएर अघि बढ्ने बताउनुभयो ।
कतारका अमिरको भ्रमण भर्खरै सम्पन्न भएको छ । म पनि केही समयमा कतार फर्किदैछु । गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडानको बारेमा सकेसम्म छिटो काम थाल्नेछौँ । त्यसका लागि नेपाल आएको कतारी प्रतिनिधिसँग हामी चाँडै नै बैठक बस्नेछौँ ।
उच्चस्तरीय कार्यदल बनाउनका लागि मेरो प्रयत्न बलियो हुनेछ । तर यसमा मेरो प्रयत्न पर्याप्त समेत नहुन सक्छ । राजा अमिर स्वयंम्ले बोल्नुभएका कारण पनि यसले विशेष महत्व राख्छ । उक्त कार्यदलले कृषि, पर्यटन र ऊर्जाको क्षेत्रमा हाम्रो अपेक्षाअनुसार लगानी भित्राउनेमा विश्वस्त छु ।
नेपाल र कतारबीच लगानी सुरक्षासम्बन्धी सम्झौता भएको छैन । निजी क्षेत्रका लगानीकर्ताले आफ्नो लगानीको नाफा लैजान चाहन्छन् । त्यसका लागि पनि हामी गम्भीर रुपमा छलफल गर्छौँ । भर्खरै कतारी राजाको भ्रमण सकिएको छ । अब नेपालबाट पनि कतारमा उच्चस्तरीय भ्रमणको निरन्तरताका लागि प्रयत्न गरिरहन्छौँ । यसलाई टुङ्गोमा पु¥याएरै छाड्छौँ ।
नेपालले कतारसँगको श्रम सम्झौता पुनरावलोकन होस् भन्ने चाहेको थियो । तर यो विषय टुङ्गोमा पुग्न नसक्नुको कारण के होला ?
नेपाल र कतारबीच श्रम सम्झौता भएको १८ वर्षसम्म पुनरावलोकन भएको छैन । हाम्रो पनि जोड उक्त सम्झौतालाई समयानुकूल बनाउन परिमार्जन गर्नुपर्छ भन्ने नै थियो । पछिल्लो समय उक्त विषयलाई नेपाल र कतारका तर्फबाट विश्लेषण गर्दा हामीले के भन्यौँ भने कतारले घरेलु कामदारको माग गरिरहेको अवस्थामा घरेलु कामदार लैजाने विषयलाई पनि श्रम सम्झौतामा समेटेर जानुपर्छ ।
अन्य क्षेत्रका श्रमिक र घरेलु श्रमिकको कामको प्रकृति धेरै अन्तर छ । घरेलु श्रमिकले झण्डै १८ घन्टा काम गर्नुपर्छ । लामो समय काम गर्दा पारिश्रमिक पनि सोही अनुसार तोकिनुपर्छ । घरेलु श्रमिकको खाने, बस्ने तथा सुरक्षाको सवाललाई घरबाहिर काम गर्ने श्रमिकसँग तुलना गर्न मिल्दैन ।
नेपालका तर्फबाट घरेलु कामदारका विषयलाई हतारमा नगरी दीर्घकालीन समाधान खोजेर जानुपर्छ भनेर अडान छाडेका छैनौँ । उक्त सम्झौता पुरानो भइसक्यो । अहिलेको बजार मूल्य धेरै माथि भइसक्यो । श्रमिकको आधारभूत पारिश्रमिक परिमार्जन गर्नुपर्छ भन्ने विषय नेपालले राखिराखेको छ ।
कतारका तर्फबाट हेर्दा त्यहाँ नेपालको मात्रै नभई अन्य मुलुकको श्रमिक पनि ठूलो सङ्ख्यामा काम गरिरहेका छन् । कतारको श्रम कानुन निकै राम्रो छ । श्रम कानुनले कुनै पनि मुलुकका श्रमिकलाई कुनै विभेद् गरेको छैन ।
कतारमा आठ लाख बढी भारतीय, चार लाख बङ्गलादेशी, तीन लाख ५० हजार बढी नेपाली र त्यत्तिकै सङ्ख्या फिलिपिनी श्रमिक छन् । त्यसकारण कतारले नेपालसँग गरेको सम्झौताका आधारमा कतारमा काम गर्दै आएका सबै श्रमिकलाई त्यहीअनुसार सुविधा दिनुपर्छ ।
त्यसकारण एउटा देशले मात्रै श्रमिकको आधारभूत पारिश्रमिक टुङ्ग्याएर नहुने भए पनि नेपालका तर्फबाट निरन्तर यस विषयलाई छलफल गरेर एउटा समझदारीमा पुग्ने गरी अहिलेलाई छलफलकै क्रममा राखिएको छ । तर हामी आशा गरौँ, श्रम सम्झौता परिमार्जन दुवै देशको आवश्यकता हो ।
यसमा केही समय निर्धारण गर्न सकिन्छ कि ?
