काठमाडौं । प्रत्येक वर्ष चन्द्रागिरि नगरपालिका–६ मातातीर्थ कुण्डमा लाग्ने मेला मंगलबार साँझदेखि सुरु भएको छ ।
आमाको मुख हेर्ने औंसीको अघिल्लो दिन मंगलबार साँझ दर्शनार्थीहरू मातातीर्थ मन्दिर पुगेर आमाको प्रतिमामा पूजाआजा गर्नुका साथै रातभर जाग्राम बस्ने गर्दछन् ।
मातातीर्थ संरक्षण तथा विकास संस्थाले प्रत्येक वर्ष मातातीर्थ मन्दिरमा लाग्ने मेलालाई व्यवस्थित गर्ने गरेको छ ।
संस्थाका अध्यक्ष शान्त उदासले मेला व्यवस्थित गर्न मूल समिति, बजार व्यवस्थापन उपसमिति, स्वास्थ्य उपसमिति, पार्किङ व्यवस्थापन उपसमिति, ज्येष्ठ नागरिक दर्शन उपसमिति गठन गरी काम गरिएको जानकारी दिए ।
मातातीर्थ मेलामा मंगलबार साँझ बत्ती बाल्ने, रातभर जाग्राम बस्ने र बुधबार बिहानै आमाको मुख हेर्ने तथा स्नान गर्ने गरिन्छ । सांस्कृतिक, धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्त्वको मातातीर्थ कुण्डमा पछिल्लो समय श्राद्ध गर्नेको संख्या बढ्दो छ । मन्दिरमा दैनिक ८–१० जना श्राद्ध गर्नका लागि आउने गरेका छन् ।
मातातीर्थ कुण्डमा दर्शन गरेमा दिवंगत आमालाई छोराछोरीले तिर्नुपर्ने ऋणबाट मुक्त हुने विश्वास गरिन्छ ।
मातातीर्थ औंसीका अवसरमा चन्द्रागिरि नगरपालिकाले भोलि सार्वजनिक बिदा दिएको छ । मातातीर्थ औंसीको अवसर पारेर सार्वजनिक बिदा दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।