पूरानो शैक्षिक संस्था हो, भिएस निकेतन (विनायक सुधा निकेतन), जुन ४२ वर्षमा हिँडिरहेको छ । २०३८ सालमा स्थापना भएको निकेतनले २०६५ सालमा ‘बेस्ट स्कुल अफ दि नेसन’को पुरस्कार पनि जितेको थियो । काठमाडौंको मीनभवन नयाँ बानेश्वरमा रहेको निकेतनमा अहिले धमाधम कक्षा ११ को लागि विज्ञान तथा व्यवस्थापन संकायअन्तर्गतका विभिन्न विषयमा भर्ना भइरहेको छ । साथै यस शैक्षिक संस्थामा स्नातक तहमा (बिबिए) र स्नातकोत्तर तहमा (एमबिए) संकायमा अध्ययन अध्यापन हुने गरेको छ । रञ्जितकुमार पण्डित यसै स्कुलका सह-प्रध्यानाध्यापक (भाइस प्रिन्सिपल) हुन् । पछिल्लो ७ वर्षदेखि सह-प्रध्यानाध्यापकको भूमिका निर्वाह गरिरहेका पण्डित गुणस्तरीय शिक्षा उत्पादनमा लागिरहेका छन् । उनै पण्डितसँग व्यवस्था डटकमका लागि सुरज पराजुलीले गरेको कुराकानीको सम्पादित अंश:
अहिले कक्षा ११ को भर्ना सुरु भएको छ, कत्तिको चाप छ र यहाँ दिने शिक्षाको अवस्थाको बारेमा पनि बताइदिनुहुन्छ कि ?
नेपालको पूरानो विद्यालय भएको नाताले विद्यार्थी दर त नबढ्ने कुरै भएन । फेरि भिएस निकेतनमा आफ्ना बच्चा बढाउन पाइयोस् भन्ने अभिभावकहरू पनि हुनुहुन्छ । त्यसो हुनु भनेको हाम्रो संस्थाप्रतिको विश्वास पनि हो । हाल व्यवस्थापन संकायअन्तर्गतका विभिन्न विषयमा भर्ना भइरहेको छ । साथै यस शैक्षिक संस्थामा स्नातक तहमा बिबिए र स्नातकोत्तर तहमा एमबिए संकायमा पनि अध्ययन अध्यापन भइरहेको छ । र, हामीले विद्यार्थीलाई किताबका साथै विभिन्न किसिमका अतिरिक्त क्रियाकलापमा सहभागी गराउने गरेका छौं । साथै विद्यार्थीका रुचिलाई ध्यानमा राखेर खेलकुद, प्रविधि, संस्कृति, साहित्य, कलालगायतका विद्याबाट सर्वांग व्यक्तित्व विकासमा टेवा पुर्याउन र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने विद्यार्थी उत्पादन गर्ने जोडमा छौं । समग्र शैक्षिक प्रणाली, अवस्था तथा विद्यार्थीसँग सम्बन्धित रहेका गतिविधिसँग नजिक छौं । र, यो भर्नाको समय भएकोले उहाँहरूलाई भर्नाको लागि उत्प्रेरित पनि गरिरहेका छौं ।
बर्सेनि लाखौंको संख्यामा एसइई पास हुन्छन् । ती विद्यार्थीहरूले आफूले पढ्न चाएको अथवा रुचिको विषयलाई कसरी छान्ने ?
एसइईपछि पढ्ने विषय छान्नका लागि सबैभन्दा पहिला आफैंलाई सोध्ने हो । आफ्नो रुचिको विषय बुझ्ने र परिवारलाई बुझाउने हो । विद्यार्थीले आफैंले आफैंलाई नसोध्ने प्रचलन पनि छ । उनीहरूले अरूलाई सोध्ने गर्छन् । त्यस्तो बेलामा विद्यार्थीलाई चाहिने दृष्टिकोणको हावी हुन सक्छ । अझ अभिभावकले त मेरो सन्तानले यस्तो पढिदिए हुन्थ्यो भन्ने दबाब सिर्जना गर्नु हुन्छ । शिक्षकहरूले पनि स्कोपको आधारमा यो पढेर काम छैन, यो पढ्दा राम्रो हुन्छ भनिदिनुहुन्छ । यस्तो बेला विद्यार्थी निकै दुविधामा पर्न पुग्छन् । त्यसो हुँदा पहिला विद्यार्थीले आफैंलाई सोध्नुपर्छ । म कुन विषयमा कत्तिको जान्दछु, मेरो रुचि केमा छ भनेर विचार गर्नुपर्छ । हामी विद्यार्थीलाई यो कुरामा प्रष्ट हुन मदत गर्छौं । उहाँहरूले स्वतन्त्र रूपमा छनोट गर्न सक्नुहुन्छ ।
अहिले पनि कतिपय ठाँउमा घोकन्ते विद्याको नै अभ्यास चलाइरहेका छन्, होइन ?
