काठमाडौं । “दोलखाको इतिहास नलेखिकन नेपालको इतिहास लेखन पुरा हुँदैन” भन्ने इतिहास शिरोमणि स्व. श्री बाबुराम आचार्यको कथन रहेको छ ।
बागमती प्रदेशमा पर्ने १३ वटा जिल्लामध्ये दोलखा प्राचीनकालदेखि नै आफ्नो छुट्टै आर्थिक, सामाजिक, धार्मिक र राजनैतिक पहिचान कायम राख्दै आएको छ । दोलखाको नामाकरणमा जे जस्ता किम्बदन्ती रहे तापनि यसलाई ज्यादै पुरानो नगरको रुपमा चिन्न सकिन्छ ।
सदरमुकाम चरिकोटबाट ४ किमी उत्तरपूर्वमा रहेको ऐतिहासिक सहर दोलखामा अवस्थित भीमेश्वर मन्दिर नेपालकै प्रसिद्ध देवस्थल हो । यसको स्थापना किरातकालमा नै भएको अनुमान छ ।
देशमा संकट आउनुपूर्व भीमेश्वरको मूर्तिमा संकेतको रूपमा पसिना आउने गर्दछ । यसैगरी सदरमुकाम चरिकोटबाट करिब १५ कि.मी. उत्तरमा पदयात्राको दृष्टिकोणले रमणीय स्थल कालिञ्चोक गाविसमा अवस्थित कालिञ्चोक भगवती मन्दिर काभ्रेको पलानञ्चोक भगवती, काठमाडौँको शोभा भगवती र अन्य भगवती समेत ७ भगवती दिदी बहिनी हुन् भन्ने किम्बदन्ती रहेको छ । कालिन्चोक डाँडाँबाट मनोरम रोलवालिङ हिम शृङ्खला र मनोरम प्राकृतिक दृष्यहरूको अवलोकन गर्न सकिन्छ ।
शैलुङ्गेश्वर महादेव सदरमुकाम चरिकोटबाट करिव २० कि.मी. दक्षिणमा शैलुङ्गेश्वर डाँडामा अवस्थित यो स्थान ३५०० मी.को उचाईमा रहेको छ । साना ठूला गरेर १०० वटा थुम्काहरू रहेकोले शैलुङ्ग भनिएको यस स्थानबाट प्राकृतिक दृष्यावलोकन गर्न सकिन्छ । यसैगरी दोलखामा रहेको टसी गुम्बा महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल मान्न सकिन्छ । ओराङ र लामाबगर गाविसको सीमानामा रहेको देउलाङ्गेश्वर महादेवको मन्दिर उत्तरी क्षेत्रको प्रसिद्ध तिर्थ स्थल हो ।
पदयात्राका लागि अति नै रमणीय एवं रोमाञ्चकारी स्थलको रूपमा रहेको रोलवालिङ्ग उपत्यकामा साहसिक पैदल यात्राका लागि विदेशी पर्यटकहरू आकर्षित हुने गर्दछन् । गौरीशंकर गाविस वडा नं. १ रोलवालिङ्ग उपत्यकामा रहेको च्छोरोल्पा हिमताल नेपालकै सवभन्दा ठूलो हिमताल हो ।
यही जिल्लामा रहेको गौरीशंकर हिमालबाट नेपालको प्रामाणिक समय निर्धारण गरिएको छ । हिन्दू धर्मावलम्बीहरूको अराध्यादेव शिव र पार्वतीको प्रतिक मानिने गौरीशंकर हिमाल धार्मिक आस्थाका कारणले आरोहण गर्न प्रतिवन्ध छ । यी र यस्तै धार्मीक र पर्टकीय क्षेत्र दोलखामा धेरै नै रहेका छन् ।
यसमध्यको एक हो, दोलखाको दक्षिणी भेगमा अवस्थित मेलुङ गाउँपालिका । याे गाउँपालिका धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पर्यटकीय हिसाबले पनि एक महत्वपूर्ण स्थानकाे रुपमा परिचित छ ।
