कैलाली । धनगढी–खुटिया–बीपीनगर–दिपायल द्रुतमार्गअन्तर्गत धनगढी–स्याउले सडक कालोपत्र गर्ने काम सम्पन्न भएको छ ।
योजना कार्यालयका इन्जिनीयर दिनेश रैखोलाका अनुसार सडकखण्डअन्तर्गत १० किलोमिटर सडक कालोपत्र गर्ने काम सम्पन्न भएको हो ।
गत आर्थिक वर्षमा बजेट अभावका कारण सडक कालोपत्रको काम अघि बढ्न सकेको थिएन । सडक निर्माणका लागि चालू आर्थिक वर्ष २०८०/८१ मा संघीय सरकारले २५ करोड बजेट विनियोजन गरेपछि सडक कालोपत्र गर्ने काम सुरु भएको थियो ।
धनगढी–स्याउले सडकखण्ड अन्तर्गतको १० किलोमिटर कालोपत्रको काम सम्पन्न भइसकेको र स्याउले–हाटखोलीसम्म ३.४ किलोमिटरमा कालोपत्रको काम धमाधम भइरहेको उनले बताए ।
धनगढी–स्याउले सडकखण्ड १३ दशमलव ४ र दिपायलको तिखा–मेल्लेख सडकखण्डको १५ किलोमिटर सडक कालोपत्रका लागि २०७८ वैशाखमा सम्झौता भएको इन्जिनीयर रैखोलाले बताए । उनका अनुसार ४ खण्डमा सडक निर्माणको काम हुँदैछ ।
डोटीको दिपायल तिखा–मेल्लेख सडकखण्डको १५ किलोमिटर सडक कालोपत्रको काम पनि धमाधम भइरहेको छ । धनगढी–स्याउले सडकखण्डमा खड्का–कृष्ण–नारायण–बगलामुखी जेभीसँग २०७८ सालमा पीपल चौतारादेखि स्याउले महेन्द्र राजमार्गभन्दा ३ किलोमिटर अगाडि १३.४ किलोमिटरमा कालोपत्र गर्न १६ करोड ४० लाखमा ठेक्का भएको इन्जिनीयर रैखोलाले बताए ।
दीपायल खण्डमा आश्रय–प्रशंसा–दुनिला जेभीले सडकको काम गरिरहेको छ । विक्रम संवत् २०७८ सालमा ठेक्का सम्झौता गरिएको भए पनि बजेट अभावका कारण सडक निर्माणको काम अघि बढ्न सकेको थिएन । विक्रम संवत् २०६४ सालमा खुटिया–दिपायल द्रुतमार्गको औपचारिक रूपमा सर्भे गरी ‘ट्रयाक’ खोल्ने काम गरिएको थियो । त्यसबेला खुटियादेखि दिपायलसम्म ८२ किलोमिटर सडक सर्भे भएकोमा पछि पूर्वपश्चिम राजमार्गको स्याउले–धनगढीसम्मको १० किलोमिटर सडक पनि थपेर ९२ किलोमिटरमा काम भइरहेको आयोजना कार्यालयका इन्जिनीयर रैखोलाले जानकारी दिए ।
धनगढी–खुटिया–दिपायल–चैनपुर–उरैभञ्ज्याङ ‘फास्ट ट्रयाक’ छोटो दूरी लगायत अन्य दृष्टिकोणले महत्त्वपूर्ण मानिएको सडक निर्माणका लागि सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा निर्माण कार्यले गति लिन आयोजना कार्यालयले जनाएको छ । सो सडक धनगढी–खुटिया–डोटीको बीपीनगर, जोरायल, केआई सिंह गाउँपालिका हुँदै दिपायलसँग जोडिनेछ । सो सडकखण्डअन्तर्गत दिपायलसम्म ट्रयाक खोल्ने काम पूरा भएर स्तरोन्नतिको काम मात्र बाँकी रहेको छ ।