काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले आर्थिक वर्ष २०७९/८० मा १ अर्ब २६ करोड ४४ लाख २४ हजार रुपैयाँको चोरी पैठारीका सामान बरामद गरी भन्सार कार्यालयमा दाखिला गरेको छ ।
एक वर्षको अवधिामा सशस्त्र प्रहरी बल नेपालका विभिन्न युनिटले साउनमा ९ करोड ७९ लाख, भदौमा ११ करोड २५ लाख, असोजमा ८ करोड ७४ लाख ९४ हजार, कार्तिकमा ६ करोड ९१ लाख ५८ हजार रुपैयाँ बराबरको मालसामान बरामद गरेको सशस्त्र प्रहरीका प्रवक्ता सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले बताएका छन् ।
उनका अनुसार मङ्सिरमा ८ करोड ४८ लाख, ५१ हजार, पुसमा १७ करोड ५८ लाख ५० हजार, माघमा ८ करोड १९ लाख ९६ हजार, फागुनमा ८ करोड ७९ लाख ६० हजार रुपैयाँको मालसामान बरामद भएको छ ।
त्यस्तै, चैतमा ११ करोड १८ लाख ३० हजार, वैशाखमा १३ करोड ८१ लाख ८९, जेठमा ११ करोड ४३ लाख ६४ हजार र असारमा १० करोड २३ लाख १२ हजार रुपैयाँ बराबरको सामान बरामद गरी भन्सार कार्यालयमा बुझाएको प्रवक्ता खड्काले बताए ।
आर्थिक वर्ष २०७९/८० मा सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयले उल्लेखित मूल्य बराबरको अवैध चोरी, निकासी बरामद, वन पैदावार, सुनचाँदी र अवैध रुपैयाँ बरामद गरी भन्सार दाखिला गरेको उनको भनाइ छ ।