महेन्द्रनगर । नेपाली सेनाले कञ्चनपुरका तीन विद्यालयमा सोमबार राष्ट्रिय सेवा दल (एनसिसी) तालिम सुरु गरेको छ ।
यहाँस्थित नेपाली सेनाको श्रीदल गुल्म भगतपुर ब्यारेकका अनुसार महेन्द्रनगरस्थित इन्टरनेसनल पब्लिक स्कुल, शुक्लाफाँटा नगरपालिका-१० स्थित श्रीकृष्ण मावि र बेलौरी नगरपालिकाको उग्रतारा बाल विद्यालयमा जुनियर राष्ट्रिय सेवा दल तालिम प्रदान गरिएको हो ।
तीनवटै विद्यालयमा माध्यमिक तहका १८/१८ छात्र/छात्रा छनोट गरी तालिम दिन थालिएको छ । नेपाली सेनाले मुलुकभर चालु आर्थिक वर्षमा सात हजार सात सय विद्यार्थीलाई एकसाथ उक्त तालिम प्रदान गर्न लागेको सेनाले जनाएको छ ।
श्रीदल गुल्मका गुल्मपति सेनानी पृथबहादुर श्रेष्ठले युवामा अनुशासित, बफादारिता तथा इमान्दारिताका साथै राष्ट्रिय एकताको भावना विकास गर्न दशकौंँदेखि सेनाले तालिम सञ्चालन गर्दै आएको जानकारी दिए ।
'युवामा व्यक्तित्व विकास तथा क्षमता अभिवृद्धि गरी असल नागरिक बनाएर राष्ट्र विकासमा सहयोग पुगोस भन्ने उद्देश्यले तालिम दिन थालेका हौं', उनले भने, 'राष्ट्रिय सेवा दलको आफ्नै इतिहास र महत्त्व छ ।”
तालिमकाे उद्घाटन गुल्मपति सेनानी श्रेष्ठ र सहायक गुल्मपति सह-सेनानी मनोज जिसीले गरेका थिए ।
तीन महिनासम्म सञ्चालन हुने जुनियर तालिमपश्चात् प्रशिक्षार्थीलाई बाँकेको कोहलपुरस्थित कौशिलानगरमा थप २१ दिन तालिम प्रदान गरिनेछ ।
कञ्चनपुरमा सिनियरतर्फ यहाँका दुई विद्यालयमा आगामी भदौ पहिलो सातादेखि तालिम सञ्चालन हुने सेनाले जनाएको छ ।