काठमाडौं । दक्षिण एशियामा क्यान्सरका कूल बिरामीमध्ये २० प्रतिशतमा मुखको क्यान्सर हुने गरेको पाइएको छ ।
कान्तिपुर डेन्टल कलेज र नेसनल इन्टिच्यूट अफ क्रेनियोफेसियल सर्जरीले शुक्रबार आयोजना गरेको मुखको क्यान्सर सम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठीमा दक्षिण एसियामा कूल क्यान्सरका बिरामीमध्ये २० प्रतिशतमा मुखको क्यान्सर पाइएको बताइएको हो ।
कार्यक्रममा नेसनल इन्टिच्यूट अफ क्रेनियोफेसियल सर्जरीका कार्यकारी निर्देशक एवं क्रेनियोफेसियल सर्जन डा. सुमित सिंहले सूर्तीजन्य पदार्थको जथाभावी प्रयोगले मुखको क्यान्सरका बिरामी बढेका बताए । ‘चुरोट, बिँडी, हुक्का, तम्बाकु, गुड्खा, पान लगायतका सूर्तीजन्य पदार्थ सेवनका कारण मुखको क्यान्सरका बिरामी बढ्दै गएका छन् । नेपालमा हिमाल र पहाडको तुलनामा तराईमा मुखको क्यान्सरका बिरामीको संख्या धेरै रहेको पाइएको छ,’ उनले भने ।
वार्षिक २ प्रतिशत बिरामीको मुखको क्यान्सरका कारण मृत्यु हुने गरेको पाइएको समेत उनले जानकारी दिए ।
कार्यक्रममा नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. सतीश देवले काउन्सिलले क्यान्सर पीडित बिरामीको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको र त्यस कार्यमा यस्ता अन्तर्राष्ट्रिय गोष्ठीमा व्यक्त तथ्य र तथ्यांकले थप रणनीति बनाएर काम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. बुद्धिमान श्रेष्ठले देशभरका दन्त चिकित्सकलाई मुखको क्यान्सर सम्बन्धी तालिम दिन जरूरी रहेको उल्लेख गरे । पछिल्लो समय बढ्दै गएको मुखको क्यान्सर सम्बन्धी समस्याबारे जानकारी दिन कान्तिपुर डेन्टल कलेजले विभिन्न निकायसँगको सहकार्यमा काम गरिरहेको समेत बताए ।
१ दिने अन्तर्राष्ट्रिय गोष्ठीमा नेपाल, भारत र बंगलादेशका १०० भन्दा बढी डाक्टरको सहभागिता थियो । मुखको क्यान्सर पत्ता लगाउन हाल नेपालमा वायस्पी प्रविधिको प्रयोग हुँदै आएको छ । आगामी दिनमा लेजर प्रविधि र भेलोस्कोप प्रविधि समेत प्रयोगमा ल्याउने विषयमा पनि छलफल भएको थियो ।