काठमाडौं । ललितपुर महानगरपालिकालगायत विभिन्न चार स्थानीय तहका प्रमुखहरूले विपद् व्यवस्थापन र प्रतिकार्य योजनामा सहकार्यका साथ अगाडि बढ्नुपर्ने बताएका छन् ।
ललितपुर महानगरपालिकासहित कैलालीको धनगढी उपमहानगरपालिका, डडेल्धुराको अमरगढी नगरपालिका र बझाङको जयपृथ्वी नगरपालिका प्रमुखहरूले त्यस्तो बताएका हुन् ।
सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना तथा सुपर परियोजनाको समन्वयमा आज यहाँ आयोजित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा सङ्घ, प्रदेश र स्थानीय तहको जिम्मेवारी, भूमिका र पहलकदमीसम्बन्धी कार्यक्रममा उनिहरूले त्यस्तो बताएका हुन् ।
कार्यक्रममा ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जनले विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन महानगरले हरसम्भव प्रयास गरिरहेको बताए । उनले विपद्को समयमा खोज, राहत तथा उद्दार कार्यमा सूचना पाएको चार मिनेटमा आकस्मिक विपद् प्रतिकार्यगर्ने नीतिका साथ महानगरले काम गरिरहेको बताए ।
महर्जनले सङ्घीय सरकार र प्रदेश सरकारले विपद् प्रतिकार्य अभ्यासमा पर्याप्त ध्यान दिननसकेको अवस्थामा महानगरले आफ्नो जिल्ला र उपत्यकाका छिमेकी स्थानीय तहहरुसँग सहकार्य गरेर यसकार्यलाई थप प्रभावकारी बनाउँदै लैजाने बताए ।
विपद्मा परेकाहरूको सहयोग गर्नेमात्र नभई त्यस्ता कार्यमा खटिने कर्मचारीलाई पनि सुरक्षित राख्नुपर्ने आवश्यकता औँल्याउँदै महानगरले भूकम्पको जोखिमबाट बच्ने र उद्धार गर्ने विषयमा कर्मचारीलाई तालिम दिइसकेको र यस्ता कार्यमासुरक्षा निकायलगायत संघसंस्थाबाट सहयोगप्राप्त भइरहेको जानकारी गराए ।
कार्यक्रममा कैलालीको धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले विपद् व्यवस्थापनका विषयमा ललितपुर महानगरबाट धेरै कुरा सिकेर आफ्नो पालिकामा पनि लागूगर्न सफलभएको बताए । नगरप्रमुख हमालले ललितपुर महानगरबाट फोहर व्यवस्थापनदेखि विपद् व्यवस्थापनका क्षेत्रमा आफूले धेरै सिक्ने अवसर पाएको बताए ।
फोहरमैला र विपद् व्यवस्थापनका लागि आफ्नो नगरपालिकाले विद्यालयतह र समुदायस्तरमा सचेतनाका काम अगाडि बढाउँदा काम गर्न सहज भएको उनले बताए । उनले धनगढीमा प्लास्टिक बन्देज गरेको डेढवर्ष भइसकेको र सूर्तीजन्य पदार्थको नियमन पनि भइरहेको जानकारी गराए ।
यस्तै, डडेल्धुराको अमरगढी नगरपालिकाका प्रमुख डिल्लीराज जोशीले स्थानीय तह अधिकारका हिसाबले सम्पन्न भए पनि आर्थिक स्रोतको अभावमा धेरै काम गर्न नसकिएको बताए । उनले भूकम्पलगायत विपद् जोखिम न्यूनीकरणका लागि नगरले सचेतना अभिवृद्धिका काममा जोड दिइरहेको बताए । “सुदूरपश्चिम भौगोलिक दृष्टिले भूकम्पको जोखिममा छ । पहाडी जिल्लामा मानवीय त्रुटिका कारण पनि बढी जोखिम छ । अहिले हामीले जोखिम न्यूनीकरणका लागि जनचेतना जगाउने कार्य गरिरहेका छौँ अब यहाँबाट सिकेका कुरालाई लागूगर्ने प्रयासमा लाग्ने छौँ”, जोशीले भने ।
बझाङको जयपृथ्वी नगरपालिकाका प्रमुख चेतराज बरालले जिल्ला नै भूकम्प र बाढीको उच्च जोखिममा रहेकाले जतिबेला पनि जोखिममा पर्ने अवस्था रहेकाले सोहीअनुसार नगरले योजना बनाइरहेको बताए ।
यस्तै ललितपुर महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले विपद् व्यवस्थापनमा ललितपुर महानगरले अन्तर्राष्ट्रिय अभ्यासहरूलाई प्रयोग गर्ने प्रयास गरिरहेको बताइन् । “मन्त्रालयको प्रतिनिधिसहित तीनवटा पालिकाको भ्रमणले सिकाइ र असल अभ्यासको साटासाट गर्ने अवसर मिलेको छ । भूकम्पीय जोखिम रहेको जापानको अभ्यासबाट नागरिकलाई सचेत गराउनुपर्छ भन्ने अनुभूत गर्दै यहाँ पनि विपद् प्रतिकार्यको अभ्यासबारे सिकाउने प्रयास गरिएको छ”, शाक्यको भनाइ थियो ।
उनले प्राकृतिक विपत्ति र मानवनिर्मित विपत्तिबाट बच्न कोष खडा गर्ने र विपदजन्य समस्या समाधानलाई प्राथमिकतामा राखेर काम भइरहेको उल्लेख गरीन् ।