काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी पार्टी संगठनलाई केन्द्रमा राखेर काम गर्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।
पार्टीको भ्रातृ संस्था नेपाल किसान महासंघले शुक्रबार आयोजना गरेको कार्यक्रममा उनले पार्टी बलियो भए मात्रै नेता कार्यकर्ता बलियो हुने भन्दै पार्टी संगठनलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिए ।
अहिलेको परिवेशमा पार्टीभन्दा व्यक्तिगत प्रचारले प्रश्रय पाइरहेको भन्दै त्यस्ता कार्यले संगठनको हित नगर्ने उनको भनाइ थियो ।
प्रवक्ता डा. महतले भने, ‘व्यक्तिवाद होइन, संगठनलाई केन्द्रबिन्दुमा राखेर काम गर्न जरूरी छ । तब मात्रै संगठन बलियो वा विस्तार भएर पार्टीको लोकप्रियता बढ्दै जान्छ । पार्टी बलियो भएमा त्यसबाट सबैले फाइदा लिने अवस्था बन्छ ।’
पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थालाई आआफ्नो दायित्व पूरा गर्ने गरी अगाडि बढ्न उनले आग्रह गरे । ‘राजनीतिक दलको भ्रातृ र शुभेच्छुक संस्थाको महत्त्व भनेकै पार्टीको विचारलाई सम्बन्धित क्षेत्रमा पुर्याउने हो । त्यसैले नेपाल विद्यार्थी संघ, तरुण दल, किसान संघ र अरु सबै संगठनले आफ्नो लक्षित वर्गमा पार्टीको विचारलाई लिएर कांग्रेसको संगठनलाई विस्तार गर्नुपर्छ,’ उनले भने ।
पूर्व अर्थमन्त्री समेत रहेका डा. महतले ६५ प्रतिशतभन्दा बढी किसान भएको देशमा कूल ग्राहस्थ्य उत्पादन (जीडीपी) मा २५–२६ प्रतिशत कृषिको योगदान रहेको र त्यो बिस्तारै घट्दै जानु चिन्ताको विषय भएको भन्दै किसानका समस्या समाधान गर्न लाग्न जरूरी रहेको धारणा राखे ।