काठमाडौं । धनगढी उपमहानगरपालिकाले समायोजन मिलान भएका स्वास्थ्यकर्मीलाई हाजिर गर्न नदिएपछि आन्दोलित भएका छन् ।
उपमहानगरबाट अन्याय भएको भन्दै स्वास्थ्यकर्मीहरू आन्दोलित बनेका हुन । उनीहरूले सोमबार देखि उपमहानगरभित्रै धर्ना कार्यक्रम सुरु गरेका छन् । नयाँ आर्थिक वर्ष सुरु भएसँगै उपमहानगरले ३३ जना स्वास्थ्यकर्मीलाई हाजिर नहुन भन्दै पत्र पठाएको थियो ।
धनगढीमा समायोजनमा कार्यरत स्वास्थ्यका कर्मचारीले आफूहरूमाथि अन्याय भएको भन्दै सरोकारवाला निकायलाई यश अघि ध्यानाकर्षण पत्र पनि बुझाएका थिए ।
धनगढी उपमहानगरपालिकाले समायोजनमा कार्यरत कर्मचारीलाई साउन १ गतेदेखि विकल्प नदिई हाजिर गर्न नदिने भएपछि उनीहरूले ध्यानाकर्षण पत्र बुझाएका थिए । शुक्रवार मुख्यमन्त्री कमलबहादुर शाह, धनगढी उपमहानगर, जिल्ला प्रशासन लगायतका कार्यालयमा पत्र बुझाएका हुन ।
कर्मचारीहरू स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय कर्मचारी समायोजन मिलान सम्बन्धी मापदण्ड, २०७७ र स्वास्थ्य सेवाका कर्मचारी समायोजन मिलान सम्बन्धी व्यवस्था २०७७ बमोजिम दोहोरो सहमतिका आधारमा २०७७ र २०७८ सालको विभिन्न मितिमा समायोजन मिलानको अनुसार हाजिर भई हालसम्म उप महानगरपालिकामा नेपाल सरकारले निर्दिष्ट गरेका नियमित स्वास्थ्यका कार्यक्रमहरू र स्थानीय सरकारले तय गरेका नीति तथा कार्यक्रम अनुसार काम गरिरहेको बताएका छन् ।
समायोजनमा कामकाज गर्ने गरी खटाएका कर्मचारीहरूलाई २०८० साउन १ देखि काज फिर्ता गर्ने निर्णयले अन्याय भएको कर्मचारीहरूको भनाई छ । स्पष्ट उल्लेख भएको कुरालाई तोड मोड गरी समायोजन मिलान भएका कर्मचारीहरूलाई पनि फिर्ता गराउने तथा हतोत्साहित गराई अधैर्यताका साथ कर्मचारीहरूलाई सोच्ने समय समेत नदिइएको उनीहरूले बताई रहेका छन् ।
साउन महिनाको पहिलो हप्ताभित्र कार्य सम्पादन मूल्याङ्कन फाराम भर्ने अवसरबाट समेत वञ्चित गराउने मनसायबाट कार्यालयले दौडाहा टोली खटाइ कर्मचारीको हाजिरी रजिस्टरमा रातो मसिले धर्का तान्ने कार्य गरेको आन्दोलनरत कर्मचारीको आरोप छ । उनीहरूले आफ्नो माग सुनुवाइ नहुन्जेल धर्ना जारी राख्ने बताएका छन् ।