काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले गरीबी निवारणमा विशेष जोड दिनुपर्ने बताएका छन् ।
भूमि अधिकार तथा श्रमिक संगठन नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको ‘महिला सशक्तीकरण सांस्कृतिक तथा व्यापार महोत्सव’को उद्घाटन गर्दै उनले सरकारले जनताको आवास र आम्दानीको स्थितिलाई सुदृढ र सुनिश्चित गर्दै गरीबी निवारणमा जोड दिनुपर्ने बताए ।
उनले हरेक मानिसले हावाहुरी, हिउँद, बादल र गर्मीजस्ता समस्याबाट बच्नका लागि सुरक्षित आभाव र आधुनिक सुविधा हुनुपर्ने बताए । अहिले पनि जनताले पौष्टिक र सन्तुलित आहार, सर्वसुलभ गुणस्तरीय शिक्षा, सहज र गुणस्तरीय उपचारजस्ता आधारभूत आवश्यकताका लागि लड्नुपरेको भन्दै यी आधारभूत आवश्यकता पूरा गर्नसक्ने गरी आम्दानी वृद्धि हुनुपर्ने उनको भनाइ थियो ।
‘म पहिलोपटक प्रधानमन्त्री हुँदा नेपालजस्तो देशमा अब भोकले कोही पनि नमरून भनेर अभियान सुरू गरेको थिए । मलाई हटाइएपछि त्यो अभियान रोकियो । अर्को पल्ट प्रधानमन्त्री हुँदा फेरि त्यसलाई अगाडि बढाएँ,’ उनले भने, ‘त्यसकारण देश र जनताले भोगेका समस्याप्रति जिम्मेवार हुन सबैलाई आग्रह गर्दछु ।’
पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले सुकुम्बासीका बस्ती बनाउने अभियान सञ्चालन गरेर उपत्यकाका सुकुम्बासीलाई व्यवस्थापन गर्नुपर्ने बताए । उनले भने, ‘सुकुम्बासीको समस्या समाधान गर्नुपर्दछ । तीनै तहका सरकारले नागरिकको गास, बास, खान पाउने अधिकारप्रति उत्तरदायी हुनुपर्दछ ।’
उनले पार्टी जनताको काम गर्न उद्देश्यसहित आफ्नो पार्टी सरकारमा गएकाले जनताको पक्षमा काम गर्ने प्रयास अगाडि बढाइरहेको बताए ।
संगठनका अध्यक्ष शान्ता चौधरीले सरकारले सुकुम्बासी समस्या समाधान गर्नुपर्नेमा जोड दिइन् ।