त्यो साँचो कुरा हो । हामी जतिसुकै व्यावहारिक ज्ञान वा सीपमूलक शिक्षा हुनुपर्छ भने पनि कक्षामा पसेपछि त्यही वातावरण छ । म स्वयं पढाउन जाँदा विद्यार्थीउन्मुख अध्यापन हुनुपर्छ भन्ने मजाले बुझेको हुन्छु । तर कक्षामा पसेपछि के हुन्छ भने विद्यार्थीको संख्या अनि उनीहरूको अपेक्षाले गर्दा सम्भव हुँदैन । शिक्षकले यसरी पढाउँछु भन्दै गर्दा पनि त्यो खालको वातावरण छैन भने पढाउन सकिँदैन ।
त्यसैले गर्दा घोकन्ते विद्या नै छ । परीक्षामा लेख्नै पर्यो, लेखेन भने अंक दिने ठाँउ हुँदैन । परीक्षाको चलन त्यस्तै छ । त्यही भएर विद्यार्थीले नघोके अन्य माध्यमबाट अंक ल्याउने, करिअर बनाउने सम्भावना अझै नेपालमा त्यति देखिँदैन । तर त्यसको बीचबाट शिक्षक जानु पर्ने अवस्था छ । कमसेकम विद्यार्थीहरूले नघोकी आफैंले लेखेका कुराहरूलाई शिक्षकले पनि प्रोत्साहन गर्दै जाने र विद्यार्थीहरूले पनि बुझेर लेख्ने चलन बसाल्नु पर्छ ।
शैक्षिक प्रणाली कस्तो भइदिए हुन्थ्यो भन्ने लाग्छ ?
पहिलो कुरा सरकारी तहबाट निःशुल्क शिक्षाको जुन नीति बनाइएको छ, त्यसमा पैसाको कुरा आउनु भएन । प्राइभेट संस्थालाई पनि उनीहरूले राम्रोसँग नियमन गर्नुपर्छ । त्यसपछि शिक्षण तालिमको कुरा निकै महत्त्वपूर्ण छ । शिक्षकहरू तालिम प्राप्त छैनन् । सरकारी विद्यालयमा केही गर्ने कोसिस हुँदैछ, तर प्राइभेटमा छैन ।
प्रणालीगत रूपमा परिवर्तन ल्याउनका लागि पहिला शिक्षालाई पैसा या शुल्कसँग नदाँजेर बच्चाहरूलाई निःशुल्क पढ्ने वातावरण, अत्यधिक सुविधा, तालिमप्राप्त शिक्षक र त्यसको निगरानी तथा मूल्यांकन गर्ने निकाय चाहिन्छ, तर समय भने लाग्छ ।
पाठ्यक्रमबाहेकका पुस्तक पढ्न कत्तिको जरुरी छ ?
पाठ्यक्रमका पुस्तक मात्रले हुँदैन, त्योसँग सान्दर्भिक अन्य पुस्तक पनि पढ्न उति नै जरुरी छ । साहित्यका पुस्तक पढ्नु पनि उति नै जरुरी छ । साहित्य भएन भने भाषा बन्दैन । त्यसकारण भाषा विकासका लागि साहित्य आवश्यक छ । समग्र विकासका लागि विद्यार्थीलाई कथा, कविता, इतिहास आदिका पुस्तक पढ्न हामीले प्रोत्साहन गर्नैपर्छ । त्यही भएर हामी साहित्यिक क्लब, पुस्तकालयको राम्रो व्यवस्था गर्नमा पनि ध्यान दिइरहेका छौं ।
विद्यार्थीलाई यसप्रति आकर्षित गर्न शिक्षा कस्तो दिने भन्ने संरचना तयार गर्नुपर्छ । जस्तै: पढ्ने बानीको विकास गर्नुपर्याे । त्यसको लागि समय र स्थान पनि निर्धारण गर्नुपर्याे । यस्ता कुराको प्रतियोगिता राख्ने, सक्रिय रहन उचित वातावरण निर्माण गरिदिने लगायतका कुरामा ध्यान दिएर एकखालको माहाेल बनाउनुपर्छ । मुखले अन्य पुस्तक पनि पढ्नपर्छ भनेको भरका कसैले पढ्दैन ।
पढाइका दबाबका कारण पनि धेरै विद्यार्थीमा मानसिक समस्या देखिन्छ भन्ने रिपोर्ट पनि बाहिरिएका छन् । यसमा शैक्षिक संस्थाले कस्तो भूमिका खेल्नुपर्छ ?
