गण्डकी । पराङ, सुथरी, दाबिलो, साज, जाबो, डाली लगायत सामग्री जोरजाम पारेपछि मह सिकारी अक्करे भिरतिर उकालो लाग्छन् । भीरको टुप्पोमा पुगेपछि सुरु हुन्छ भिरमौरीको मह शिकार ।
शिकारीहरू पहिले पितृ र प्रकृतिलाई पुकार्छन् । शिकारका बेला कुनै अप्रिय घटना नहोस् भनेर कामना गर्छन् । शिकारमा १५–२० जनासम्मको सूमह हुन्छ ।
टोली नेताले शिकारको नेतृत्व सम्हाल्छन् । मुख्य सिकारीलाई ‘भिरौटे’ भनिन्छ । जो पराङमा झुण्डिएर मह काढ्न भीर छिचोल्छन् । ज्यानकै बाजी उठाएर मह काढ्छन् ।
पहाडी भेगका भिमकाय भिर र पहरामा बर्सेनि गाउँलेहरू यसरी मह सिकारमा रमाउँछन् । पितापुर्खाको छाडेको सीपलाई पछ्याउँदै उनीहरूले मह शिकारको चलन धानिरहेका छन् ।
मंगलबारदेखि मह शिकारमा व्यस्त बागलुङको ताराखोला गाउँपालिका–५ का रतनबहादुर घर्तीले आफूले ३० वर्षदेखि भिरमौरीको मह काढ्दै आएको बताए । ‘हाम्रा बाउबाजेले सिकाएको मह शिकारको ज्ञान र सीपलाई हामीले अँगालेका छौं,’ उनले भने, ‘हरेक वर्ष ताराखोलामा मह शिकार हुँदै आएको छ ।’
घर्तीका अनुसार ताराखोला–५ को ठूलो भिर र माडो भिरमा धेरै मात्रामा भिरमौरी पाइन्छ । यस वर्ष ठूलो भिर सामुदायिक वन क्षेत्रमा ८ घार भिरमौरीबाट २६० लिटर मह काढिएको उनले बताए । ‘मंगलबारदेखि जुल्फे सामुदायिक वनमा पर्ने माडो भिरमा मह काढ्न सुरु गरिएको छ,’ ५१ वर्षीय घर्तीले भने, ‘१४ घारको मह काढ्न अझ १/२ दिन लाग्न सक्छ ।’
ताराखोलाका अन्य भिरमा पनि १/२ घार मौरी रहेका उनले बताए । कुनै वर्षमा २ याममा मह पाइने भए पनि प्रायः वर्षको एकपटक मात्र मह काढ्न मिल्ने घर्तीको भनाइ छ ।