काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता कार्यकर्तालाई आगलागी प्रभावितको राहत र उद्धारमा जुट्न निर्देशन दिएका छन् ।
शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै सभापति देउवाले हालै महोत्तरी, खोटाङ, बाग्लुङ, पर्वत, गुल्मी, डोल्पा लगायतका जिल्लामा भएका आगलागी प्रभावितको उद्धार, राहत र उचित बसोबासको व्यवस्थापनमा जुट्न निर्देशन दिए ।
देशका विभिन्न जिल्लामा व्यक्तिका घर तथा वनमा आगलागीका कारण केही व्यक्तिको मृत्यु तथा सयौं व्यक्ति घाइते, घर, खाद्यान्न, लत्ताकपडा लगायतका भौतिक सम्पत्ति नष्ट तथा क्षति हुनुका साथै सयौं चौपायाको मरेकाप्रति पनि सभापति देउवाले दुःख व्यक्त गरेका छन् ।
उनले आगलागीका कारण आफ्नो घरबाससहित धन–सम्पत्ति गुमाएका परिवारजनप्रति पार्टी र व्यक्तिगत तर्फबाट सहानुभूति प्रकट गरेका छन् ।
‘आगलागीमा परी जीवन गुमाएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै दिवंगत आत्माको चीरशान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दुछु । साथै, घाइतेहरूको सीघ्र स्वास्थ्यलाभको कामना गर्दछु,’ विज्ञप्तिमा भनिएको छ ।
सभापति देउवाले आगलागीका कारण जलेर घाइते भएकाहरूको उचित उपचारको प्रबन्ध तथा घरवारविहीन परिवारजनलाई तत्काल राहत, क्षतिपूर्ति तथा बसोबासको यथोचित प्रबन्ध गर्न समेत सरकारसँग माग गरेका छन् ।