काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको एकडारा गाउँपालिकाकी उपाध्यक्ष महजवी खातुनसहित ६ जनाविरुद्ध विशेष अदालत काठमाण्डुमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
पालिकाको वडा नम्बर १ अन्तर्गतका शाखा सडकहरू ढलानका लागि विनियोजन गरेको रकम हिनामिना गरेको ठहर गर्दै भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसूरमा ऐनको दफा १९ को उपदफा (२) बमोजिमको कैद र जरिवाना समेतको सजाय माग दावी गर्दै आरोपपत्र दायर गरिएको छ ।
आर्थिक वर्ष २०७९/०८० को योजनामा उपाध्यक्षसहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोजकुमार सिंह, इन्जिनीयर सुभाष पाण्डेय, योजना शाखा प्रमुख (अधिकृत छैटौं) महेन्द्र कुमार मण्डल र असिस्टेन्ट सब–इन्जिनीयर संजयकुमार मंडललाई दोषी ठहर गर्दै अख्तियारले ८ लाख ६५ हजार १४५ रुपैयाँ बिगो जरिवाना समेत माग गरेको छ ।
सडक ढलान योजनाको खरिद प्रक्रियामा तयार गरिएको गुणस्तर सम्बन्धी मापदण्ड अनुसार नभएको, गुणस्तर नै चेकजाँच नगरी सम्झौता बमोजिमको कार्यसम्पन्न भएको भनी गलत नापी किताब तथा कार्यसम्पन्न प्रतिवेदन तयार गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरी घिमिरेले जानकारी दिए ।
अख्तियारले पालिकासँग सम्झौता गरेर गुणस्तरीय काम नगर्ने मनरासिस्वाको निर्माण कम्पनी जानकी कन्स्ट्रक्सनका सञ्चालक राकेशकुमार रायलाई पनि विपक्षी बनाएको छ ।
पालिकासँग सम्झौता गरेर गुणस्तरहीन काम गर्दा पनि फर्जी प्रतिवेदन बनाई भुक्तानी लिएको ठहर गर्दै उनलाई भ्रष्टाचार निवारण ऐन २०५९ वम्मोजिम सजाय र बिगो समेत जफतको माग गर्दै रायविरुद्ध आरोपपत्र दायर गरिएको छ ।