प्राकृतिक सौन्दर्यताले भरिपूर्ण यस गाउँपालिका प्राकृतिक सम्पदाले सम्पन्न मात्र नभएर विभिन्न जातजाति, धार्मिक एकताको धरोहरका रुपमा समेत परिचित छ । यस मेलुङ गाउँपालिकाको नाम ऐतिहासिक मेलुङ बजारको नामबाट रहन गएको हो । यहाँबाट धार्मिक तथा प्राकृतिक सौन्दर्यको संगमस्थलः शैलुङडाँडा करिब ५ घण्टाको पदमार्ग पार गरेपछि पुग्न सकिनुका साथै नजिकै रहेको जलविधुुत् विकास नमुनाको रुपमा निर्मित खिम्ती जलविधुुत् आयोजनाको समेत सजिलै अवलोकन गर्न सकिन्छ । यो गाउँपालिकालाई सातवटा वडाहरुमा विभाजन गरिएको छ ।
यस गाउँपालिकाको अध्यक्षको जिम्मेवारी नेकपा एमालेका तर्फबाट निर्वाचित हिरा कुमार तमाङले सम्हालेका छन् भने उपाध्यक्षको जिम्मेवारी गायत्री आचार्यले सम्हालेकी छिन् । यो गाउँपालिकाले विशेष गरेर कृषि, उद्योग तथा वाणिज्य, पर्यटन, सहकारी तथा वित्तीय क्षेत्र, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, संस्कृति प्रवद्र्धन, खेलकुद तथा मनोरञ्जन, लैङ्गिक समानता तथा सामाजिक समावेशिकरण, पूर्वाधार विकास, विपद् व्यवस्थापन लगायतलाई प्राथमिकतामा राखेर काम गर्दै आएको छ । आज हामीले यसै गाउँपालिकाको उपाध्यक्ष आचार्यसँग गाउँपालिकाले गर्दै आएको गतिविधिका बारेमा केन्द्रीत रहेर कुराकानी गरेका छौँ ।
गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेबाट निर्वाचित उपाध्यक्ष आचार्यको बाल्यकाल सहज र सरल रुपमा बित्यो । उनको उमेर समुहका साथी दिदी बहिनीहरुलाई छोरी भएकै कारण विद्यालय जान सहज थिएन र गाउँघरमा हिंड्डुल गर्न पनि । तर उनको बुवा शिक्षक हुनुको साथै पण्डित भएकाले छोरीलाई शिक्षा दिनुपर्छ भन्ने चेतनाको कारण पनि आचार्यलाई विद्यालय जान सहज भयो । त्यो समयमा छोरा र छोरी प्रति धेरै विभेद् रहेको थियो । छोरीलाई स्वतन्त्र भन्ने कुरा थिएन तर अरुको तुलनामा उनलाई स्वतन्त्र नै मिलेको थियो । छोरीलाई हेर्ने दृष्टिकोण उनलाई सानै देखि मन पर्दैन थियो, त्यही भएर होला उनले सानै उमेरदेखि छोराछोरी समान हुन भन्ने सचेतना फैलाउने लक्ष्य लिएकी थिइन् । उनी स्मरण गर्छिन्, त्यही बेला देखि सामाजिक काम गर्ने उत्प्रेरना जाग्यो ।
