काठमाडौं। आज साउने संक्रान्ति अर्थात् लुतो फाल्ने दिन भनेर पनि चिनिन्छ ।
आजदेखि सूर्य कर्कट राशिमा प्रवेश गर्छ । आजैदेखि दक्षिणायन पनि सुरु हुन्छ । माघ १ देखि उत्तरायण सुरु हुन्छ भने साउन १ देखि दक्षिणायन सुरु हुन्छ । यस दिनलाई विशेष रूपमा मनाइने गरिन्छ ।
असार महिनाभरि खेतीपातीमा लाग्ने र हिलो मैलोले विभिन्न छालासम्बन्धी रोग लाग्ने भएकाले रोग निको पार्न लुतो फाल्ने गरिएको विश्वास रहिआएको छ ।
एक महिना काम गर्ने किसान साउन १ मा आफन्तका साथ जम्मा भई रमाइलो गरेर मनाउँछन् ।
परम्परानुसार काग भलायो, कुकुरडाइनो, लुतेझार, पानी अमला, कागती, अम्बा, नास्पाती आदि औषधिका रूपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ ।
लुतो फाल्दा आ–आफ्नो संस्कृति परम्परानुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन छ । साउन महिनालाई विशेषरुपमा भगवान् शिवको पूजा गरेर मनाइन्छ ।
महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गरिएको छ । साउन महिनाभर देशभरका शिवालय विशेषगरी पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष घुइँचो लाग्छ ।