काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले चालू आर्थिक वर्ष २०८०/८१ मा नेपालले ३ दशमलव ५४ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान सार्वजनिक गरेको छ ।
चालू आवको बजेटमार्फत सरकारले ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेकोमा लक्ष्यको आधा बराबर मात्रै वृद्धिदर हासिल हुने अनुमान तथ्यांक कार्यालयले सार्वजनिक गरेको हो ।
तथ्यांक कार्यालयले आज आव २०८०/८१ को वार्षिक राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्दै यस्तो अनुमान सार्वजनिक गरेको हो ।
‘चालू आव २०८०/८१ मा आर्थिक वृद्धिदर आधारभूत मूल्यमा ३ दशमलव ५४ प्रतिशत र उपभोक्ता मूल्यमा ३ दशमलव ८७ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ,’ कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘चालू आव २०८०/८१ मा उपभोक्ता मूल्यमा आधारित मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब ४ अर्ब पुग्ने अनुमान छ ।’
गत आव २०७९/८० मा नेपालको अर्थतन्त्रको आकार ५३ खर्ब ४८ अर्ब बराबर रहेको पनि तथ्यांक कार्यालयले जनाएको छ ।
तथ्यांक कार्यालयले चालू आवमा कृषि क्षेत्रको वृद्धिदर प्रक्ष्येपण ३ दशमलव ०५ र गैरकृषि क्षेत्रको वृद्धि ३ दशमलव ७५ प्रतिशत रहने अनुमान गरेको छ । प्राथमिक क्षेत्र ३ प्रतिशत, द्वितीय क्षेत्र १ दशमलव २ प्रतिशत र सेवा क्षेत्र ४ दशमलव ५ प्रतिशत रहेको छ ।
चालू आवमा प्रतिव्यक्ति कूल गार्हस्थ्य उत्पादन अमेरिकी डलर १ हजार ४३४ हुने प्रारम्भिक अनुमान गरिएको छ भने प्रतिव्यक्ति कूल राष्ट्रिय आय अमेरिकी डलर १ हजार ४४५ रहने अनुमान गरिएको छ । चालू आवमा विभिन्न क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर हेर्दा स्वास्थ्य तथा सामाजिक कार्यतर्फ ५ दशमलव ५२, शिक्षातर्फ २ दशमलव ७१, सार्वजनिक प्रशासन तथा रक्षातर्फ ४ दशमलव ४९, प्रशासनिक तथा सहयोगी सेवातर्फ ४ दशमलव ०४, पेशागत वैज्ञानिक तथा प्राविधिक क्रियाकलापतर्फ ४ दशमलव १५ प्रतिशतको वृद्धिदर अनुमान गरिएको छ ।
त्यसैगरी, घरजग्गा कारोबारतर्फ २ दशमलव ९८, वित्तीय तथा बीमा क्षेत्रतर्फ ७ दशमलव ८०, सूचना तथा सञ्चारतर्फ ४ दशमलव ९१ प्रतिशत, आवास तथा भोजन सेवातर्फ ८१ दशमलव ८४ प्रतिशत र यातायात तथा भण्डारण सेवातर्फ ११ दशमलव ८९ प्रतिशतको वृद्धि अनुमान गरिएको छ ।
थोक, खुद्रा व्यापार, गाडी तथा मोटरसाइकल मर्मत सेवातर्फ ० दशमलव १६, पानी आपूर्ति, ढल व्यवस्थापन लगायत क्षेत्रमा २ दशमलव ८०, विद्युत् ग्यास तथा वातानुकूलित आपूर्ति सेवातर्फ १७ दशमलव ४४, खानी तथा उत्खननतर्फ २ दशमलव ३१, कृषि, वन तथा मत्स्यतर्फ ३ दशमलव ०५ प्रतिशत वृद्धि रहने अनुमान गरिएको छ ।
चालू आवमा उद्योग र निर्माण क्षेत्रको मूल्य अभिवृद्धिदर ऋणात्मक रहने अनुमान गरिएको छ । उद्योग क्षेत्र १ दशमलव ६० र निर्माण क्षेत्र २ दशमलव ०७ ले ऋणात्मक रहने कार्यालयले जनाएको छ । राष्ट्रिय लेखा अनुमान गर्न संयुक्त राष्ट्रसंघ, युरोपियन युनियन, विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, आर्थिक विकास तथा सहयोगका लागि संगठनजस्ता अन्तर्राष्ट्रिय संस्थाद्वारा संयुक्त रूपमा विकास गरेको राष्ट्रिय तथ्यांक कार्यालयले राष्ट्रिय लेखा तथ्यांक अनुमान गरी प्रकाशन गर्दछ ।