काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सबै वामपन्थी पार्टीहरूबीच एकताको आवश्यकता औंल्याएका छन् ।
ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा सोमबार आयोजित ‘वरिष्ठ राजनीतिज्ञ सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ’को विमोचन गर्दै उनले सबै वामपन्थी र कम्युनिष्टलाई एमालेमा समाहित हुन आह्वान गरे ।
‘आफूलाई वामपन्थी र कम्युनिष्ट भन्ने सबै व्यक्तिलाई एमालेको सही धारमा छ । यसै धारमा समाहित हुन म आग्रह गर्न चाहन्छु । सबै आउनुहोस्, सबै एकजुट हौं,’ उनले भने ।
उनले आफ्नो पार्टी एमाले एकता स्वार्थका लागि नभई सफलताका लागि एकता अभियान सञ्चालन गर्ने बताए । उनले मुलुकको राष्ट्रिय शक्तिको रूपमा रहेको एमालेलाई निर्णायक तहमा विकास गर्न आफूले चाहेको बताए ।
अध्यक्ष ओलीले एमालेको वैचारिक रूपमा स्पष्टता, सांगठनिक रूपमा एकता, कुनै भावना बेगर नभई सही विश्लेषण र नीतिकै आधारमा पार्टी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । ‘पार्टीमा गल्ती हुन सक्छन् र ती गल्तीलाई सच्चाइनुपर्दछ । आत्मकेन्द्रित होइन । देश र जनता केन्द्रित भएर हामी चल्न सिक्नुपर्दछ,’ उनले भने ।
अध्यक्ष ओलीले उपनिर्वाचनको परिमाण मिसन–२०८४ को सफलताको सुरुआत रहेको बताए । ‘हाम्रो पक्षमा उपनिर्वाचनको नतिजा आयो । यो हाम्रो मिसन–८४ तर्फको सफलताको सुरुआत हो । मिसन–८४ लाई हामी सफल पारेर छाड्छौं । यस अभियानमा सही ढंगले समाहित हुन साथीहरुलाई आग्रह गर्न चाहन्छु,’ उनले भने ।