काठमाडौं । सशस्त्र प्रहरीले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) देखि सहायक हवल्दारसम्म बढुवाको सूचना सार्वजनिक गरेको छ ।
सूचनाअनुसार सशस्त्रको साधारण समूह, साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक, उपरीक्षक, नायव उपरीक्षक, निरीक्षक, वरिष्ठ नायव निरीक्षक, नायव निरीक्षक, सहायक निरीक्षक, वरिष्ठ हवल्दार, हवल्दार र सहायक हवल्दार पदमा बढुवाका लागि एकै पटक सूचना प्रकाशन गरिएको हो ।
प्राविधिक समूह सञ्चार तथा इन्जिनियरिङतर्फ प्राविधिक सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सहायक हवल्दार पदमा बढुवाको लागि सूचना प्रकाशन गरिएको छ ।
आइतबार लेखा उप–समूहतर्फ ५ जना र कानुन उप–उपसमूहतर्फ १ जनाको सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा बढुवा सिफारिससमेत गरिएको छ ।
आइतबार १ सय ९८ जना हवल्दारलाई वरिष्ठ हवल्दार पदमा बढुवा सिफारिस गरिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले बताए । बढुवा प्रक्रियासँगै २०६४ सालमा भर्ना भएका सिसम–७ का निरीक्षकको अघिल्लो बढुवामा छुटेको टोली सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा बढुवा हुनेछन् ।
२०६० सालमा भर्ना भएको सशस्त्र प्रहरी निरीक्षकको ठुलो टोली नायव उपरीक्षकमा रहेकोमा सो टोलीसमेत सशस्त्र प्रहरी उपरीक्षक पदमा बढुवा हुनेछन् । ३१ सय भन्दा बढीको पदस्थापन, २० जनाको विशेष बढुवा, करिब १० हजारको सरुवा, ४ सय ७८ जनाको समायोजन सरुवा र विभिन्न दर्जामा १ सय ११ जना नयाँ भर्ना गरिएको छ।
खाली पदमा बढुवा गर्दै जाने सङ्गठनको नीति तथा प्रधानमन्त्री, गृहमन्त्री, गृह मन्त्रालयका कर्मचारी, अर्थमन्त्री र सो मन्त्रालयका कर्मचारीसमेत सकारात्मक भएका कारण एकै पटक ठुलो सङ्ख्यामा बढुवाका लागि प्रक्रिया सुरु भएको हो ।
अहिले बढुवा नभएको भए यी दर्जाहरूमा अझै ७/८ वर्ष बढुवा नहुने अवस्था सिर्जना भएको थियो । तर सूचना प्रकाशितसँगै लामो समयसम्म बढुवा नहुने समस्या हट्ने भएको छ । यो सूचना प्रकाशित भएसँगै विगत १७ वर्षदेखि रोकिएको बढुवा प्रक्रिया पनि सुरु भएको छ ।