तनहुँ । जिल्लाको व्यास नगरपालिकाका चार वडा जोड्ने सडक स्तरोन्नतिका लागि सम्झौता भएको छ ।
नगरपालिकाले निर्माण व्यवसायीसँग पराशरमार्ग स्तरोन्नतिका लागि सम्झौता गरेको हो । विश्व बैंकको ऋण सहयोगमा सहरी शासकीय तथा पूर्वाधार विकास आयोजनाअन्तर्गत व्यास नगरपालिका–७, ९, १० र ११ जोड्ने सो मार्ग कालोपत्रका निम्ति सम्झौता गरी काम अगाडि बढाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिए ।
सो सडकले बुल्दीखोला, बेल्टारी, फराकचौर, अधेरीभञ्ज्याङ, पोख्रेलफाँट, कुमालगाउँ, समता स्कुल, कलेस्तीलगायत स्थान जोड्छ । दश दशमलगव ५५ किलोमिटर सो सडकखण्डमा कालोपत्र, नाला तथा अन्य संरचना निर्माण गरिने छ ।
सडक स्तरोन्नतिका लागि रु ४० करोड ८३ लाख ३५ हजार नौ सय २१ मा निर्माण कम्पनी बिकेएचटिडिसिएल एसिपिएलसँग सम्झौता भएको छ ।
संरचना हटाउन आनाकानी
दमौली बजार क्षेत्रका घरटहरा हटाउन सम्बन्धित पक्षले आनाकानी गर्दा मुग्लिन–पोखरा सडक विस्तारमा समस्या भएको छ । धुलोले बजार क्षेत्रमा हिँडडुल गर्न समस्या भएको छ ।
आँबुखैरेनीदेखि जामुने (पूर्वी खण्ड) सम्मको विस्तारमा व्यास नगरपालिकाअन्तर्गत वडा नं २, ३ र ४ को पूर्वमा बुल्दीखोला र पश्चिममा मादी पुलसम्मको खण्डमा निर्माणले गति लिनसकेको छैन ।
वडा नं ४ का २१ र वडा नं २ का १९ घरधनीले मुआब्जा लिएर संरचना नहटाएका व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताए । उनले भने, “कतिपय मुआब्जाका लागि आवेदन गर्न आएका छैनन् ।”