काभ्रेपलाञ्चोक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय तहमा मनलाग्दी कर्मचारी नियुक्ति नगर्न निर्देशन दिएका छन् ।
उनले आयोगको हेटौंडास्थित कार्यालयद्वारा काभ्रेपलाञ्चोकको धुलिखेलमा शुक्रबार आयोजित ‘भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन’ विषयक अन्तरक्रिया कार्यक्रममा अनावश्यक पद सिर्जना गरी कर्मचारी नराख्न तथा राखिएका विभिन्न प्रकारका सल्लाहकार कर्मचारी हटाउन आग्रह गरे ।
सचिव दङ्गालले स्थानीयस्तरमा उपभोक्ता समितिबाट भएका वा हुनसक्ने अनियमित क्रियाकलाप रोक्न समेत स्थानीय तहका जनप्रतिनिधिहरूलाई अनुरोध गरे । उनले भने, ‘अनावश्यक पद सिर्जना गरी कर्मचारी राख्नु पनि अख्तियार दुरुपयोग नै हो, यसैले अनावश्यक पद सिर्जना गरी कर्मचारी नराख्न तथा विभिन्न प्रकारका सल्लाहकार कर्मचारी राखिएका भए पनि हटाउनुस् ।’
उनले अख्तियारमा उजुरी पर्दैमा नआत्तिन आग्रह गर्दै नीति र नियमभित्र रहेर गरिरहेका काम नरोक्न आग्रह गरेका छन् ।
सचिव सचिव दङ्गालले हरेका क्रियाकलापमा सरकार भएको अनुभूति दिलाउने गरी सेवा प्रवाहमा ध्यान दिन अनुरोध गर्दै उजुरीको संख्या दिनानुदिन बढिरहेको भए पनि त्यसको गाम्भीर्यता र पुस्ट्याइँ हुने आधार कमजोर भएकाले कतिपय अवस्थामा उजुरी गर्नु नपर्ने वातावरण सिर्जना गर्न जनप्रतिनिधि र कर्मचारीलाई आग्रह गरेका छन् ।
कार्यक्रममा आयोगको हेटौंडास्थित कार्यालयका प्रमुख सहसचिव उमाकान्त आचार्यले अघिल्लो आर्थिक वर्ष र चालु वर्षका उजुरी, फछ्र्याैट तथा प्रकारका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा जिल्लाका स्थानीय तहका प्रमुख–उपप्रमुख, अध्यक्ष–उपाध्यक्ष तथा जिल्लास्थित सरकारी कार्यालयका प्रमुख, प्रमुख प्रशासकीय अधिकृतहरूको उपस्थिति रहेको थियो ।