राँझा । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुरमा ‘एक घर, एक धारा’ कार्यक्रमअन्तर्गत १२६ घरमा धारा जडान भएका छन् ।
कार्यक्रमअन्तर्गत फत्तेपुरको पदनाह, जोरैया, मोहनपुर दक्षिण हब्रहवा, उत्तर हब्रहवा र सिधनिया बस्तीका १२६ घरमा जडान गरिएको फत्तेपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष लालबहादुर थापाले जानकारी दिए ।
‘गत वर्ष असारदेखि घरघरमा खानेपानी धारा जडान गरेर स्वच्छ पेयजलको सुविधा पुर्याएका छौं,’ अध्यक्ष थापाले भने, ‘यहाँका ४०० घरमा धारा जडान गरेर स्वच्छ पानी पुर्याउने लक्ष्य छ ।’
आर्थिक वर्ष २०७६/७७ देखि कार्यक्रम लागू भएको हो । विक्रम संवत् २०७८ देखि फत्तेपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समिति गठन गरी आयोजनाको काम हुँदै आएको थियो । ३ कठ्ठा जमिनमा खानेपानीको भवन, ट्यांकी, ‘पम्प हाउस’ लगायत संरचना तयार गरी पानी वितरण थालिएको अध्यक्ष थापाले बताए ।
महिना दिनमा १० युनिटसम्म पानी उपभोग गर्ने उपभोक्तालाई १५० शुल्क कायम गरिएको छ भने १० युनिटभन्दा बढी उपभोग गर्नेलाई प्रतियुनिट २० रुपैयाँका दरले शुल्क लिने गरिएको छ । घरघरमा खानेपानी सुविधा उपलब्ध भएपछि स्थानीय खुशी भएका छन् ।
राप्ती सोनारी–६ कै पनेरियामा पनि खानेपानी आयोजना निर्माणाधीन छ । राप्ती सोनारी–७ निवुवाटार र नन्कौपुरमा पनि खानेपानी आयोजनाको काम जारी छ । ‘पाइप लाइन’ विस्तारको काम सम्पन्न भएसँगै चाँडै धारा जडानको काम सुरु हुने राप्ती सोनारी–७ का वडाध्यक्ष रामलखन थारूले बताए ।