टक्सार । भोजपुरमा जारी सातौं संस्करणको अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबले खोटाङ भगवती स्पोर्टस क्लबलाई हराउँदै फाइनल प्रवेश गरेको छ ।
निर्धारित समयमा खेल बरावरी भएपछि पेनाल्टी सुट आउटमा त्रिभुवन आर्मीले खोटाङलाई हराएको हो । पेनाल्टीमा आर्मीका तर्फबाट ४ गोल भएको थियो भने खोटाङ भगवतीले ३ गोल मात्र गर्न सफल भयो ।
अन्यन्तै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफको निर्धारित समयसम्म दुवैतर्फबाट गोल हुन नसकेको अवस्थामा अतिरिक्त थपिएको २ मिनेटको समयमा त्रिभुवन आर्मीका जर्सी नम्बर ३५ का खेलाडी बसन्त जिम्बाले १ गोल गर्दे खाता खोल्न सफल भएका थिए ।
दोस्रो हाफमा खोटाङका तर्फबाट ५ नम्बर जर्सीका खमिर गिलसानले १ गोल गर्दै खेललाई बराबरी अवस्थामा पुर्याउन सफल भएका थिए ।
पेनाल्टीतर्फ त्रिभुवन आर्मीका लागि जितेन्द्र कार्की, रिपु प्रधान, बसन्त जिम्बा र मानबहादुर आलेले गोल गरेका थिए भने सुरज बस्नेतले गोल गर्न सकेनन । खोटाङ भगवतीका तर्फबाट मार्टिन, दिवस उराव, प्रसान्त अवस्थीले गोल गर्न सफल भए भने बिशाल दर्जी र सुदिप श्रेष्ठले गोल हान्न सकेनन् ।
खेलको म्यान अफ द म्याच त्रिभुवन आर्मीका खेलाडी सुरज बस्नेत भएका छन् । उनले नगद ५ हजार र मेडल पाएका छन् ।
८ टीमको सहभागितामा सञ्चालित प्रतियोगिता अन्तर्गतको आईतबारको पहिलो खेलमा त्रिभुवन आर्मीले भारतको जर्जियन फूटबल क्लबलाई ४–० गोल गर्दै सेमीफाइनल प्रवेश गरेको थियो भने सोमबारको दोस्रो खेलमा राजारानी फूटबल क्लबलाई २–१ अन्तरले हराउँदै खोटाङ भगवती स्पोर्टस् क्लब र मंगलबार भएको तेस्रो खेलमा डाँगीहाट यूथ क्लब मोरङलाई ४–० गोलले पराजित गर्दै सलहेश युवा क्लब सिरहाले सेमिफाइनलको यात्रा तय गरेको थियो ।
बुधबारको अन्तिम क्वाटर फाइनल खेलमा आयोजक भोजपुर जिल्ला फूटबल संघलाई ३–० गोलले पराजित गर्दै चर्च व्बाइज युनाइटेड काठमाडौंले सेमिफाइनलको यात्रा तय गरेको छ ।
प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधिसहित क्रमशः नगद ५ लाख र ३ लाख पाउने जिल्ला फूटबल संघ भोजपुरका अध्यक्ष प्रविण सुवालले जानकारी दिए । अन्य व्यक्तिगत विधातर्फ पनि सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षकलाई पुरस्कारको व्यवस्था गरिएको छ ।
शुक्रबारको दोस्रो सेमिफाइनल खेल सलहेश युवा क्लव सिरहा र चर्च व्बाइज युनाइटेड काठमाडौं बीचमा हुने आयोजकले जनाएको छ । फाइनल खेल आगामी वैशाख १५ गते हुनेछ । भोजपुर जिल्ला फूटबल संघको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजममा वैशाख ९ गतेबाट गोल्डकप प्रतियोगिता भइरहेको छ ।
करीब ४९ लाख २५ हजार ५०० को लागतमा गोल्डकप आयोजना भएको छ ।