भक्तपुर । कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदै छ।
आज बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ । परीक्षाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए । उनले सबै विद्यार्थीहरूलाई निर्धक्क भएर परीक्षामा सहभागी हुन आग्रह गरे ।
उनका अनुसार यसवर्ष परीक्षामा नियमिततर्फ १ लाख ९६ हजार ९१४ छात्रा र १ लाख ९३ हजार ९३३ जना छात्र गरी ३ लाख ९० हजार ८४७ परीक्षार्थीहरू सहभागी हुने भएका छन् । ग्रेड वृद्धितर्फ १ लाख ६५० विद्यार्थी सहभागी हुने भएका छन् ।
परीक्षाका लागि बोर्डले देशभर १ हजार ५२५ परीक्षा र देशबाहिर जापानमा १ गरी कूल १ हजार ५२६ परीक्षा केन्द्र निर्धारण गरेको उनले जानकारी दिए । सबैभन्दा बढी काठमाडौंमा १४४ र मनाङ/मुस्ताङमा १/१ वटा परीक्षा केन्द्र निर्धारण गरेको छ ।
पहिलो पटक बोर्डले यस वर्ष स्वचालित (स्यान्डम) प्रक्रियाबाट काडमाडौंका परीक्षा केन्द्र निर्धारण गरेको छ । परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, कर्मचारी, कार्यालय सहयोगी गरी ३४ हजार १७१ जनशक्ति र १८ हजार ३०० प्रहरी परिचालन हुने भएका छन् ।
परीक्षामा लागि आवश्यक पर्ने उत्तरपुस्तिका लगायतका सामग्री परीक्षा केन्द्रहरूमा पुर्याउने कार्यसम्पन्न गरिसकेको छ भने यसवर्ष पनि प्रश्नपत्र अनलाइनबाट पठाइने भएको छ । इमेलबाट प्रश्नपत्र पठाउँदा ‘टाइम पासवर्ड’को व्यवस्था गरेको छ ।