उनले २० बर्ष सामुदायिक बन उपभोक्ता महासंघमा काम गरिन् । महासंघमा आवद्ध हुँदा-हुँदै उनले पत्रकारिता पेशालाई पनि रोजिन् । समाजमा केही परिवर्तन ल्याउनका लागि राज्यको तेस्रो अङ्ग पत्रकारिताको पनि ठूलो योगदान हुन सक्छ भनेर उनले यो पेशालाई अंगाल्न पुगिन । उनले रेडियो र छापा पत्रकारिताको माध्यमबाट समाजमा परिवर्तन ल्याउन र अन्यायमा परेकालाई न्याय दिलाउन लागि परिन् । यो शिल–शिला चलिरहँदा उनीमा जनप्रतिनिधि भएर काम गर्ने चाहना बढ्यो । सोही अनुरुप उनले समाज परिबर्तनको अर्को पाटो राजनीतिलाई प्राथमिकतामा राखेर अगाडी बढिन् । स्थानीय तहको निर्वाचनमा उनले उपाध्यक्ष पदमा उम्मेदवारी दिइन् र उनलाई जनताले विश्वास गरेर भारी मतले विजयी पनि गराए । अहिले उनी गाउँपालिकाको विकासका लागि सक्रिय भएर काम गरिरहेकी छिन् ।
मेलुङ्ग गाउँपालिका तुलनात्मक रुपमा विकासका दृष्टिकोणले पछाडि थियो । अहिले सबै वडामा १२ महिना सवारी साधन चल्न थालेका छन् भने शैक्षिक गुणस्तरमा समेत सुधार हुँदै गएको छ । गाउँपालिका उपाध्यक्ष आचार्य भन्छिन्, महिलाको जिवनस्तर सुधारका लागि कृषी र पशुमा नयाँ ढंगबाट हामीले कार्यक्रम गरिरहेका छौँ । स्वास्थ्यमा सुत्केरी महिलाको लागि ५ हजार सहयोग गरेका छौं, कमजोर आर्थिक अवस्था भएकाहरुका लागी उपचारमा सहयोग गरेका छौं,मृतकलाई पोस्टमार्टम गर्नु परेमा यातायातको ब्यबस्थापन गरेका छौं ।
गाउँपालिका उपाध्यक्ष आचार्यका अनुुुसार गाउँपालिकाले आवश्यकता अनुसार प्राथमिकताको आधारमा विकास निर्माणलाई अगाडि बढाउँदै आएको छ ।
उनी भन्छिन्, नागरिकका अपेक्षा माथी हुने स्रोत असाध्यै न्यून हुने जसले गर्दा अपेक्षा पूरा नहुने अवस्था सिर्जना हुने गरेको छ । ग्रामिण तहका नागरिक भन्दा पनि बाठाटाठाले व्यक्तिगत फाइदाका लागि विभिन्न माग राखेर आउने गरेका छन् । तर उनीहरुको माग पूरा नभएपछि राजनैतिक विषय बनाएर काम नगरेको साबित गर्न पनि कुनै कसुर राखेका छैनन् ।
काम गर्ने शिल-शिलामा धेरै चुनौतीको सामना उपाध्यक्ष आचार्यले समाना गर्दै आएकी छिन् । गाउँपालिकाले गरेको राम्रो कामको प्रचार कसैले नगर्ने साना कमजोरी भेटियो भने नेता कार्यकर्ता लागेर नकारात्मक प्रचार गर्ने प्रवृत्तिले उनलाई निक्कै ठेस पुग्ने गरेको छ ।गाउँपालिकाले शिक्षामा सुधारका लागि विषयगत शिक्षकलाई नयाँ शिक्षण विधि अनुसार तालिम, नियमित अनुगमन, विद्यार्थीसँग जनप्रतिनिधि कार्यक्रम, अभिभावकसँग अन्तरक्रिया, प्र.अहरुसँग मासिक बैठक, विभिन्न विद्यालयमा आवश्यकता समस्याबारे जानकारी लिने र प्राथमिकता अनुसार समाधानको प्रयासका लागि पहल गर्दै आएको छ ।
गाउँपालिकाले आफ्नो क्षेत्रका स्थानीयलाई प्रभावकारी स्वास्थ्य सेवा प्रवाह गर्नका लागि विभिन्न सेवाहरु उपलब्ध गराउँदै आएको छ । गाउँपालिकाले टिटि खोप निशुल्क, सब–बाहन निशुल्क, बर्थिङ सेन्टरमा नभएपछि रिफर गर्द निशुल्क गाडीको व्यवस्था, स्वास्थ्य संस्था पुग्न एक घण्टा बढी लाग्ने स्थानमा सामुदायिक स्वास्थ्य इकाइबाट सेवा, सुत्केरी महिलाको लागि पोषण खर्च बापत ५ हजारको व्यवस्था लगायत थुप्रै कार्यहरु गर्दै आएको छ ।
