धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत लिनका लागि शुक्रबार बोलाइएको प्रदेशसभा बैठक शनिबार बस्ने गरी स्थगित भएको छ ।
शुक्रबार अपराह्न ५ बजे बस्ने भनिएको सुदूरपश्चिम प्रदेशसभा बैठक सभामुखको निर्देशानुसार शनिबार अपराह्न ५ः३० बजे बस्ने गरी स्थगित भएको प्रदेशसभा सचिलयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए ।
प्रदेश सभाको शुक्रबार आह्वान भएको बैठकमा मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने कार्यसूची थियो । यसअघि शुक्रबारै बिहान बस्ने तय भएको प्रदेशसभा कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बस्न सकेन ।
सत्ता साझेदार नेकपा एमालेले आफूहरूको तयारी नपुगेको र थप छलफल गर्नुपर्ने भनेपछि बैठक स्थगित भएको नेकपा एकीकृत समाजवादी संसदीय दलका उपनेता प्रकाश रावलले बताए । ‘सत्ता साझेदार दल सबैबाट मुख्यमन्त्रीले विश्वासको मत पाउनेमा विश्वस्त छौं,’ उनले भने, ‘मुख्यमन्त्रीले विश्वासको मत लिन आह्वान भएको बैठकमा प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिवाद गर्ने कुरा उसको धर्म हो ।’
सोडारीलाई असंवैधानिक ढंगले मुख्यमन्त्रीमा नियुक्त गरिएको जिकिर गर्दै कांग्रेसले मुख्यमन्त्रीले विश्वासको मत लिन खोजे अवरोध सिर्जना गर्ने निर्णय गरेको छ ।
मुख्यमन्त्रीले विश्वासको मत लिन प्रदेशसभा बैठक आह्वान भएपछि प्रदेश सभामा प्रतिनिधित्व गर्ने नागरिक उन्मुक्ति पार्टी (नाउपा) संसदीय दलका प्रमुख सचेतक खुशीराम डगौराले मुख्यमन्त्रीले लिने विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन (ह्वीप) जारी गरेका छन् ।
सोडारी नेतृत्वको सरकारमा नाउपाका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी पक्षधर २ प्रदेशसभा सदस्य मन्त्री छन् । नाउपा अध्यक्ष रञ्जिता अहिलेकै सत्ता गठबन्धनलाई सहयोग गर्नुपर्ने पक्षमा र संस्थापन संरक्षक रेशमलाल चौधरी नेपाली कांग्रेस सहितको गठबन्धनको पक्षमा छन् ।
नाउपामा देखिएको आन्तरिक विवादकै कारण संस्थापक संरक्षक पक्षधर ५ सदस्यको तर्फबाट प्रमुख सचेत डगौराले विपक्षमा मत दिन ह्वीप लगाएका छन् । नाउपाको आन्तरिक विवाद थप चर्किने देखिएको छ ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीका २ सदस्य, स्वतन्त्र सदस्य डा. तारा जोशीको समर्थनमा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता सोडारी वैशाख ६ गते सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
५३ सदस्यीय प्रदेश सभामा ठूलो दल नेपाली कांग्रेसका १८, नेकपा माओवादी केन्द्रका सभामुखबाहेक १०, नेकपा एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादी पार्टीका ४, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १ र स्वतन्त्र १ सदस्य छन् ।