काठमाडौं । सांसद उपेन्द्र यादवले बजेटमा सकारात्मक र नकारात्मक दुवै पक्ष रहेको बताए ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलका क्रममा उनले त्यस्तो बताए ।
'बजेटमा केही सकारात्मक, केही नकारात्मक र केही विभेदकारी विषय राखिएका छन्', उनले भने, 'सङ्घीयताको प्रभावकारी कार्यान्वयन गरी आन्तरिक उत्पादन वृद्धि गर्ने भनिएको छ ।'
उत्पादनमूलक उद्योगको सबलीकरण, कृषि तथा पर्यटन क्षेत्रको प्रवर्द्धन गर्ने र सन् २०२६ सम्ममा अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने भन्ने विषय सकारात्मक भएको उनको भनाइ छ । तर बजेट निर्माण गर्दा सन्तुलित र समावेशी विकासको अवधारणालाई अवलम्बन गर्न नसकेको उनले दाबी गरे ।
'बजेट निर्माणको प्रक्रिया नै गलत छ । जनताले सांसद वा मन्त्रीले बजेट बनाउँछन् भन्ने सोच्छन् होला । तर बजेट बनाउने कर्मचारी, घुसपैठिया र बिचौलियाले रहेछन्', सांसद यादवले भने ।


