गाउँपालिका उपाध्यक्ष आचार्यका अनुसार गाउँपालिकाले महिला र युवा लक्षित गरेर कृषि र पशुमा साना व्यवसाय सुरु गर्दै आएको छ । उनी भन्छिन्, कुनै वडामा आलु, कुनैमा सुन्तला, कुनैमा माछा, कुनैमा पशुपालन गरेर काम सुरु गरेका छौँ । गाउँपालिकाले ७ वटै वडाहरुको माटो परिक्षण कार्य पूरा गरेको छ ।
माटोको रिपोर्ट अम्लियपन धेरै भएको आएकाले समाधानका लागि कृषि चुन वितरणको कार्यक्रम ल्याउने योजना गाउँपालिकाले बनाएको छ । गाउँपालिकाबाट नियमित प्रदान हुँदै आएको सेवा भने छिटो–छरितो र सहज रुपमा दिदैँ आएको उपाध्यक्ष आचार्यले बताइन् ।
न्यायिक समितिको क्षेत्राधिकार भित्र पर्ने सम्पूर्ण कामहरु गाउँपालिकाले गर्दै आएको छ । कतिपय अवस्थामा स्थानीय सरकार भएका कारण मुद्दा दर्ता नभएको बेला पनि विवाद समाधानका लागि गाउँपालिकाले सम्बन्धित स्थानमै पुगेर सेवा दिएको उपाध्यक्ष आचार्यले बताइन् । स्थानीय तहको व्यवहारबाट समग्र प्रशासकीय प्रणालीको मूल्याङ्कन गर्न सकिन्छ । जनप्रतिनिधिबाट कर्मचारीको कामको कदर हुनुपर्छ । कर्मचारीहरूले उत्प्रेरणालाई गन्तव्यको सहयोगी साधन हो भन्ने सम्झनु पर्दछ ।
अनुशासन, आत्मविश्वास र सकारात्मक सोचले पद्धति र व्यक्ति दुवैलाई फाइदा हुन्छ । नियम, कानुन, नीति र मापदण्ड पालनामा उत्तिकै ध्यान दिनु आवश्यक हुन्छ । दबाब र प्रभाव भन्दा शुद्धता र तटस्थतामा ध्यान पुर्याएमा पद्धति विकसित हुनलाई सहयोग पुग्छ ।
जनप्रतिनिधि र कर्मचारीहरू दुवै पक्षले सुशासन, सेवा प्रवाह र विकासमा जिम्मेवारी अनुसार भूमिका निर्वाह गरी एउटै उद्देश्य प्राप्तिमा काम गर्नुपर्दछ ।
मेलुङ्ग गाउँपालिकामा भने कर्मचारी र जनप्रतिनिधिबीचको समन्वय राम्रो देखिएको छ । गाउँपालिका उपाध्यक्ष आचार्य भन्छिन्, जनप्रतिनिधि र कर्मचारीको सम्बन्ध प्रगाढ बनाउनका लागि मासिक स्टाफ बैठक राख्छौँ, जहाँ केही बुझाईमा फरक भयो भने एक आपसमा छलफल गरेर समाधान खोज्छौँ, सबैले आफ्नो टिओआर भित्र रहेर काम गर्ने बानिको विकास गर्ने प्रयास गरेका छौँ ।
कर्मचारीहरूले आफ्नो अधिकार, जिम्मेवारी र कर्तव्यको पालना गरी जनप्रतिनिधिहरूलाई पूर्ण सहयोग गर्नु पर्दछ । यसरी जनप्रतिनिधिहरू र कर्मचारीहरूले अधिकार, जिम्मेवारी, दायित्व र कर्तव्य पालना गर्दा आ-आफ्नो सीमा भित्र रहेर सेवाप्रवाहलाई चुस्त, दुरुस्त र प्रभावकारी सेवा प्रवाह गर्नु दायित्व पनि हो ।