काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ ।
कम गुणस्तरका चाउचाउ भेटिएपछि महानगरको कृषि तथा पशुपन्छी विभागले जरिवाना गराएको हो ।
बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा २९ को खण्ड ‘घ’ बमोजिमको कसूर देखिएको जनाउँदै सोही ऐनको दफा ३० को उपदफा (१) को खण्ड ‘ख’ बमोजिम जरिवाना गरेको छ । वैशाख १२ गते तोकिएको जरिवाना कम्पनीले ७ दिनभित्र बुझाउनुपर्नेछ ।
महानगरपालिकाको वडा नम्बर ६ सरस्वती नगरको किराना पसलबाट वैशाख २ गते चाउचाउ जफत गरिएको थियो । २०८० चैत महिनामा उत्पादित ६० ग्राम तौल भएका, अधिकतम विक्री मूल्य २० रुपैयाँ पर्ने व्याच नम्बर एएल/वाईएल२३ को चाउचाउ जफत गरेपछि १५० ग्राम नमूना चाउचाउ परीक्षणका लागि प्रयोगशालामा पठाइएको थियो । यसरी पठाइएको नमूनामा कम्पनी र उत्पादनको विवरण गोप्य राखिएको थियो । ७ गते प्रयोगशालामा दिइएको नमूनाको रिपोर्ट ११ गते प्राप्त भएको छ ।
प्रयोगशालाको रिपोर्ट आउनुअघि स्थलगत अवस्थाको प्रतिवेदन दिँदै खाद्य प्राविधिक अनिल बस्नेत र अशोक पराजुलीको टोलीले निम्न गुणस्तरको तेल प्रयोग गरेर चाउचाउ फ्राई गरिएको हुन सक्ने, कच्चा पदार्थ निम्न गुणस्तरको हुन सक्ने प्रतिवेदन दिएको थियो ।
नमूनाको प्रयोगशाला परीक्षणबाट आएको प्रतिवेदनले गुणस्तरको विवरण लेख्दै भनेको छ, ‘खैरो रंगको चाउचाउमा गाढा खैरो र काला धब्बा थिए ।’
रिपोर्टअनुसार चाउचाउमा एसिड भ्यालु १३.९३४ एमजी केओएच/ग्राम तेल देखिएको छ । यसको भ्यालु १ एमजी केओएच/ग्राम तेलभन्दा बढी हुनु हुँदैन ।
खाद्य प्राविधिक बस्नेतका अनुसार यसो हुनु भनेको तेलको गुणस्तर नभएको भन्ने हो । यसको निरन्तर प्रयोग गर्दा क्यान्सर लगायत घातक रोग देखाउन सक्ने खाद्य प्राविधिक बस्नेतले जानकारी दिए ।
चाउचाउको विक्रीसँग सम्बन्धित एसके इन्टरप्राइजेजले महानगरपालिकालाई पत्र लेख्दै भनेको छ, ‘यस व्याच नम्बरबाट बजारमा वितरण भएका चाउचाउ फिर्ता ल्याउने र अब उप्रान्त यो चाउचाउ बिक्री नगर्ने प्रतिबद्धता पत्र पठाएको छ । यस्ता गुणस्तर नभएका खाद्य वस्तुको जिम्मेवारी उत्पादक कम्पनी सीजी फूड नेपाल हुने पत्रमा उल्लेख छ ।'