यसको लागि बच्चाहरूले प्रेसरमा पढ्ने वातावरणमा सुधार गर्नुपर्छ । उनीहरूलाई विद्यालयमा पनि शिक्षकले पढाउने, घरबाट पनि मजाले पढेर या घोकेर आउनु भन्नु भएन । शिक्षकले पाठ्यक्रमको गहिरो अध्ययन गरी, योजना बनाएर त्यसमा विद्यार्थीलाई संलग्न गरी सजिलो र बुझ्ने गरी पढाउनुपर्छ । यसक्रममा विद्यार्थीको सहजता असहजता महसुस गर्न सक्नुपर्छ ।
शिक्षक र विद्यार्थीको सम्बन्ध कस्तो हुनुपर्छ, तपाईंले कस्तो देखिरहनु भएको छ ?
अहिलेको अवस्थामा शिक्षकले जागिर खाइरहेको, विद्यार्थी अरूका लागि पढ्न गइरहेका छन् । यो भत्किनुपर्छ । अन्य जागिरजस्तो शिक्षण पेशा होइन । शिक्षक र विद्यार्थी कक्षाकाेठाबाट बाहिर निस्कियो भने एकले अर्कालाई चिन्दैनन् । विद्यार्थीले यो मेरो गुरु हो, यसबाट मैले केही सिक्नुपर्छ, जीवनमा काम लाग्ने कुरा मैले गुरुबाट पाउँछु भनेर बुझ्न जरुरी छ । शिक्षकले पनि मसँग समय छैन, यसलाई सिकाउँदिन, सिकाएँ भने पैसा लिन्छु भन्ने मानसिकताबाट बाहिर आउनुपर्याे । शिक्षक र विद्यार्थीको सम्बन्ध सुमधुर हुनुपर्छ । त्यसको लागि शिक्षकले अलि ठूलो मन बनाउन जरुरी हुन्छ ।
पढाइ सकेर गएका युवाहरूमा जागिर या अवसर नपाएर निराशाबाट गुज्रिनु परेको छ । कतिपय त पलायन हुनु परेको छ, हो ?
अवसर नपाएको चाहिं म भन्दिनँ, पारिश्रमिक कम पाएको भन्न सकिन्छ । विद्यार्थीले आफ्नो क्षमताअनुसारको काम भने पाइरहेको म देख्छु । धरै विद्यार्थी बाहिर जाने र यहाँ भएका विद्यार्थीले बाहिरको पारिश्रमिकसँग तुलना गर्ने भएकाले थोरै पारिश्रमिकमा काम गर्ने रुचि नराखेको हो । बजारमा काम भने छ, तर कम पारिश्रमिकको कारण प्रोटेक्सन छैन । करिअर छैन । यहाँबाट पास भएर गएकामध्ये निकै कमले काम पाइनँ भन्ने गुनासो राख्ने गरेका छन् । यद्यपि काम पाइनँ भनेर आउनेलाई हामीले सहयोग पनि गर्ने गरेका छौं ।
तर नेपालमा पढ्नेहरूकै बालबालिका विदेश गइरहेका छन् । धेरै त पढ्ने बहानामा जाने गरेका छन् । तपाईंले पनि करिअर छैन भन्नु भयो, किन ?
यसको लागि प्लस टु पढेपछि स्नातक पढ्न प्रेसर कम हुनसक्यो भने विदेश जाने क्रम पनि कम हुन्छ । हामीले फेल ग्यारेण्टी गर्ने विद्यार्थी उत्पादन गरिरहेका छौं । बाहिरी देशको शैक्षिक संस्थामा पढेपछि जस्तोसुकै विद्यार्थी पनि पास हुन्छ । किनभने उसले असाइन्मेन्ट बुझाउँछ, दिएको समयमा कलेज जान्छ र ऊ पास हुन्छ । तर हाम्रोमा विद्यार्थी वर्षभरि कलेज जान्छ । कलेजले एउटा परीक्षा लिन्छ, त्यो परीक्षामा विद्यार्थीले लेख्न सक्दैन अनि फेल हुन्छ । फेल ग्यारेण्टी गर्ने कलेजमा विद्यार्थी बस्दैन । पास कसरी गर्न सकिन्छ भन्ने विचार गर्नुपर्छ । विद्यार्थीउन्मुख शिक्षण, असाइन्मेन्ट आदि कुरामा विचार गर्यो भने विद्यार्थी पास हुन्छ । फेल हुने कारणले गर्दा पनि विद्यार्थी बाहिर गइरहेका छन् । अर्को कुरा, विद्यार्थीले काम अनुसारको पारिश्रमिक पाउँदैनन् । काम पाइन्छ तर पारिश्रमिक कम हुन्छ । पारिश्रमिक कम हुँदा उसको आधारभूत आवश्यकता पनि पूरा हुँदैन, जसले गर्दा विद्यार्थी बाहिर जान रुचाउँछन् ।
यस्ता कुरामा ध्यान दिनसके विद्यार्थीलाई बाहिर जानबाट रोक्न सकिन्थ्यो । हामीसँग क्षमता भएका शैक्षिक संस्था छन् । असाइन्मेन्ट दिएर पनि विद्यार्थीहरूले धेरै कुरा सिकेजाने भन्ने कुरालाई विश्वास गर्ने चलन बसाउनु पर्छ । विश्वविद्यालयको स्तरमा भने गर्नुपर्ने काम धेरै छन् ।
गायन, नाटक, नृत्यलगायतका मनोरञ्जनात्मक तथा कलात्मक कुरामा शैक्षिक संस्थाको विशेष दिन मात्र ध्यान दिइन्छ नि ?
