काठमाडौं । बंगलादेशको मौसम ब्युरोले बुधबार अप्रिल रेकर्डमा सबैभन्दा तातो महिना रहेको बताएको छ ।
दक्षिण एसियाली यो मुलुक र धेरै क्षेत्रले अझै पनि निस्सासिँदो गर्मीको सामना गरिरहेका छन् ।
जलवायु परिवर्तनका कारण गर्मीको लहर लामो, थप बारम्बार र थप तीव्र हुँदै गएको बृहत् वैज्ञानिक अनुसन्धानबाट पत्ता लागेको छ । अप्रिलमा प्रचण्ड गर्मीका कारण बंगलादेश सरकारले मुलुकभर विद्यालय बन्द गर्नुपर्यो । यसबाट करीब ३ करोड २० लाख विद्यार्थी घरमै रहे ।
‘यो वर्ष लुले देशका करीब ८० प्रतिशत भागलाई समेटेको छ, हामीले यसअघि कहिले पनि यति तीव्र र व्यापक लु देखेका थिएनौं,’ बंगलादेश मौसम विज्ञान विभागका वरिष्ठ पूर्वानुमानकर्ता मुहम्मद अबु कलाम मल्लिकले भने, ‘सन् १९४८ मा मुुलुकमा तातो दिन र क्षेत्र समेट्ने मामिलाको रेकर्ड सुरु भएपछि गत अप्रिल महिना बंगलादेशमा सबैभन्दा गर्मी महिना थियो ।’
उनका अनुसार बंगलादेश वरपरका मौसम केन्द्रहरूले सन् २०१० सम्मको ३० वर्षको अवधिमा अप्रिलको औसत दैनिक तापक्रम ३३ दशमलव २ डिग्री सेल्सियसको तुलनामा यस वर्षको अप्रिलमा २ देखि ८ डिग्रीको बीचमा अधिक तातो रहेको रेकर्ड गरेका छन् ।
स्वास्थ्य विभागका प्रवक्ता सेलिम रेहानले सरकारले पछिल्लो १० दिनमा अत्यधिक गर्मीका कारण कम्तीमा ११ जनाको मृत्यु भएको पुष्टि गरेको बताए । १ हप्ताको भीषण गर्मीपछि बिहीबार बंगलादेशमा वर्षाले केही राहत ल्याउने अपेक्षा गरिएको छ । ढाकामा धेरै दिनसम्म ४० डिग्री सेल्सियसभन्दा धेरै रेकर्ड गरिएको छ ।
मल्लिकले अप्रिलमा सामान्य प्रि–मनसुन मेघगर्जनसहित वर्षा नहुँदा गर्मीको तीव्रता अझ बढेको बताए । ‘बंगलादेशमा अप्रिलमा औसत १३० दशमलव २ मिलिमिटर वर्षा हुन्छ तर यस वर्षको अप्रिलमा औसत १ मिलिमिटर मात्र वर्षा भयो,’ उनले भने ।
बंगलादेशमा आईतबारसम्म विद्यालय बन्द हुनेछन् । सरकारले गत हप्ताको अन्त्यमा कक्षाहरू पुनः सञ्चालन गर्न आदेश दिएको थियो तर बंगलादेशको एक शीर्ष अदालतले गर्मीको लहरमा धेरै शिक्षकको मृत्यु भएको रिपोर्टलाई ध्यानमा राख्दै सोमबार फेरि विद्यालय बन्द गर्न निर्देशन दियो ।