काठमाडौं । भारतका विदेशमन्त्री एस. जयशंकरले भारत विदेशीलाई घृणा गर्ने मुलुक (जेनोफोबिक) नभएको बताएका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले आप्रवासीहरूलाई अस्वीकार गरेकाले भारत र सहयोगी मुलुक जापानले आर्थिक रूपमा संघर्ष गरिरहेको टिप्पणी गरेपछि विदेशमन्त्रीको भनाइ आएको हो ।
आगामी नोभेम्बरमा रिपब्लिकन प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पविरुद्ध पुनः निर्वाचनमा होमिएका बाइडेनले यसै साता वासिङ्टनमा अभियान कोष संकलन कार्यक्रममा टिप्पणी गरेका थिए ।
विदेशमन्त्री जयशंकरले शुक्रबार एक मिडिया गोलमेचमा बाइडेनको टिप्पणीहरू भारतको वास्तविकतासँग मेल नखाने बताए । ‘सबैभन्दा पहिला हाम्रो अर्थतन्त्र कमजोर छैन,’ इकोनमिक्स टाईम्स अखबारद्वारा शनिबार प्रकाशित छलफलको रिपोर्टअनुसार उनले भने, ‘भारत धेरै अद्वितीय मुलुक हो, म वास्तवमा भन्न चाहन्छु, विश्वको इतिहासमा यो खुला समाज हो, विभिन्न समाजका विभिन्न मानिस भारतमा आउँछन् ।’
फेब्रुअरीमा आधिकारिक आँकडाअनुसार डिसेम्बरको त्रैमासिकमा ८ दशमलव ४ प्रतिशत वार्षिक कूल गार्हस्थ्य उत्पादन (जीडीपी) सहित भारत विश्वको सबैभन्दा द्रुत वृद्धि भएको अर्थतन्त्रमध्ये एक हो ।
भारतको नागरिकता कानूनमा हालै लागू गरिएको सुधारसहित प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारमाथि आलोचकहरूले मुसलमानहरूविरुद्ध भेदभाव गरेको आरोप लगाएका छन् । सन् २०१९ मा संसद्ले पहिलोपटक पारित गरेपछि अन्ततः मार्च लागू भएको संशोधित कानूनले ठूलो विरोध निम्त्यायो । एम्नेस्टी इन्टरनेसनलले उक्त कानून अझै पनि केही मुस्लिमलाई नागरिकताबाट वञ्चित गर्न राष्ट्रिय नागरिक दर्ताका साथ उपकरणका रूपमा प्रयोग हुने खतरा रहेको चेतावनी दिएको छ ।
‘यस्ता मानिस छन्, जसले सार्वजनिक रूपमा यस मुलुकमा १० लाख मुसलमानले आफ्नो नागरिकता गुमाउने छन् भनेर रेकर्डमा भनेका छन्,’ विदेशमन्त्री जयशंकरले भने, ‘उनीहरूलाई जिम्मेवार किन ठहर गरिँदैन ? किनकि कसैले पनि नागरिकता गुमाएको छैन ।’
अमेरिकी अध्यागमन नीतिको रक्षाका रूपमा गरिएको टिप्पणीमा बाइडेनले सहयोगी भारत र जापानलाई प्रतिद्वन्द्वी चीन र रुससँग जोडेका थिए । ‘चीन आर्थिक रूपमा यति नराम्रोसँग किन ठप्प छ ? जापान किन चिन्तामा छ ? रुस किन समस्यामा छ र भारत ? किनकि उनीहरू जेनोफोबिक हुन्, उनीहरू आप्रवासीलाई चाहँदैनन्,’ कोष संकलन कार्यक्रममा उनले भनेका थिए ।
टोक्योले शनिबार प्रतिक्रिया दिँदै जापानको नीतिको सही बुझाइमा आधारित नभएको टिप्पणी गर्नु दुर्भाग्यपूर्ण भएको बताएको छ ।
सन् २०२१ मा पदभार सम्हालेदेखि बाइडेनले एसियामा अमेरिकी सहयोगीहरू विशेषगरी भारत र जापानसँगको सम्बन्धलाई बलियो बनाएका छन् । उनले भारतीय प्रधानमन्त्री मोदी र जापानी प्रधानमन्त्री फुमियो किशिदा दुवैका लागि ह्वाइट हाउसमा राजकीय रात्रिभोजको आयोजना गरेका छन् ।
त्यसपछि ह्वाइट हाउसले बाइडेनको टिप्पणीलाई अस्वीकार गर्नुपर्यो । राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले पत्रकारहरूसँग भने, ‘राष्ट्रपतिले अमेरिका आप्रवासीहरूको देश हो भनेर फराकिलो सन्देश दिन मात्र खोजिरहनुभएको थियो ।’