चितवन । जिल्लाको इच्छाकामना गाउँपालिका-१ तार्सिलिङकी स्मृति चेपाङ व्यावसायिक रूपमा बाख्रापालन गर्ने योजनामा छिन् । गाउँपालिकाले खोर सुधारका लागि सहयोग गरेपछि बाख्रा थप गर्ने सोचमा रहेको उनी बताउछिन् ।
उनले भनिन्, “छानो बउन नसकेर खोर निर्माण अधुरै थियो, गाउँपालिकाले २५ हजार सहयोग गरेपछि केही रकम आफैँ जोहो गरेर खोर सम्पन्न भएको छ ।”
उनको खोरमा अहिले १५ वटा बाख्रा छन् । उनले यस वर्ष छ वटा खसीबोका बिक्री गरेर ६० हजार आम्दानी गरेको बताइन् । वडा नं १ तार्सिलिङकै अञ्जु चेपाङ गाउँपालिकाको आर्थिक सहयोगमा बाख्रा खोर निर्माण गरेपछि व्यावसायिक बाख्रापालन गर्ने सोचमा रहेको छिन् । उनी भन्छिन्, “गाउँपालिकाको सहयोगले खोर सुधार भएको छ, बाख्राको सङ्ख्या बढाएर अब व्यावसायिक रूपमै बाख्रा पाल्छु ।”
गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले किसानलाई समृद्ध बनाई आयआर्जन बढाउन कृषि र पशुपालनमा जोड दिएको बताए । इच्छाकामनामा प्रशस्त घाँसे जङ्गल भएकाले समस्या नहुने हुँदा बाख्रापालनबाट मनग्य आम्दानी गर्न सकिने उनले बताए । बाख्राको मलबाट कृषि बालीसमेत फस्टाउने भएकाले दोहोरो फाइदा पुग्ने उनी बताउछन् । अहिले गाउँपालिकाभर ६० हजार बाख्रा पालन भएको र यसलाई क्रमशः बढाएर एक लाख ५० हजार पुर्याउने लक्ष्य रहेको उनले बताए ।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले गाउँपालिकाले खोर सुधारसँगै उन्नत जातको बोका वितरण, खोरमै पुगेर पिपिआर खोप लगाउने, बाख्राले रुचाउने उन्नत जातको घाँसको बेर्ना वितरण, बाख्रामा लाग्ने रोग र उपचारबारे सचेतना कार्यक्रम सञ्चालन गरिरहेको बताए । गाउँपालिकको अनुदान कार्यक्रमसँगै किसानमा बाख्रा पाल्ने उत्साह बढेको उनले बताए । बाख्रापालनबारे राम्रोसँग बुझाउन र प्रवर्द्र्धन गर्न सकियो भने समृद्धिको बाटोमा अघिबढ्न मद्दत पुग्ने उनी बताउछन् ।
गाउँपालिका पशु शाखा प्रमुख डा सुनिल ज्ञवालीका अनुसार यस आर्थिक वर्षमा गाउँपालिकाका सातवटै वडामा गरी ७९ वटा खोर निर्माण गरिएको छ । यही आवमा थप १० वटा खोर निर्माण हुने उनले बताए । गत आवमा दुई सय ८७ वटा खोर निर्माण भएका थिए । बाख्रापालक किसान र गाउँपालिकाको ५०–५० प्रतिशत लागतमा खोर सुधार कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।