सिरहा । नयाँ शैक्षिक सत्र २०८१ सँगै सिरहा नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न अभियान सुरु गरेको छ ।
जसअन्तर्गत विद्यार्थी भर्ना भएकै दिन पाठ्यपुस्तक उपलब्ध गराउने, नयाँ विद्यार्थीलाई प्रवेश परीक्षा लिई भर्ना गराउने, प्रत्येक कक्षामा जेहेन्दार विद्यार्थीलाई वडा कार्यालयबाट प्रोत्साहन स्वरूप पुरस्कार व्यवस्था गर्ने र पोशाक प्रदान गर्नेजस्ता काम थालेको हो ।
बाल मैत्री, खेल मैत्री, पर्यावरण मैत्री विद्यालय बनाउने, विद्यालयमा मन्टेश्वरी वातावरण सिर्जना गर्ने र विद्यार्थीलाई वर्षमा २ पटक निःशुल्क स्वास्थ्य जाँच गराउने अभियान समेत नगरपालिकाले घोषणा गरेको छ ।
अभियानअन्तर्गत ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने नाराका साथ आईतबार सिरहा नगरपालिका–६ मा रहेको श्री आधारभूत विद्यालय बसपिट्टामा वडा कार्यालयले कक्षा ५ सम्मका ३८६ विद्यार्थीलाई पोशाक वितरण गरेको छ ।
भर्ना अभियानलाई सार्थकता दिन नगरपालिकाले सक्रियता बढाएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवले बताए ।
‘सामुदायिक विद्यालयबाट गुणस्तरीय शिक्षा प्रदान भए मात्रै समाज पूर्ण रूपमा शिक्षित हुन्छ । त्यसैले तीनै तहका सरकारले सामुदायिक विद्यालयको शिक्षा प्रणाली सुधारमा गम्भीर हुनुपर्ने समय आएको छ,’ अधिकृत यादवले भने, ‘राज्यले ठूलो लगानी गरेको सामुदायिक विद्यालयको शिक्षा सुधारमा शिक्षक र अभिभावक उत्तिकै इमान्दार हुनुपर्छ, अनि मात्र सामुदायिक विद्यालयको स्तर सुधार हुन्छ ।’