सोलुुखुम्बु । सफा हिमाल अभियान टोलीले सगरमाथा सहितका हिमालबाट १ हजार ९०० किलोभन्दा बढी फोहोर संकलन गरेको छ ।
नेपाली सेनाको टोलीले आईतबारसम्ममा १ हजार ९४३ किलो फोहोर संकलन गरेको हो ।
संकलित फोहोर कुहिने र नकुहिने दुवै किसिमका छन् । सफा हिमाल अभियान जारी रहेको सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले जानकारी दिए । उनले भने, ‘फोहोर संकलनको काम भइरहेको छ, अहिले नेपाली सेनाले आधार शिविरमै बसेर संकलन गरिरहेको छ, जल्ने खालको एकैचोटि नाम्चेमा ल्याएर नष्ट गर्ने र नजल्ने काठमाडौं लैजाने योजना छ ।’
हिमालमा मानवीय गतिविधिले फोहोर थुप्रिरहेकाले हिमालको स्वच्छता कायम गर्नमा अभियान सफल हुने उनको विश्वास छ । सगरमाथा राष्ट्रिय निकुञ्ज, सगरमाथा प्रदूषण नियन्त्रण समिति, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, स्थानीय निकाय तथा बुद्धिजीवी, विभिन्न संघसंस्थाका प्रमुख/प्रतिनिधिहरूको समन्वयमा सफा हिमाल अभियान टोलीले काम गरिरहेको छ ।
‘एन इन्डेभर टू सेभ द हिमालयज’ भन्ने मूल आशयका साथ सञ्चालित अभियानअन्तर्गत सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमालका विभिन्न क्याम्पबाट करीब १० टन फोहोर र ५ वटा मानव शव संकलन गर्ने लक्ष्य लिइएको छ । गत चैत २९ गतेदेखि सुरु भएको अभियान आगामी जेठ २३ गते विश्व वातावरण दिवसको दिन सकिने प्रधान सेनापति प्रभुराम शर्माले बताए ।