काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्षमा भ्रष्टाचारको मुद्दामा ७६० जनालाई प्रतिवादी बनाएको छ ।
अख्तियारले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै आर्थिक वर्ष २०७९/०८०मा ७६० जनालाई प्रतिवादी बनाइएको जनाएकाे हाे ।
१६२ वटा मुद्दामा ७६० जनालाई प्रतिवादी बनाइएकाे हाे ।
अख्तियारका अनुसार एक जना विशिष्ट श्रेणीका राष्ट्रसेवक कर्मचारी छन् । अन्य ३५५ जना राष्ट्रसेवक कर्मचारी, १७८ जना बिचौलिया एवं मतियार र २६६ जना निर्वाचित/मनोनित पदाधिकारीहरू छन् ।
४४२ जना प्रतिवादीले गैरकानुनी लाभहानी लिएको, ४६ जनाले घुस लिएको, १५० जनाले सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्याएको र २९ जनाले गैरकानुनी सम्पत्ति आर्जन गरेका प्रतिवादीहरू रहेकाे आयाेगले जनाएकाे छ ।
त्यस्तै, आठ जना नक्कली शैक्षिक प्रमाण-पत्र, ४६ जना राजस्व हिनामिना र विविध कसुरका ३९ प्रतिवादीविरुद्ध मुद्दा दायर भएको छ ।
अख्तियारका अनुसार उनीहरूको मुद्दा विशेष अदालतमा दायर गरी जम्मा एक अर्ब ७७ करोड ५८ लाख ४६ हजार ४३७ रुपैयाँ मागदाबी गरिएको छ ।
अख्तियारले सञ्चालन गर्दै आएकाे स्टिङ अपरेसनमा ४० जना राष्ट्रसेवक कर्मचारी, ६ जना बिचौलिया र ८ जना निर्वाचित पदाधिकारीहरू पक्राउ परेका छन् ।
यस्तै, आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०७९/८० मा उजुरी र फर्छ्यौटको संख्या बढेको अख्तियारले जनाएको छ ।
आव ७८/८९ मा भ्रष्टाचारका २४ हजार ३३१ उजुरी परेकोमा १७ हजार १६९ मुद्दा फर्छ्यौट भएका थिए ।
गत वर्ष भने २७ हजार ५३० उजुरीमा १८ हजार २४५ उजुरी फर्छ्यौट भएका थिए ।