झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जनताको चाहनाअनुरूप आर्थिक समृद्धि हासिल गर्न ३ तहको सरकार मिलेर अघि बढ्नुपर्नेे बताएका छन् ।
काँकडभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको २८औं साधारण सभाको मंगलबार उद्घाटन गर्दै उनले विकास निर्माणको कार्यमा संघीय, प्रदेश र स्थानीय सरकारबीच तालमेल हुनुपर्नेमा जोड दिए ।
मुलुकमा विकास नभएको भनेर व्यवस्थाविरुद्ध नकारात्मक भ्रम छर्ने प्रयास भइरहेको जनाउँदै उनले जनप्रतिनिधिहरूले त्यसलाई चिर्दै राजनीतिक आस्थाको आधारमा कसैप्रति विभेद गर्न नहुने बताए ।
‘म महामन्त्रीको रूपमा कांग्रेस हुँ तर सांसदको रूपमा सबै पार्टीमा आस्था राख्नेको साझा प्रतिनिधि हुँ,’ आफैंलाई उदाहरण दिँदै उनले भने, ‘जनप्रतिनिधि भएर काम गर्दा राजनीतिक आस्थाको कुरा हेर्दिनँ । को कुन पार्टीको हो भनेर विभेद कहिल्यै गरेको छैन ।’
जनताले आम चुनावमार्फत सिंहदरबारको ढोका ढक्ढक्याउन पठाएको उल्लेख गर्दै उनले जनताका समस्याको समाधान र विकास निर्माणका कार्यका लागि आफूले सदन र सरकारलाई निरन्तर सचेत गराइरहेको बताए । उनले काँकडभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको आसन्न निर्वाचनमा भोटिङ मशिनको प्रयोग गर्न सुझाव दिए ।
‘प्रविधिप्रति अविश्वास गर्नु हुँदैन, भोटिङ मशिन प्रयोग गर्दा आम उपभोक्ताको सल्लाह र सहमति लिनुहोस्,’ उनको भनाइ थियो ।
कार्यक्रममा मेचीनगर नगरपालिकाका पूर्व नगर प्रमुखद्वय रवीन कोइराला र विमल आचार्यलाई यस क्षेत्रको सामाजिक तथा राजनीतिक विकासमा पुर्याएको योगदानका लािग सम्मान गरिएको थियो । उनीहरूलाई संघीय सांसद विश्वप्रकाश शर्माले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए ।
पूर्व नगर प्रमुखद्वय कोइराला र आचार्यले काँकडभिट्टा खानेपानीको स्थापना र विस्तारमा ठूलो योगदान पुर्याएको संस्थाका अध्यक्ष राजकुमार पराजुलीले बताए ।