यो छलफलकै विषय हो । कतारलाई घरेलु कामदार चाहिएको छ । घरेलु कामदारका माग उच्च भएका कारणले चाँडो लैजाने भन्ने छ । किनकी नेपालीहरु इमान्दार छन् । नेपाली श्रमिकमा काममा जतिसुकै कठिनाइ भए पनि ‘मुस्कान’ सहितको सेवा दिन सक्ने क्षमता छ ।
नेपाली श्रमिकमा थकाइको महसुस छैन । त्यसैले कतारले नेपाली नागरिकलाई चाहेको छ । कतारको आवश्यकता भएको र बेरोजगार नेपाली युवाले रोजगारी पाउने भएकाले मिति नै किटान गरेर यति समयभित्र हुन्छ त भन्न सकिँदैन । यद्यपि, छिटो गर्नका लागि हामी दुवै पक्ष प्रयत्नरत रहनेछौँ ।
घरेलु महिला श्रमिकको सुरक्षाको सुनिश्चितता नभएको भन्दै संसदीय समितिको निर्देशनमा सरकारले घरेलु कामदार पठाउन प्रतिबन्ध लगाएको छ । श्रम सम्झौतामा घरेलु काममा जाने महिला श्रमिकको सुरक्षाको प्रत्याभूति कसरी गर्न सकिन्छ ?
अवैधानिक बाटोबाट गएका बाहेक, अहिलेसम्म वैधानिक रुपमा त्यहाँ घरेलु श्रमिक महिला हुनुहुन्न । वैधानिक हिसाबले नयाँ बाटो अवलम्बन गर्दैछौँ । त्यसका लागि मैले दुई जना पूर्व श्रममन्त्रीसँग पनि छलफल गरेको छु । वर्तमान श्रम मन्त्रीसँग पनि यस विषयमा छलफल गरिरहेका छौँ ।
मेरो प्रस्ताव के हो भने कुनै पनि महिला कामदारलाई लगियो भने उहाँलाई मोबाइल फोन उपलब्ध गराउने प्रावधान राख्नुपर्छ । मोबाइल फोनमा एउटा ‘एप्स’को सहायताले सामान्य पढलेख गरेका व्यक्तिले समेत ‘हो’ र ‘होइन’ को उत्तर दिन सक्ने गरी उक्त व्यक्तिको अवस्थाबारे जानकारी लिने संयन्त्रको प्रयोग गर्न सकिन्छ ।
उक्त एप्सबाट उक्त व्यक्तिलाई सोधिएने प्रश्नमा मासिक रुपमा पारिश्रमिक पाएको छ, छैन रु कुनै किसिमको मानसिक तनाव दिइएको छ वा छैन रु भन्ने प्रश्नहरुसहितको रिपोर्ट दूतावास र कतार सरकारको निश्चित निकाय सन्देश जाने व्यवस्था गर्न सकिन्छ । यदि दुवैतर्फ सन्देशमा कुनै पनि समस्या देखिएमा दुवै सरकारबीचको प्रतिनिधिले समाधान गर्ने बाटोमा जानुपर्छ भनेर निरन्तर पहल गरिरहेको छु ।
पारिश्रमिकको कुरा अत्यन्त महत्वपूर्ण छ । अहिले सरकारले तल्लो तहमा काम गर्ने श्रमिकको न्यूनतम् पारिश्रमिक मासिक एक हजार रियाल तोकेको छ । तीन सय रुपैयाँ खानाको पर्न आउँछ, पाँच सय रुपैयाँ आवासका लागि छ ।
आवासीय हिसाबले रोजगारदाता आफैँले व्यवस्था गर्दै आएका छन । पाँच सय रुपैयाँमा आवास पाइँदैन त्यहाँ न्यूनतम् पनि आवासका लागि पाँच हजार पर्न आउँछ, महँङ्गो पर्न आउँछ । यही हिसाबले घरेलु श्रमिकलाई एक हजार हिसाबले पारिश्रमिक दिएर काम गराउनु हुँदैन । कम्तिमा पनि दुई हजार हुनुपर्छ भन्दै आएका छौँ । हाम्रो नागरिकले दुःख नपाउन भनेरै हामी यसमा गम्भीर छौँ ।
दक्षिण कोरिया र इजरायलमा जाने नेपाली श्रमिकले अन्य मुलुकका तुलनामा धेरै पारिश्रमिक पाउने गरेका छन् । कतारमा रहेका नेपाली श्रमिकको पारिश्रमिक बजार मूल्यअनुसार परिमार्जन हुन नसक्नु कमजोरी होइन र ?
