पर्सा । वीरगञ्ज आसपासका क्षेत्रमा चर्काे गर्मी बढेसँगै महानगरभित्रका विद्यालयले बिहानी कक्षा सञ्चालन गर्दै आइरहेका छन् ।
गर्मीले दिनको समयमा पठनपाठनमा समस्या भएसँगै वीरगञ्ज महानगरभित्रका विद्यालयले बिहानको समयमा अध्ययन–अध्यापन गराउन पाउँदा विद्यार्थी तथा शिक्षक दुवैले राहतको महसूस गरेका छन् ।
बालविकासदेखि ३ कक्षासम्मका विद्यार्थीलाई बिहानको समयमा विद्यालयमा आउने बानी पार्न केही समस्या भए पनि अन्य तहका विद्यार्थीहरूको उत्साहजनक उपस्थिति हुँदै आइरहेको सामुदायिक विद्यालयका प्रधानाध्यापकले जनाएका छन् ।
नेपाल राष्ट्रिय आधारभूत विद्यालय बलिरामपुरका प्रधानाध्यापक चन्देश चौहानले दिउँसोको समयमा चर्काे गर्मी भएसँगै बिहानी कक्षा सञ्चालन गर्दै आइरहेको बताए । ‘उखरमाउलो गर्मीले दिनको समयमा विद्यार्थीलाई पठनपाठन गराउन निकै समस्या भएको थियो,’ उनले भने, ‘बिहानको समयमा कक्षा सुरु गरेसँगै अहिले पठनपाठन कार्य अघि बढ्दै आइरहेको छ ।’
प्रधानाध्यापक चौहानले गर्मीयामका कारण सानो कक्षामा अध्ययन गरिरहेका छात्रछात्रालाई सबेरै विद्यालय आउन केही दिन समस्या भए पनि बिस्तारै सुधार हँुदै आइरहेको बताए । नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा ३५० भन्दा धेरै विद्यार्थी अध्ययन गर्छन् ।
‘केही समयअघिसम्म तराई–मधेशको मौसम स–साना बालबालिकाको लागि सुहाउँदो खालको थिएन । चर्काे गर्मीले पठनपाठनमा पनि धेरै अप्ठ्यारो परिस्थिति सिर्जना गरेको थियो,’ उनले भने, ‘मंगलबार र बुधबार दिउँसोको समयमा वीरगञ्ज आसपासका क्षेत्रमा वर्षात् भएर तापक्रम केही घटेको छ । तर यो अवस्था सधैं रहँदैन । त्यसैले पनि बिहानीको सत्रमा अध्ययन गराउँदा सहज भइरहेको छ ।’
विद्यालयले अघिल्ला वर्षमा पनि बिहानी सत्रमा अध्ययन अध्यापन गर्ने गरेको थियो । नेपाल रेल्वे मावि वीरगञ्जका प्रधानाध्यापक प्रभुप्रसाद रौनियार बिहानी समयमा सञ्चालित कक्षाले विद्यार्थीलाई अध्ययन गर्न सहज भएको बताउँछन् । ‘हाम्रो विद्यालयमा १२ कक्षाको परीक्षा केन्द्र भएकाले पनि नियमित रूपमा बिहानी कक्षा सञ्चालन गर्न सकिरहेका छैनौं,’ उनले भने, ‘१२ कक्षाको परीक्षा आजदेखि सकियो । अब भोलिदेखि नियमित रूपमा बिहानको कक्षा सञ्चालन गर्नेछौं ।’
प्रधानाध्यापक रौनियारले चर्को गर्मी र हावाहुरीका कारणले पनि बिहानको समयमा कक्षा सञ्चालन गर्दा सहज भएको बताए । ‘चर्काे गर्मीकै बिहान १०–०४ बजेसम्म कक्षा सञ्चालन गर्न निकै समस्या हुन्थ्यो । यो क्षेत्रमा कम्तीमा ४० डिग्री तापक्रम पुगिसकेको छ,’ उनले भने, ‘विद्यालयले बिहान ६ बजेदेखि ११ः३० बजेसम्म बिहानी कक्षा सञ्चालन गर्दै आइरहेको छ । जसमा विद्यार्थीको उपस्थिति पनि राम्रो छ ।’
वीरगञ्ज महानगरपालिका नगर शिक्षा समितिको २०८१ वैशाख १७ गतेको निर्णयअनुसार प्रतिकूल मौसम (अत्यधिक गर्मी) का कारणले दिउँसोको समयमा पठनपाठन कार्य असहज भएको भन्दै बिहान ६ बजेदेखि गर्ने निर्णय गरेको थियो । सो निर्णय गत वैशाख २० गतेदेखि कार्यान्वयनमा आएको छ ।
महानगरले बिहानका समयमा शिक्षण सिकाइको समयलाई पनि कमी नहुने गरी कक्षा चलाउन अनुरोध गर्दै आएको छ । महानगरभित्र सामुदायिकतर्फ ९२ वटा र निजीतर्फ १३८ विद्यालय छन् । सामुदायिक विद्यालयतर्फ २१ माध्यमिक, १५ आधारभूत र ५५ वटा प्राथमिक विद्यालय छन् । एउटा पूर्व प्राथमिक विद्यालय पनि छ । गत शैक्षिक सत्रमा यी विद्यालयमा बालविकासदेखि १२ कक्षासम्म १ लाखभन्दा धेरै विद्यार्थी भर्ना भएका थिए ।
गत शैक्षिक सत्रमा ४६ हजार विद्यार्थी सामुदायिकतर्फ र ५४ हजार विद्यार्थी संस्थागत विद्यालयमा भर्ना भएका थिए । यो वर्ष गत आवभन्दा १० प्रतिशत बढी विद्यार्थी भर्ना हुने अनुमान गरिएको छ ।