काठमाडौं । आजदेखि नयाँ आर्थिक वर्ष २०८०/८१ सुरु भएको छ । आर्थिक वर्षको सुरुवातसँगै नयाँ बजेट कार्यान्वयनमा आउने भएकाले बजेटमार्फत ल्याइएका नयाँ सार्वजनिक नीति पनि लागू हुन्छन् ।
सरकारले लिएको नीति र निर्धारण गरेका करका नयाँ दरले समग्र अर्थतन्त्रमा प्रभाव पार्ने भएकाले पनि नयाँ आर्थिक वर्षको सुरुवातले विशेष अर्थ राख्छ ।
चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले आयकरको सीमा बढाएको छ । आयकर ऐन २०५८ मा सरकारले गरेको संशोधित व्यवस्था अनुसार आज साउन १ गतेदेखि वाषिर्क ५० लाख रुपैयाँभन्दा बढी कमाउनेलाई ३९ प्रतिशत आयकर लाग्ने छ । यसअघि वाषिर्क २० लाख रुपैयाँभन्दा माथि कमाउनेहरूलाई ३६ प्रतिशत आयकर लाग्ने गरेको थियो ।
सरकारले पहिलो पटक सुरु गरेको विलासिता कर पनि आजैदेखि कार्यान्वयनमा आएको छ । सरकारले पाँचतारे वा सोभन्दा माथिका होटेल, रेस्टुरेन्ट तथा रिसोर्टहरुले प्रदान गर्ने सेवामा २ प्रतिशत विलासिता कर लगाएको छ । साथै सरकारले १० लाखभन्दा बढीको बहुमूल्य धातुमा पनि २ प्रतिशतकै दरले विलासिता शुल्क लगाएको छ ।
सरकारले आयातित मदिरा र १० लाख रुपैयाँभन्दा बढी मूल्यका हिरा, मोती, पत्थर जडित सुन वा बहुमूल्य धातुका गहनामा समेत सोही दरमा कर लागु हुने बजेटमा उल्लेख छ ।
यस्तो कर होटल तथा रिसोर्टले सेवा प्रदान गरेको बेला नै असुल गर्नुपर्ने भएको छ । आयातित मदिराको भन्सार विन्दुमै पैठारीका बेला असुली हुनेछ भने १० लाखभन्दा बढीका धातुका गहना बिक्रेताले असुल गर्नुपर्ने छ ।
यस्तै, ट्राभल एजेन्सीहरूले बिक्री गर्ने वैदेशिक भ्रमण प्याकेजमा पाँच प्रतिशत पर्यटन शुल्क पनि आजदेखि कार्यान्वयनमा आएको छ ।
भन्सार महसुल, अन्तःशुल्क, मूल्य अभिवृद्धि कर, सडक निर्माण दस्तुर र मोबाइल फोनको दर्तासम्बन्धी व्यवस्था जेठ १५ कै रातिदेखि कार्यान्वयनमा आएको छ । साथै थप सार्वजनिक सेयर निष्कासन एफपीओमा करसम्बन्धी व्यवस्था र सुजीको कारोबारमा कर छुटसम्बन्धी व्यवस्था पनि कार्यान्वयनमा आइसकेको छ ।