काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौं उपत्यकालाई स्वच्छ, सफा, सुन्दर र हराभरा तथा जनजीवन स्वस्थ बनाउन सामूहिक प्रयासका साथ काम गर्न उपत्यकाका स्थानीय तहका प्रमुख उपप्रमुखहरूलाई आग्रह गरेका छन् ।
उपत्यकाका महानगर, नगरपालिकाका प्रमुख एवं उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष एवं उपाध्यक्षहरूसँग शीतल निवासमा सोमबार भएको भेटमा राष्ट्रपति पौडेलले आग्रह गरेका हुन् ।
उनले जल्दोबल्दो समस्याका रूपमा रहेको जलवायु र वातावरण मानव अस्तित्व र पृथ्वीको सुरक्षासँग जोडिएको एजेण्डा भएकाले यसमा सबै पालिकाले ध्यान दिन सके सिंगो देश स्वच्छ, सफा र सुन्दर हुने बताएका उनका प्रेस सल्लाहकार किरण पोखरेलले बताए ।
उनले वायु प्रदूषण उपत्यकाभित्र बढ्दै गएको हुँदा यसलाई निश्चित मापदण्डभित्र राख्न कार्यक्रम सञ्चालन गर्न, वरपरका वनजंगलमा लाग्ने डढेलोलाई नियन्त्रण गर्न यथासम्भव प्रयास गर्न तथा सामुदायिक शिक्षाको गुणस्तरमा महानगरपालिका लगायत नगरपालिकाको अनुगमन सशक्त बनाई गुणस्तर बढाएर जीवनोपयोगी शिक्षाका लागि ध्यान दिन पनि आग्रह गरे ।
राष्ट्रपति पौडेलले असहाय, बालबालिका तथा वृद्धलाई कार्यक्रमसहित सहारा दिने, उपत्यकाभित्र निर्माण हुन लागेका बाटो, धाराहरूलाई गुणस्तरीय रूपमा सम्पन्न गर्ने तथा परम्परादेखि हाम्रो सभ्याताका रूपमा रहेका चौतारी र पोखरीको संरक्षण, नयाँ पार्क (चौतारी) र पोखरी निर्माण गरी हरियालीसहित वातावरणीय स्वच्छता बढाउनुपर्नेमा जोड दिए ।