सर्लाही । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेशका जनताप्रतिको सम्मान र उनीहरूको आर्थिक एवं सामाजिक विकासका निम्ति आफू प्रतिबद्ध रहेको बताएका छन् ।
नेकपा माओवादी केन्द्र सर्लाहीको निर्वाचन क्षेत्र ४ ले बलरामा शनिबार आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले पछिल्लो समय मधेशी जनतामा जागरण पैदा भएकाले यहाँका जनताले मुक्तिको पक्षमा उभिने विश्वास व्यक्त गरे ।
मिटरब्याज पीडितका समस्या समाधान गर्न र नागरिकताविहीन जनताको मागलाई सम्बोधन गर्न आफू नेतृत्वको सरकारले प्राथमिकताका साथ काम गरेको स्पष्ट पार्दै उनले आगामी दिनमा पनि मधेशको मुद्दालाई आफूले गम्भीरतापूर्वक लिएर सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
आगामी आवको नीति तथा कार्यक्रम एवं बजेटमा मधेश प्रदेशलाई पहिलो प्राथमिकतामा राख्ने उल्लेख गर्दै उनले मधेशका जनताको पक्षमा निरन्तर प्रतिबद्ध भएर लाग्ने विश्वास दिलाए ।
तराईमा सिँचाइ र विद्युतीकरणका कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेर काम अगाडि बढाएको उल्लेख गर्दै उनले भने, ‘मधेशको जमिन सिँचाइमा नहुँदासम्म उत्पादकत्व बढ्दैन, जनताले रोजगारी पाउँदैन र समृद्धि पनि हासिल हुँदैन, त्यसैले मधेशमा सिँचाइ गर्ने मेरो प्राथमिकता छ ।’
मधेशका जनताको मुक्तिका लागि यहाँका जनताले ठूलो त्याग गरेको उल्लेख गर्दै उनले जनताका मुक्तिका लागि संघर्ष गर्ने सम्पूर्ण सहिदप्रति सम्मान व्यक्त गरे ।
उनले बलरा र सर्लाहीका जनताको मागलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘आगलागी पीडितलाई राहत उपलब्ध हुन्छ,’ उनले भने ।
देशभर आगलागीबाट ठूलो क्षति भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले आगजनीबाट भएको क्षतिप्रति दुःख व्यक्त गरे ।
उनले आगलागीबाट प्रभावित जनतालाई तत्कालका लागि ५० हजार प्रतिपरिवार राहत उपलब्ध गराउने मन्त्रिपरिषद्ले निर्णय गरेको जानकारी गराए । प्रधानमन्त्री दाहालले आगलागीबाट भएको क्षतिको अवस्था हेरेर थप राहत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।
उनले विभिन्न राजनीतिक पार्टीहरू नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत लगायत पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका सयौं नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गरे । यसअघि उनले सर्लाही जिल्लाको गडहिया–डुमरिया नगरपालिका बलरा–८ स्थित जनता नमूना माविको नवनिर्मित भवनको उद्घाटन गरेका थिए ।