यो मेरो एकल प्रयत्नले सम्भव हुने कुरा हैन । अन्य देशका श्रमिकले पनि कतारमा समान पारिश्रमिकमा काम गरिरहनुभएको छ । अन्तर्राष्ट्रिय श्रम सङ्गठनले पटकपटक बैठक राख्ने गरेको छ । त्यसमा हामी विभिन्न देशका प्रतिनिधिहरुले बजार मूल्यअनुसार पारिश्रमिक वृद्धिका लागि एक स्वरमा आवाज उठाउँदै आएका छौँ ।
अन्तरराष्ट्रिय श्रम बजारअनुसार पारिश्रमिक कायम गर्नुपर्नेमा जोड दिंदै आएका छौँ । मलाई खड्किएको अर्को विषय भनेको श्रमिकको मृत्यु पनि हो । वर्षेनी एक डेढ सय श्रमिकको मृत्यु भइरहेको हुन्छ । अधिकांश नेपाली श्रमिक कोठामा बसिरहेको समयमा वा अन्य कुनै ठाउँ अथवा कार्यालय÷कामको समय बाहिर मृत्यु भएको देखिन्छ । त्यहाँ २४ घन्टे बीमाको व्यवस्था छैन । हामी श्रमिकको २४ सै घण्टा जीवन बीमाका लागिपरेका छौँ ।
अमिरको भ्रमणका अवसरमा नेपालले दुई वटा हात्ती उपहार दिने विषय चर्चामा थियो । तर यो विषयले छलफलमा प्रवेश पाएन नि ?
कतारका तर्फबाट सन् २०१७, २०१८ र २०२१ मा तीन पटक चिडियाघरमा राख्नका लागि हात्तीको अनुरोध भएको रहेछ । म राजदूतका रुपमा गइसकेपछि यससम्बन्धी कागजात हेरेर उक्त विषयलाई पुनः अगाडि बढायौँ । कतारका अमिर नेपाल आएको सन्दर्भमा हात्ती उपहार दिने बारेमा मैले राष्ट्रपति, प्रधानमन्त्री र वन तथा वातावरणमन्त्रीसँग पनि कुरा राखेको थिएँ ।
कतारका अमिरको भ्रमण हुँदा हात्ती उपहार दिने भन्ने उच्चस्तरमा कुराकानी भएपछि हामी त्यो प्रक्रियामा लाग्यौँ । हात्तीको जीवन्तताका लागि पुश चिकित्सकसहित वन मन्त्रालयको टोली नै कतार गएर वासस्थानको अवलोकन गरेको थियो । उहाँहरुले केही सुझाव पनि कतारी पक्षलाई दिनुभयो ।
कतारका तर्फबाट पनि त्यहाँको चिडियाघरको निर्देशकसहितको टोली आएर यहाँ अध्ययन ग¥यो । त्यसपछि नेपालका तर्फबाट उपहारका रुपमा दुई हात्ती दिने समझदारी थियो । अहिले पनि नेपालले हात्ती नदिने भन्ने होइन तर अन्तर्राष्ट्रिय नियम कानुनको सबैले पालना गर्नुपर्ने भइएको हुनाले प्रक्रियागत हिसाबबाट बाँकी रह्यो । प्रक्रिया नटुङ्गिँदै पठाउँदा अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन हुन्थ्यो ।
अब अन्तर्राष्ट्रिय कानुनको पालना गरेर कतारलाई हात्ती उपहार दिँदा खासै फरक नपर्ने हुँदा अहिलेलाई यो ‘पेन्डिङ’ छ । प्रक्रिया पूरा भएपछि नेपाल सरकारले एक जोडी हात्ती उपहारस्वरुप कतारलाई हस्तान्तरण गर्छ ।