हाम्रोमा त्यस्तो हुँदैन । हामी ‘ट्यालेन्ट हन्ट’ कार्यक्रम आयोजना गरी प्रतिभाको खोजी गर्छौं । यसको लागि समय लाग्छ तर पनि बेलाबेला सांस्कृतिक कार्यक्रम आदि आयोजना गर्ने गरेका छौं । यस कुरामा विचार गरेर हामीले बीच-बीचमा विद्यार्थीहरूको क्षमता उजागर गर्ने गरेका छौं । यसमा उचित तरिकाले ध्यान दिनसके विद्यार्थीहरूका मनोरञ्जनात्मक तथा कलात्मक ज्ञानमा अझ विकास हुने थियो ।
काठमाडौं महानगरपालिकाले उठाएको १० प्रतिशत छात्रवृत्तिले निजी स्कुल तरंगित भए । तपाईंको बुझाइ चाहिं के छ ?
महानगरपालिकाले दिने छात्रवृत्तिका लागि हामी खुला छौं । पहिला पनि दिने गरेका थियौं । पहिला उहाँहरूले कलेजले स्वयम् वडाको प्रतिनिधि राखेर परीक्षा लिइ छात्रवृति दिने भन्नुभएको थियो । हामीले निष्पक्ष निर्णय गरेर विद्यार्थीलाई छात्रवृत्ति दियौं । अहिले त महानगर आफैंले परीक्षा लिएर विद्यार्थी पठाउने भन्नुभएको छ, पठाएका सम्पूर्ण विद्यार्थीलाई हामी निःशुल्क पढाउँछौं ।
अहिले काठमाडौं महानगरले सुरु गरेको ‘नो बुक फ्राइ डे’ले शैक्षिक प्रणालीमा के कस्तो असर पुगेको छ ?
यो हामीलाई निकै राम्रो लागेको छ । मेयर बालेनले सुरु गर्नु भएको ‘नो बुक फ्राइ डे’ प्रणाली निकै प्रभावकारी हुनेमा म ढुक्क छु । यसमा हामी प्राइभेट संस्थाले गर्नका लागि एक किसिमको संयन्त्र बनाइ सकेको छैन । हामी पनि त्यो मोडालिटीमा जानुपर्छ कि भन्ने सोचमै बसिरहेको भएर लागू भने गरिसकिएको छैन । हामीले विद्यार्थीहरूसँग बुझ्दा त्यसको उपयोगिता राम्रो होला भन्ने लागेको छ ।
निजी शैक्षिक सुधार गर्न राज्यले कस्ता पहलकदमी चालिदियोस् भन्ने लाग्छ ?
शिक्षाको क्षेत्रमा नेपालमा धेरै कुरा गर्न बाँकी छ । प्राइभेट संस्थाले राज्यलाई धेरै कुरामा सहयोग गर्ने गरेको छ । त्यसमध्ये एक शैक्षिक संस्था पनि हो । सरकारी तहबाट प्राइभेट संस्थाहरूको निगरानी गरिदिने, केही अनुदान दिएर शिक्षकहरूलाई तालिम दिने आदि गरेर एउटा अभिभावकको भूमिका निभाइदिने हो भने प्राइभेट शैक्षिक संस्थाको एकाधिकार चिर्न सजिलो हुने थियो । जे गर्दा पनि हुन्छ भन्ने मानसिकताबाट उहाँहरू बाहिर निस्कन नियमन गर्ने संस्था हुनुपर्छ जस्तो लाग्छ ।
यसमा राज्य नै जिम्मेवार भएर प्राइभेट शैक्षिक संस्थालाई एक तहमा चल्न दिने र आवश्यक सहयोग गर्ने गर्नुपर्छ । साथै सरकारी विद्यालयलाई पनि उचित ढंगले चलाउने हो भने नेपालमा शिक्षाको लागि धेरै प्रश्न उठाइरहनु पर्दैन होला । हाम्रो पाठ्यक्रम राम्रो छ, यसलाई कार्यान्वयन गर्ने कुरामा नै सबै चुकेको हो जस्तो लाग्छ मलाई ।